चुनाबपछि नेप्से सूचक ७४ अंकले घट्यो, बुलिस ट्रेन्ड अझै कठिन




काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि सेयर बजारका लगानीकर्ताहरु निकै उत्साहित भएका थिए ।

पहिलो चरणको चुनाबपछि कम्तिमा १०० देखि २०० अंकले नेप्से सूचक बढ्नेमा लगानीकर्ताहरु विश्वस्त पनि थिए ।

बजारमा चुनाबपछि नेप्से सूचक बढ्ने ठूलो हल्ला पनि फैलियो । बजार बढ्ने विश्वासका आधारमा लगानीकर्ताहरुले सेयरमा लगानी बढाए ।

तर, बिडम्बना पहिलो चरणको चुनाब भएको महिना दिन बित्दा नेप्से सूचक ७४.७४ अंकले घटेको छ । चुनाबपछि नेप्से बढ्छ भन्ने आशामा चुनाबअघि सेयर किनेका लगानीकर्ताहरु भने अहिले अतालिन थालेका छन् ।

‘बैंकहरुको ब्याजदर अचाक्ली बढेका कारण र सेयर धितो कर्जामा ऋण ठप्प बनाएका कारण चुनाबपछि पनि नेप्से बढ्न नसकेको हो, यस्तो कठिन परिस्थितिका बाबजुत पनि नेप्से सूचक नघट्नुको कारण चाहिँ चुनाब नै हो । परिस्थिति सहज भइदिएको भएन १/२ सय अंकले बढ्थ्यो नै ।’

पहिलो चरणको स्थानीय निर्वाचन हुनुअघि नेप्से सूचक १६५९.२३ बिन्दुमा थियो । चुनाब भएको एक महिनापछि सूचक १५८४.४९ बिन्दुमा झरेको छ ।

पहिलो चरणको निर्वाचन भएपछि दोस्रो चरणको निर्वाचन हुनेमा अहिले पनि आशंका भने कायमै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणमा चुनाब गर्ने मिति तय भइसकेका केही प्रदेशमा तत्कालका लागि चुनाब स्थगित गर्न प्रस्ताब गरेको समाचारले सेयर बजारका लगानीकर्ताहरुलाई थप निराश बनाएको छ । यसलाई आधार मानेर विश्लेषण गर्ने हो भने नेप्से सूचकले तत्काल बुलिस ट्रोन्ड समात्दैन भनेर अनुमान गर्न सकिन्छ ।

पहिलो चरणको चुनाब भएको एक महिनाको अवधीमा नेप्से परिसूचक औसतमा साताको एक दिनमात्र बढेको छ । कारोबार भएका अन्य दिन नेप्से परिसूचक ओरालो लागेको छ । यसले पनि सेयर बजारले अझै बुलिस ट्रेण्ड समाउन कठिन भएको देखाउँछ ।

पहिलो चरणको स्थानीय तहको चुनाबपछि एक/डेढ सय अंकले नेप्से सूचक बढ्छ भन्ने अनुमान गर्थे सेयर ब्रोकर नरेन्द्र सिँजापति ।

‘चुनाबलाई लगानीकर्ताहरुले सकरात्मकरुपमा हेर्छन् तर लगानीकर्ताहरु यति बाठा छन् कि चुनाबपछि के हुन्छ भनेर पहिल्यै अनुमानसमेत गरिसकेका हुन्छन्, त्यसैले केही बाठा लगानीकर्ताहरुले चुनाबपछि बढ्छ भन्दै सेयर किने अनि चुनाब हुने बेलामा बेचिदिए ।’

चुनाबपछि पनि बैंकहरुमा लगानी योग्य पुँजी (तरलता) सहज नभएको र बैंकहरुले झन बढी ब्याज बढाएकाले अपेक्षा गरेअनुसार नेप्से सूचक बढ्न नसकेको बताउँछन् अहिले उनी ।

‘बैंकहरुको ब्याजदर अचाक्ली बढेका कारण र सेयर धितो कर्जामा ऋण ठप्प बनाएका कारण चुनाबपछि पनि नेप्से बढ्न नसकेको हो,’ सिँजापतिले क्लिकमाण्डूसँग भने,- ‘यस्तो कठिन परिस्थितिका बाबजुत पनि नेप्से सूचक नघट्नुको कारण चाहिँ चुनाब नै हो । परिस्थिति सहज भइदिएको भएन १/२ सय अंकले बढ्थ्यो नै ।’

अहिले बैंकहरुले निक्षेपमै १४ प्रतिशतसम्म व्याज दिइरहेका छन् । जसकारण सेयर बजारमा लगानी गरेर भन्दा बैंकमा मुद्दति निक्षेप राख्दा बढी फाइदा हुने भएपछि लगानीकर्ताहरु मुद्दति निक्षेपतर्फ आकर्षित भएको सिँजापति बताउँछन् ।

उता बैंकहरुले सेयर धितो राखेर कर्जा दिँदैनन्, दिइहाले भने पनि १६/१७ प्रतिशत व्याज लिन्छन् । त्यस्तै, बैंकहरुले प्रयोजन नखुलाई ग्राहकलाई उपलब्ध गराउने ओभरड्राफ्ट कर्जा पनि बढ्न सकेको छैन । त्यसको प्रभाब पनि नेप्सेमा देखिएको उनको ठम्याइ छ ।

चुनाबको घोषणा भएपछि नै चुनाबपछि सेयर बढ्छ भन्ने हल्ला चलाएर बजार बढाइएकाले चुनाबपछि सेयर बजार अपेक्षा गरेअनुसार बढ्न नसकेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरे बताउँछन् ।

‘चुनाबलाई लगानीकर्ताहरुले सकरात्मकरुपमा हेर्छन् तर लगानीकर्ताहरु यति बाठा छन् कि चुनाबपछि के हुन्छ भनेर पहिल्यै अनुमानसमेत गरिसकेका हुन्छन्,’ घिमिरेले भने,– ‘त्यसैले केही बाठा लगानीकर्ताहरुले चुनाबपछि बढ्छ भन्दै सेयर किने अनि चुनाब हुने बेलामा बेचिदिए ।’

तर, पछिल्ला वर्षहरुमा सेयर बजार बुलिस ट्रेन्डमा रहेकाले चुनाबपछि बजार हल्ला भएअनुसार नबढ्नुलाई अस्वभाविक लिन नहुने उनको तर्क छ ।

‘बैंकहरुमा तरलताको अभाव कायमै छ, व्याजदर झन बढिरहेको छ, यस्तो अवस्थामा नेप्से बढ्न नसक्नु स्वभाविक हो,’ उनले भने ।

हाथवे इन्भेष्टमेन्टका वित्तीय विश्लेषक प्रकाश तिवारी बैंकको ब्याजदरको कारण सेयर बजारले बुलिस ट्रेण्ड समाउन नसकेको बताउँछन् ।

‘ऋण लिएर सेयर बजारमा लगानी गर्न सक्ने अवस्था छैन,’ तिवारीले भने- ‘अघिल्लो वर्षको भन्दा बैंक तथा वित्तीय संस्थाबाट आउने प्रतिफल पनि कमी हुने देखिन्छ ।’

नेप्से सूचक २०७२ असार ६ मा ९१८ अंकमा थियो । एक वर्षको अवधीमा नेप्से सूचक १८८१ अंकमा पुगेको थियो ।

२०७३ साउन १२ मा १८८१ बिन्दुमा पुगेपछि नेप्से परिसूचक ओरालो लाग्न थाल्यो । २०७३ माघ १२ सय ९६ बिन्दुमा झरेको नेप्से परिसूचक चैत २९ मा १७०९ बिन्दुमा पुगेको थियो ।

त्यसपछि भने सेयर बजारमा खासै बृद्धि हुन सकेन ।


क्लिकमान्डु