मासिक साढे ७४ अर्बभन्दा बढीको घाटा ब्यापार गर्दै नेपाल




काठमाडौं । नेपालको अन्तराष्ट्रिय ब्यापारमा घाटाको अंश बर्सेनि बढ्ने गरेको छ । चालु आर्थिक बर्षको नौ महिना अर्थात गत चैत मसान्तसम्ममा नेपालको ब्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक बर्षको नौ महिनामा भएको ब्यापार घाटा औसतमा प्रतिमहिना ७४ अर्ब ५२ करोड रुपैयाँ हुन आउँछ । ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले सार्बजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

ब्यापार घाटा गत बर्षको सोही अबधिको भन्दा ४१.४ प्रतिशतले बढेको छ ।

यस्तै नेपालको अन्तराष्ट्रिय ब्यापारमा निर्यातको अंश ज्यादै न्यून हुदै गएको छ । नेपालले १ रुपैयाँ बराबरको निर्यात गर्दा १३ रुपैयाँ बराबरको आयात गर्न लागेको छ ।

सो अबधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले बढेर ७ खर्ब ८१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निर्यातको योगदान ७.१ प्रतिशत छ भने आयातको योगदान ९२.९ प्रतिशत रहेको छ ।

सो अवधिमा नेपालको कुल निर्यात ९.९ प्रतिशतले वृद्धि भई ५५अर्ब २६ करोड रुपैयाँ तथा कुल आयातमा ३८.४ प्रतिशतले वृद्धि भई भई ७ खर्ब २६ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

आयाततर्फ गत नौ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ४९.९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ९० करोड रुपैयाँ, पेट्रोलियम पदार्थमा ११२.३ प्रतिशतले वृद्धि भई ८७ अर्ब ३९ करोड रुपैयाँ, यातायातका साधन र तिनका पार्टपुर्जामा ५९.७ प्रतिशतले वृद्धि भई ६३ अर्ब ३० करोड रुपैयाँ, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २५.३ प्रतिशतले वृद्धि भई २९ अर्ब ४७ करोड रुपैयाँ, औषधीमा १३.६ प्रतिशतले ह्रास आई १७ अर्ब ४२ करोड रुपैयाँ, मशिनरी तथा पार्ट्समा ७१.१ प्रतिशतले वृद्धि भई ६१ अर्ब रुपैयाँ, पोलिथिन ग्रेन्युल्समा ९.३ प्रतिशतले वृद्धि भई ११ अर्ब ८९ करोड रुपैयाँ, कच्चा पाम आयलमा ७८.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ५६ करोड रुपैयाँ, दुरसञ्चारका सामाग्रीहरुमा ४२.३ प्रतिशतले वृद्धि भई २२ अर्ब ८९ करोड रुपैयाँ, रसायनमा ६.१ प्रतिशतले वृद्धि भई ७ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ ।

यसैगरी समीक्षा अवधिमा १९ अर्ब २५ करोड रुपैयाँ बराबरको सुन, ६ अर्ब ७० करोड रुपैयाँ बराबरको चाँदी, ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको रासायनिक मल तथा १७ अर्ब ७० करोड रुपैयाँ बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर १४ अर्ब ६१ करोड रुपैयाँको, भटमासको कच्चातेल ९ अर्ब ९० करोड रुपैयाँको, तयारी पोशाक ९ अर्ब ८७ करोड रुपैयाँको, अन्न २९ अर्ब ४२ करोड रुपैयाँको र ऊन साढे २ अर्ब रुपैयाँको आयात भएको छ ।

नेपालको आयात व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेविया, क्यानडा, जापान, मलेशिया र भियतनाम प्रमुुख रुपमा रहेका छन् ।


क्लिकमान्डु