नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा




काठमाडौं । नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रुपमा आयोजना गरिएको बैठकको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महराले एक कार्यक्रमका बीच काठमाडौंमा गरेका छन् ।

दुवै देशका उद्यमी व्यवसायीहरुको ठूलो सहभागिता रहेको बैठकमा दुवै महासंघका पदाधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, नेपाल चीन बीच व्यापार व्यवसाय गर्ने उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा भाग लिन अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं मंचका सहअध्यक्षको नेतृत्वमा करिव ४० जना चिनियाँ उद्यमी व्यवसायीहरु नेपालमा आएका छन् ।

बैठकमा बोल्दै प्रमुख अतिथि उपप्रधानमन्त्री महराले दुवै देशका सरकारबाट आपसी आर्थिक व्यवसायिक सम्बन्ध, सहयोग विस्तार, संयुक्त लगानी, सांस्कृतिक प्रवद्र्धन एवं आपसी हितका विषयमा सहकार्यलाई मजवुद बनाउने उद्देश्यले मञ्च स्थापना भएको बताए । दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रभावकारी रुपमा अगाडी बढेकोमा खुशी व्यक्त गरे ।

महराले सन् १९९६ मा स्थापना भएको मञ्च, आर्थिक, व्यापारिक, लगानी, पर्यटन तथा जनस्तरमा सम्बन्ध स्थापनामा कोशेढुंगा सावित भएको बताए । चीनले हासिल गरेको उच्च आर्थिक वृद्धिबाट लाभ उठाउन नेपाल लालयित रहेको बताए । अर्थमन्त्रीले नेपालमा बढीभन्दा बढी लगानी बढाउन चिनिया निजी क्षेत्रलाई आग्रह गरे । उनले सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको समेत विश्वास दिलाए । अर्थमन्त्रीले आर्थिक विकासका एजेण्डामा कार्य गर्न नेपाल चीन गैह्र सरकारी सहयोग मंच जस्ता फोरमको अधिकतम उपयोग हुनुपर्नेमा समेत जोड दिनु भयो ।

मित्र राष्ट्र चीनले अगाडी सारेको एक क्षेत्र एक रोड अवधारणाको नेपाल महत्वपूर्ण हिस्सेदार हुन पाएकोमा खुशी व्यक्त गर्दै महराले नेपालले ओवोरबाट आर्थिक रुपमा निकै ठूलो फाइदा उठाउन सक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं मञ्चका सहअध्यक्ष भवानी राणाले स्थापनाको उद्देश्य हासिल गर्न मञ्च निकै सफल भएको बताईन । अध्यक्ष राणाले नेपाललाई यतिखेर निकै ठूलो लगानीको खाँचो रहेकाले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरिन । उनले नेपालमा रहेको हालको चिनियां लगानी निकै ठूलो मात्रामा विस्तार गर्न आवश्यक रहेको समेत औल्याइन । यसका लागि पहल गर्न एसीएफआइसीलाई आग्रह समेत गरिन् । ओवोरमा हस्ताक्षर पश्चात नेपाल र चीन बीच अझ बढी सहकार्यका वाटो खुल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष राणाले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तरगत पूर्वाधार निर्माण, जलविद्युत, उत्पादनमुलक क्षेत्रहरु, पर्यटन, सडक संजाल लगायतका क्षेत्रमा निकै धेरै कामहरु गर्न सकिने स्पष्ट पारिन ।

राणाले चीन सरकारले अगाडी सारेको ओवोरको अवधारणाबाट करिव ६० भन्दा बढी देशहरुलाई एकै संजालमा जोडी त्यसबाट ती देशहरु बीचको आर्थिक व्यवसायिक पर्यटन लगायतका क्षेत्रको विकासमा सहयोग पुग्न गई जनताहरु समेत लाभान्वित हुने विश्वास प्रकट पारिन । उनले नेपाल पनि चीनले अगाडी सारेको यो अवधारणाको एक महत्वपूर्ण हिस्सा हुन पाएकोमा यसबाट लाभ उठाउनु पर्नेमा जोड दिए ।

नेपालका लागि चिनिया राजदुत यू होङ्गले नेपालको विकास प्रयासमा एक महत्वपूर्ण साझेदारको रुपमा काम गर्न पाउदा आफ्नो देश निकै खुशी भएको बताए । राजदूत होङ्गले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको नेतृत्वमा रहेको नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चले स्थापनाको यस बीचमा प्राप्त गरेको उपलव्धी उत्साहजनक रहेको भन्दै आगामी दिनमा अझ बढी क्षेत्रमा सहकार्यका माध्यमबाट दुवै देशका जनता लाभान्वित हुने तर्फ सफलता मिलोस भन्ने कामना गरे । उनले नेपाल नयाँ संविधानको कार्यान्वयन तर्फ अगाडी बढेकोमा खुशी प्रकट गर्दै लगानीको वातावरण, नीतिगत स्थिरता, प्रक्रियागत सरलता तथा विद्यमान कमजोर पूर्वाधारमा सुधारको खांचो औल्याउनु हुंदै नेपालको हरेक विकास प्रयासमा चीनले सदैव सहयोग गरिरहने विश्वास दिलाए । साथै, उनले मंचको १४ औं बैठकको सफलताको कामना समेत गरे ।

बैठकलाई संवोधन गर्दै एसीएफआइसीका उपाध्यक्ष एवं मंचका सहअध्यक्ष सिए चिनरोङ्गले मञ्चका माध्यमबाट हुने मेहनतद्वारा चीन र नेपालको आर्थिक सहकार्यमा थप व्यापकता आउने विश्वास प्रकट गरे ।

उपाध्यक्ष सिए चिनरोङ्गले अगाडी भने–‘नेपाल दक्षिण एशियाको एउटा महत्वपूर्ण राष्ट्र हो । चीनले, नेपाल र चीन बीचको दिपक्षीय सम्बन्धलाई अत्यन्त ठूलो महत्वका साथ लिएको बताउनु हुंदै ओवोर अवधारणाको निर्माण तथा कार्यान्वयनमा चीनले नेपाललाई पनि एउटा महत्वपूर्ण साझेदारको रुपमा लिन चाहेको छ ।’

चीनको ओवोर अवधारणा तथा १३ औँ पञ्च वर्षे आयोजना र नेपालको राष्ट्रिय पुननिर्माण तथा विकास योजना बीच समन्वय कायम भई दुई देश बीच परापूर्व कालदेखि स्थापित आर्थिक तथा सामाजिक आदानप्रदानलाई थप नयाँ उचाईमा पु¥याउने आफ्नो चाहना रहेको बताए ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दुवै महासंघको पहलमा स्थापित मञ्चका माध्यमबाट आपसी सहकार्य एवं लाभका क्षेत्रमा कार्य गर्न महासंघ दत्तचित्त रहेको बताए । आगामी दिनमा मञ्चका माध्यमबाट सहकार्यका क्षेत्रहरुको पहिचान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाए । नेपालको निजी क्षेत्र ओवोर कार्यान्वयनको तीब्र प्रतिक्षामा रहेको बताउनुहु“दै नया“ करिडोरको शुरुवातले नेपालको आर्थिक स्थिति सुधारमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।


पुष्प दुलाल