आस्वा प्रणालीलाई प्रभावकारी गराउन धितोपत्र बोर्डको ९ बुँदे निर्देशन



काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई ९ बुँदे निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गर्दै बोर्डले आस्वा प्रणालीलाई सरल र प्रभावकारी गराउनका लागि गर्नुपर्ने कामहरु तोकेको छ ।

०७३ माघदेखि आस्वा प्रणाली लागू भएको थियो । ०७४ साउनदेखि आस्वा प्रणालीलाई अनिवार्य गरिएको छ ।

आस्वा प्रणाली अन्तर्गत सेयर खरिद गर्न चाहने लगानीकर्ताले आस्वामा सहभागी बैक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

यो प्रणाली पूर्णरुपमा लागू भएपछि सार्वजनिक निष्काशनको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षण गरिने र कानून अनुसार काम नगर्नेको इजाजतसमेत खारेज गर्ने बोर्डले चेतावनी दिएको छ ।

आस्बा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले यो प्रणालीमा सहभागी संस्थाहरुलाई यस्तो व्यवस्था गर्न बोर्डले परिपत्र जारी गरेको हो ।

१. धितोपत्र खरीद आवेदन फारममा आवेदकले नाम थर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखतलगायत निर्देशिकामा तोकिए बमोजिमका सम्पूर्ण विवरणहरु रुजु/यकिन गरेर मात्रधितोपत्र खरीद आवेदन लिने र उक्त फाराममा संस्थाको आधिकारीक छाप र बुझि लिने कर्मचारीको दस्तखत गर्नुपर्ने ।

२. विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीयरुपमा रसिद प्राप्त गर्ने व्यवस्था गर्ने ।

३. आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नम्बर र अंग्रजी ठूलो अक्षरमा अनिवार्यरुपमा नामथर लेख्नु पर्ने व्यवस्था गर्ने ।

४. धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका– २०७३ मा तोकिए बमोजिम सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिकरुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्यरुपमा सोही दिन र विस्तृत विवरण तोकिएको समयावधिभित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्रीप्रबन्धक र बोर्डलाई उपलब्ध गराउने ।

५. सहभागी बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखावाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्र्दभमा कुन शाखाबाट प्राप्त भएको हो सो पहिचान हुने व्यवस्था गर्ने ।

६. सवै सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासँग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नं. र पत्राचार गर्ने आधिकारीक इमेल ७ दिनभित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्यरुपमा उपलब्ध गराउने र सो विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी तत्काल दिने व्यवस्था गर्ने ।

७. निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्रप्रयोग गर्ने ।

८. सहभागी बैंक तथावित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट सो सेवा उपलब्ध गराउनु पर्ने र सोको लागि सबै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने ।

९. आस्वा प्रणाली सम्वन्धमा ०७४ साउनअघि कम्तीमाएक पटक र तत्पश्चात समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्ने ।


पुष्प दुलाल