बिवादमा आयो ड्राइभर र पिउनलाई करोडपति बनाउने कम्पनी



३५ वर्ष अगाडि ७ जना मिलेर सुरु गरेको कम्पनीको बजार पुँजीकरण आज १० खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीको यो सफलताको फाइदा संस्थापकलाई मात्र नभएर कम्पनीमा काम गर्ने तल्लोस्तरका कर्मचारी ड्राइभर तथा कार्यलय सहयोगी –पिउन) लाई पनि भयो ।

कम्पनीको सफलताले उसको सेयर मुल्य बढ्यो । जसको फाइदा कम्पनीमा काम गरेका ड्राइवर र कार्यालय सहयोगीलाई पनि भयो । समाचारहरुका अनुसार कम्पनीमा कार्यरत ६ सय ५० जना कर्मचारी करोडपति भएका थिए । जसमा धेरैजना ड्राइभर, कार्यालय सहयोगी र क्यान्टिन संचालक थिए ।

यसरी कार्यालयमा काम गर्ने तल्लो तहका कर्मचारीलाई करोडपति बनाउने कम्पनी भारतीय आइटी कम्पनी इन्फोसिस हो । इन्फोसिस भारतको टप टेन कम्पनी भित्र पर्छ ।

३५ वर्षमा समय परिवर्तन भएको छ । कम्पनीका सातजना संस्थापक आफ्नो हिस्सेदारीको सेयर बिक्री गर्न थालेका छन् ।

व्यवस्थापन र लगानीकर्ताबीच विवाद भएको खबर भारतीय संचारमाध्यमहरुले प्रकाशित गरेका छन् । तर, अहिलेसम्म कम्पनीका सिइओ बिशाल सिक्का र संस्थापक नारायण मुर्तिले यो खबरलाई अस्विकार गरेका छन् ।

कम्पनीको चर्चा अहिले पुनः बढेको छ । पहिला कम्पनीको सिइओ र कर्मचारीको तलब कटौतिको विषय चर्चामा आएको थियो । अहिले संचारमाध्यमहरुमा कम्पनीका सबै संस्थापक सेयर बिक्री गरेर बाहिरिने कुरा आएको छ । यद्यपि, यसको औपचारिक पुष्टी भने भएको छैन ।

कसरी सुरु भयो इन्फोसिस ?

इन्फोसिस कन्सल्टेन्सको स्थापना सन् १९८१ मा भएको थियो । कम्पनीको सुरुवात सातजना साथीहरु मिलेर गरेका थिए ।

नारायण मुर्ति, नदन निलेकणी, एनएस राघवन, एस गोपालकृष्णन, एस डी शिवुलाल, के दिनेश र अशोक अरोराले इन्फोसिस सुरु गरेका थिए ।

इन्फोसिस कन्सलटेन्सीको स्थापना गर्दा पुँजी दुई सय ५० डलर अर्थात २५ हजार नेपाली रुपैयाँको थियो । अर्थात, सातजना साथीले २५ हजार रुपैयाँबाट कम्पनीको सुरुवात गरेका थिए ।

यो फर्मको पहिलो अफिस भारतको पूणे सहरमा थियो । सन् १९८३ मा डेटा बेसिक्स कर्पोरेशन नाम गरेको न्यूयोर्कको कम्पनी इन्फोसिसको पहिलो ग्राहक बनेको थियो ।

कम्पनी स्थापना भएर काम सुरु हुँदै गर्दा सन् १९८८ मा उसलाई ठूलो झड्का लाग्यो । कम्पनीका संस्थापक अशोक अरोराले आफ्नो हिस्साको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरे ।

सन् १९९० पछि भारतीय बजारमा परिवर्तन आयो । आर्थिक उदारिकरणको सुरुवातसँगै इन्फोसिसले कम्पनीमा आम जनताको हिस्सेदारी बढाउने नीति लियो ।

सन् १९९३ मा कम्पनीले नाम परिवर्तन गरेर इन्फोसिस टेक्नोलोजी राख्यो । सन् १९९४ मा प्रतिकित्ता ४ सय ५० भारुको दरले ५ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्यो ।
कम्पनीको सेयर किनेका आर्थिक स्थिति केही कमजोर भएका व्यक्तिपनि करोडपति बने ।

एन चोकानाथले लेखेको ‘कर्पोरेट नारायण मुर्ति’ किताब अनुसार सन् २००० मा इन्फोसिसको ७ हजार कर्मचारीमा २ हजार कर्मचारीले १० लाख रुपैयाँभन्दा बढीको सेयर राखेका थिए ।
ती २ हजार कर्मचारीमा ६ सय ५० जना कर्मचारीसँग १ करोड रुपैयाँभन्दा बढीको सेयर थियो । जसमा क्याटिन संचालक, ड्राइभर तथा कम्पनीका कार्यलय सहयोगीहरु थिए ।

ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु