थपिँदै ठूला लगानीका होटल



तेह्रथुम । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ ।

पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा सुविधा सम्पन्न होटल खुलिरहेका छन् । यसरी खुलेका होटल तथा रिसोर्ट पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै फेदाप गाउँपालिका– २, ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ ।

प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब एक करोड रुपैयाको लागतमा खुलेको सो रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । र्अग्निक स्थानीय उत्पादनको प्रवर्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको सञ्चालक दुर्गाबहादुर लिम्बु बताउँछन् । यहाँ पुग्न सदरमुकाम म्याङलुङदेखि करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ ।

यस्तै म्याङलुङ नगरपालिका– ३ पिप्लेमा ‘डाउनहिल कटेज’ सञ्चालनमा आएको छ । सो कटेजमा लोकल कुखुरा, लोकल माछा, लोकल खसी, र्अग्निक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनकै लागि सो व्यवसाय थालेको सञ्चालक राजु गड्तौला बताउनुहुन्छ । ५० लाख रुपैयाँको लागतमा सो कटेज सञ्चालनमा आएको हो ।

पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’ पहिलेदेखि नै कालापानी नामले परिचित उक्त ठाउँमा माछापालनसमेत गरिएको छ । ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि पनि यहाँ सयौँ आन्तरिक पर्यटक आउने गरेका सञ्चालक धर्मराज खड्काले बताउनुभयो ।

‘गुराँस हेर्न र रमाउन आउनेको सङ्ख्या अत्यधिक छ,’ उनले भने । पछिल्लो समय जिल्लाको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिएका छन् । लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्षित होटल थपिने क्रम बढेको होटल व्यवसायीय सङ्घका सचिव चेतन सुवेदीले बताए ।

सरकारले नमुना सहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा होटल व्यवसाय फष्टाउँदै गएको छ । दुई वर्ष यता वसन्तपुर बजारमा दर्जन बढी सुविधायुक्त होटल थपिएका छन् । अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम बढेको छ । हालसालै मात्रै नयाँ भवन निर्माण गरेर पर्यटक लक्षित सुविधायुक्त सेवा थप गरी होटलको व्यवस्थापन गरेको याक होटलका सञ्चालक छिरिङ भोटियाले बताए।

पर्यटकीयस्थल तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएका हुन् । अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन् । ती होटलमा ५० लाख रुपैयाँ भन्दा बढीको लगानी रहेको छ ।

‘व्यवसायीको उत्साह र हौसला बढाउन कतैबाट ध्यान पुगेको छैन,’ तेह्रथुम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले भने । जिल्लाका पर्यटकीय क्षेत्रको विकास र विस्तारका साथै प्रचारप्रसारमा उचित ध्यान पुर्याउन सके आर्थिक रुपमा जिल्ला चाँडै समृद्ध बन्नसक्ने उनको भनाइ छ । जिल्लाको पर्यटन विकासका लागि मध्यपहाडी लोकमार्ग कोसेढङ्गा सावित हुने देखिन्छ । उक्त लोकमार्ग बनेपछि यहाँ होटल व्यवसाय फस्टाउने काफ्ले बताए । रासस


पुष्प दुलाल