अर्बपति क्लबमा ६ बैंक थपिए, यो वर्ष २१ बैंकको नाफा अर्ब नाघ्दै



काठमाडौं । केही वर्ष अघिसम्म अर्ब नाफा कमाउनु पनि बैंकका लागि सान नै हुन्थ्यो । वाणिज्य बैंकहरुको संख्या ३२ पुगेको बेला त नविल बैंकले मात्रै अर्बमा नाफा कमाउँथ्यो । त्यसपछिका वर्षहरुमा इन्भेष्टमेन्ट, हिमालयन, एसबिआइ, स्टान्डर्ड चाटर्ड र ३ वटा सरकारी बैंकहरु थपिए ।

पछिल्ला वर्षहरुमा अर्ब कमाउने सुचीमा बैंकहरु थपिएका थपियै छन् । अहिले बैंकका लागि अर्ब नाफा कमाउनु सामान्यजस्तै बनेको छ । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये यो आर्थिक वर्ष २१ बैंकले अर्ब बढी नाफा कमाउने भएका छन् ।

चालू आर्थिक वर्षको ९ महिनामै १४ बैंकले अर्ब बढी नाफा कमाएका छन् । ८ बैंकले ०७२ चैत मसान्तमै अर्ब बढी नफा कमाएका थिए भने ६ बैंक ०७३ चैत मसान्तमा अर्बपति क्लबमा उक्लिए ।

त्यतिमात्रै होइन, यस अबधिमा थप ७ वटा बैंकले पौने अर्ब नाफा कमाएका छन् । यो तथ्यांकलाई आधार मानेर हेर्दा यो वर्ष २१ बैंकले अर्ब बढी नाफा कमाउने निश्चित छ ।

लगानी योग्य पुँजी अर्थात् तरलता अभावका बाबजुत पनि वाणिज्य बैंकहरुले उल्लेख्य नाफा बढाउँदै लगेका हुन् । वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा ३२ प्रतिशतले नाफा बढाएको बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

०७२ चैत मसान्तमा २३ अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकहरुको नाफा ०७३ चैत मसान्तमा ३१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

कुन कुन बैंकले ९ महिना मै अर्ब बढी कमाए ?

नविल बैंक लगातार सबैभन्दा धेरै नाफा कमाउने बैंकको सुचीमा अग्र स्थानमा छ । बैंकले ९ महिनामै २ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकलाई २ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकले नाफामा उछिनेको थियो । तर, वाणिज्य बैंकले जग्गा र सेयर बेचेको सम्पत्ति नाफामा जोड्दा मात्रै नविल भन्दा बढी नाफा कमाएको हो । नत्र लगातार नविलले नै बैंक सबैभन्दा धेरै नाफा कमाउँदै आएको छ ।

त्यसैगरी, ०७३ चैत मसान्तमा २ अर्ब ५१ करोड रुपैयाँ कमाउँदै नेपाल बैंक अर्बपति बैंकको सुचीमा दोस्रो स्थानमा छ । त्यस्तै २ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ नाफा कमाउँदै नेपाल इन्भेष्टमेन्ट बैंक अर्बपति बैंकको सुचीमा तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको वाणिज्य बैंकले २ अर्ब ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, १ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ नाफा कमाउँदै कृषि विकास बैंक अर्बपति बैंकहरुको सुचीमा पाँचौ स्थानमा छ । १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ कमाउँदै हिमालयन बैंक छैठौं र १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ कमाउँदै एभरेष्ट बैंक ७औं स्थानमा छ । ०७२ चैत मसान्तदेखि अर्बपतिको क्लबमा उक्लिएको ग्लोबल आइएमइ बैंकले ०७३ चैत मसान्तमा १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ नाफा कमाउँदै आफ्नो स्थान सुरक्षित राखेको छ ।

०७२ असार मसान्तमा अर्ब बढी नाफा कमाएका तर ०७२ चैत मसान्तमा अर्ब कम नाफा भएका प्रभु, एनएमबि, एनआइसी एसिया, एसबिआइ, स्टान्डर्ड चार्टर्डले यो वर्षको ९ महिनामै अर्ब बढी नाफा कमाएका छन् । त्यस्तै माछापुच्छ्रे बैंक पनि यो वर्ष ९ महिना मै अर्बपतिको क्लबमा उक्लिएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तमा प्रभु बैंकले १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, एसबिआइले १ अर्ब १४ करोड ३५ लाख, एनएमबि बैंकले १ अर्ब १३ करोड ८४ लाख, एनआइसी एसिया बैंकले १ अर्ब १० करोड ४४ लाख, स्टान्डर्ड चार्टर्डले १ अर्ब ६ करोड ४२ लाख र माछापुच्छ्रे बैंकले १ अर्ब ५१ लाख रुपैयाँ नाफा कमाउँदै ९ महिनामै अर्बपति क्लबमा उक्लिएका हुन् ।

यी ७ बैंक जो यसैवर्ष अर्बपति क्लबमा उक्लिन्छन्

चालू आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकले ९५ करोड ७० लाख, सानिमा बैंकले ९४ करोड ६९ लाख, बैंक अफ काठमाडौंले ८८ करोड ६७ लाख, प्राइम बैंकले ८८ करोड २९ लाख, सिटिजन बैंकले ८८ करोड २८ लाख, सनराइज बैंकले ८५ करोड ७९ लाख र नेपाल बंगलादेश बैंकले ८२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएका छन् । यी बैंकहरुले असार मसान्तसम्ममा अर्ब नाफा कमाउने निश्चित छ ।

७ बैंक जो यो वर्ष अर्बपति हुन सक्दैनन्

७ वटा बैंकले भने यो वर्ष अर्ब नाफा कमाउने संभावना देखिँदैन । ७ बैंकमध्ये ९ महिनामा सबैभन्दा बढी लक्ष्मी बैंकले ५६ करोड ९० लाख रुपैयाँ कमाएको छ भने सिभिल बैंकले सबैभन्दा कम अर्थात १५ करोड ४४ लाख रुपैयाँ कमाएको छ ।

त्यसैगरी, मेगा बैंकले ५४ करोड २४ लाख, जनता बैंकले ३८ करोड २४ लाख, कुमारी बैंकले ३७ करोड ५८ लाख, सेञ्चुरी बैंकले ३१ करोड ९ लाख र एनसीसी बैंकले १६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका छन् ।


पुष्प दुलाल