राजस्व संकलन २० प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ वैशाख महिनासम्मको राजस्व संकलनको लक्ष्य १ खर्व ७९ अर्व २८ करोड ४७ लाख ८७ हजार रुपैयाँ रहेकोमा १ खर्व ८८ अर्व ८५ करोड ७६ लाख ८४ हजार रुपैयाँ संकलन भई लक्ष्यको तुलनामा १ सय ५ प्रतिशतको प्रगति भएको छ । यो गत वर्षको यही अबधिको भन्दा २० प्रतिशतले बढी हो ।

शिर्षकगत रूपमा हेर्दा आयकरतर्फ १ खर्व १ अर्व ८१ करोड ७० लाख ३६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ४८ अर्व ३२ करोड २४ लाख ११ हजार रुपैयाँ र अन्तःशुल्कतर्फ ३७ अर्व २८ करोड ५७ लाख १६ हजार रुपैयाँ संकलन भएको छ ।

सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ आयकर, वहालकर, व्याजकर गरी १ सय ७ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ १ सय १ प्रतिशत र अन्तशुल्क तर्फ १ सय ८ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार रुपैयाँ र ७८ करोड ९६ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ ।

शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत रहेको छ ।

२०७४ वैशाखसम्मको अवस्था हेर्दा यस विभागले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने यस आर्थिक वर्ष २०७३/७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रुपैयाँ समेत पूरा हुने गरी कार्य सम्पादन गरिएको छ ।


पुष्प दुलाल