नेपालकै एउटा कम्पनी, जसले सेयरधनीको ९० प्रतिशत लगानी भूस बनाइसक्यो




काठमाडौं । पछिल्लो समयमा नेपालीहरु सेयर बजारप्रति निकै आकर्षित भैरहेका छन् । कुनै समय आर्थिक ब्ययभार थेग्न नसकेर आफ्नो कार्यालय राख्न समेत हम्मे पर्ने सेयर ब्रोकरहरु अहिले सहरका महङ्गा ब्यवसायिक क्षेत्रहरुमा कार्यालय स्थापना गरेका बसेका छन् ।

कारोबार समयमा लगानीकर्ताहरु खचाखच हुन्छन् । अब त उपत्यका बाहिर पनि ब्रोकरका शाखा बिस्तार गरेकाले लगानीकर्ताहरु त्यताबाट पनि ओइरिन थालिसकेका छन् ।

सामाजिक सञ्चालतिर यसो चियाउने हो भने सर्वसाधारणहरु पुँजी बजारका बारे छलफल गरिरहेका भेटिन्छन् । कम्पनीहरुका बारे छलफल चल्छन्, सेयर किनबेच बारे सुझावहरु मागिन्छन्, बजार बढ्दा उत्साह छाउँछन् र घट्दा निराशा र आक्रोशहरु पोखिन्छन् ।

कुनै पनि मुलुकको आर्थिक बिकासको लागि पुँजी अनिवार्य शर्त हो । र, पुँजी संकलनको लागि अत्यन्तै भरपर्दो माध्यम पुँजी बजार नै हो । यस हिसाबले धेरैभन्दा धेरै सर्वसाधारणको पुँजी बजार प्रवेशलाई सुखद मान्नुपर्छ ।

तर, सर्वसाधारणको सेयर बजारको बारेमा धारणा र अपेक्षाहरु केलाउँदा उनीहरुले सेयर बजारको असली र आधारभूत चरित्र नै नबुझेझैं लाग्छ । सेयर बजार अत्यन्तै जोखिमयुक्त बजार हो । र, यहाँ लगानी गर्दा राम्रो कमाउने संभाब्यताका साथै सर्वस्व गुमाउने अवस्था पनि आउन सक्छ । केही लगानीकर्ताहरु सेयर बजारलाई पैसा फल्ने रुखको रुपमा बुझ्न खोज्छन्, जहाँ जोखिम हुँदैन । उनीहरु आफ्नो लगानीको निश्चित प्रतिशत होइन ‘गुणा’मा कमाउन चाहन्छन् । रातारात करोडपति बन्न चाहन्छन् । कमसेकम उनीहरुको अपेक्षा र अभिब्यक्तिहरु केलाउँदा त्यस्तै लाग्छ ।

‘सेयर बजारमा पस्नु अघि मेरो सम्पूर्ण लगानी शुन्यमा पनि परिणत हुन सक्छ भनेर लगानीकर्ता मनोबैज्ञानिक रुपमा तयार हुनुपर्छ,’ सेयर बजारका अग्रजहरुले भनेका छन् । यो कुनै सैद्धान्तिक अभिब्यक्ति मात्र नभएर निकै ब्यवहारिक अभिब्यक्ति हो । किनभने लगानीकर्ताले कुनै सेयर किनेका छन्, र त्यो कम्पनी डुब्यो भने कम्पनीको सम्पूर्ण दायित्व चुक्ता गरेपछि मात्र सेयरधनीहरुको पालो आउँछ । सेयरको अन्र्तनिहित जोखिम हो यो । नेपालमै पनि यस्ता उदाहरण धेरै पाइन्छन् ।

नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेड (एनएसएम) एउटा त्यस्तै उदाहरण हो ।

सन् २०१० जुन ६ गते यो कम्पनीको नेप्सेमा अन्तिम कारोबार भएको थियो, प्रतिकित्ता १ सय ७४ रुपैंयाँमा । जस–जसले त्यो दिन यो कम्पनीको सेयर बेचेनन्, उनीहरुले अहिलेसम्म बेच्न पाएका छैनन् । बेच्न नपाएका मात्र होइनन्, उनीहरुको सेयर संख्या समेत झण्डै ९० प्रतिशतले घटेको छ । अर्थात, उनीहरुको १ सय कित्ता सेयर झण्डै १० कित्तामा खुम्चिएको छ ।

एनएसएमले सन् २०१५ को अक्टोबरमा एक सुचना प्रकाशित गर्दै कम्पनीको सम्पूर्ण दायित्व पश्चात राष्ट्र बैंकको निर्देशन बमोजिम सम्पत्तिको वास्तविक मुल्य प्रतिबिम्बित हुने गरी पुँजी घटाउने निर्णय गरेको थियो । कम्पनीले आफ्नो २ अर्ब ३ करोड ४२ लाख रुपैंयाँ चुक्ता पुँजीलाई घटाएर २३ करोड ३३ लाख रुपैंयाँमा झारेको थियो । साथै, कम्पनी मर्जर वा प्राप्किो लागि तयार रहेको र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई ३५ दिनभित्र प्रस्तावसहित आउन आव्हान गरेको थियो ।

नेपाल राष्ट्र बैंकले एनएसएमको बोर्ड खारेज गर्दै आफैंले ब्यवस्थापनको जिम्मा लिएको थियो । तर, समस्याग्रस्त कम्पनीको उद्धार भने अझै भएको छैन ।

यो सुचना सम्बन्धी तस्बीर सेयर संसार डट कमको अर्काइभबाट लिइएको हो ।

 

एनएसएम कुनै समय बाणिज्य बैंक बन्ने अभिलाषा सहित आफ्नो पुँजी बढाउँदै २ अर्ब नघाएको फाइनान्स कम्पनी हो । बि.सं २०५० सालमा स्थापना भएको कम्पनीको प्रधान कार्यालय पुतलिसडमा थियो भने शाखाहरुको सञ्जाल पनि देशका मुख्य सहरहरुमा फैलिसकेका थिए । कम्पनीले काठमाण्डौंलगायत नारायणगढ, कैलाली, पोखरा, पनौती र बेनीमा शाखा सञ्जाल बिस्तार गरिसकेको थियो । कम्पनी आफूसँग क्षमतावान् र सृजनशिल कार्यकारीहरु र उर्जावान् कर्मचारी रहेको दाबी गर्दथ्यो । तर, समस्याग्रस्त भयो र आफूसँगै कैयौं प्रमोटर र सर्वसाधारणलाई पनि गहिरो खाडलमा जाक्यो ।

एनएसएम किन र कसरी असफल भयो भन्ने यहाँ चर्चाको बिषय होइन । चर्चाको बिषय के हो भने राष्ट्र बैंक जस्तो बिश्वसनीय र शक्तिशाली सरकारी संयन्त्र नियामक रहेको र उसले ब्यवस्थापन हातमा लिएर सुधार्ने प्रयास गर्दा पनि कुनै कम्पनी डुब्न सक्ने रहेछन् भन्ने हो । नियामक कमजोर भएको वा हुँदै नभएको क्षेत्रको जोखिम त झन् उच्च हुने नै भयो ।

सन् २०१३ मा मात्र नेप्सेले ४४ कम्पनीलाई ‘डिलिस्ट’ (सुचीकरण रद्द) गरेको थियो । यस्ता अधिकांश कम्पनी ट्रेडिङ र उत्पादन समुहका थिए । उनीहरुले नेप्सेमा कारोबार गर्न तिर्नुपर्ने शुल्क समेत तिरेनन् र सम्पर्कमा पनि आएनन् । ती सबै कम्पनी समस्याग्रस्त भैसकेका थिए । नेप्सेले समेत ती कम्पनीका बास्तविक अवस्था आफूलाई थाहा नभएको जनाएको थियो ।

कम्पनी यसरी डुब्नु भनेको सेयरधनीहरु डुब्नु हो । निक्षेपकर्ता र अन्य सेवा प्रदायकलाई पनि जोखिम हुन्छ, । तर, उनीहरु दायित्व चुक्ता गर्दा पहिलो प्राथमिकतामा पर्छन् भने सेयरधनी अन्तिममा ।

एनएसएम त्यस्तो उदाहरण हो जसले सेयर बजारको संभावित जोखिमका बारे बुझ्न मद्दत गर्छ । सेयर बजार निकै आकर्षक प्रतिफल लिने बजार हो । तर, जति धेरै प्रतिफल उति धेरै जोखिम भन्ने वित्तीय शास्त्रको आधारभूत सिद्धान्त पनि हो । त्यसैले अवसर छोप्न सक्नु र जोखिम आंकलन गर्न सक्नु सेयर बजारमा सफलताको सबैभन्दा महत्वपूर्ण कडि हो ।


क्लिकमान्डु