कृषिजन्य सामाग्रीको अनौपचारिक व्यापार कम गर्नुपर्नेमा सरोकारबालाको जोड



काठमाडौं । साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोन्मेन्ट (सावती) तथा कट्स इन्टरनेशनलले संयुक्तरुपमा नेपाल भारत सिमामा हुने गरेका केहि कृषिजन्य सामाग्रीहरुको अनौपचारिक व्यापार सम्बन्धमा गरिएको एक अध्ययनको निष्कर्षको बारेमा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

नेपालको सुनसरी र धनुषा जिल्लाका केहि स्थानहरुमा गरिएको स्थलगत अध्ययनको आधारमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै सावतीका अनुसन्धान अधिकृत दिक्षा सिंहले अध्ययन गरिएको क्षेत्रका अधिकांश किसान तथा स्थानीयहरुले विउ, मललगायत अन्य आवश्यकिय कृषिजन्य वस्तुहरुलाई औपचारिक बाटोबाट ल्याउँदा लामो बाटो, प्रक्रियागत झमेला, अत्यधिक मूल्य, कतिपय वस्तुहरु नेपालमा प्रतिवन्धित भएका कारण यसप्रकारको अनौपचारिक व्यापारमा वृद्धि भएको अध्ययनले देखाएको बताईन् ।

सावतीका कार्यकारी अध्यक्ष डा पोषराज पाण्डेले अध्ययनको सन्दर्भ र परिस्थितीलाई सारांशमा विश्लेषण गर्दै, सीमा क्षेत्रमा हुने यस्तो कृषिजन्य वस्तुहरुको व्यापारलाई अन्र्तराष्ट्रिय व्यापारबाट अलग राखी हेर्नुका साथै व्यापारिक सहजिकरणका लागि छुट्टै कार्यविधि बनाउन सके सिमामा हुने यस किसिमको अनौपचारिक व्यापारलाई कम गर्न सकिने बताए ।

कृषि विकास मन्त्रालयका सहसचिव डा योगेन्द्र कुमार कार्कीले खासगरी सम्बन्धित निकायले कृषकहरुको माग अनुसार मललगायत आवश्यकिय कृषिजन्य वस्तुहरु उचित समयमा उपलब्ध गराउन नसक्नु नै अनौपचारिक व्यापारको सबैभन्दा ठूलो कारक रहेको धारणा व्यक्त गरे ।

वाणिज्य मन्त्रालयका सहसचिव रबी सैंजुले अनौपचारिक व्यापारलाई निरुत्साहित गर्ने नीतिहरु हुँदा हुँदै पनि यी नितीहरुको कार्यान्वयन गर्ने प्रभावकारी संगन्त्रको अभावमा यसको  कार्यान्वयनमा कठिनाई आएको कुरामा जोड दिए । यसका साथै अनौपचारिक व्यापारलाई निरुत्साहित पार्नका लागि सिमा क्षेत्रमा हाट बजारहरु सञ्चालन गर्न सके पनि अहिले भएको समस्यालाई निराकरण गर्न सकिने धारणा व्यक्त गरे ।

पूर्व वाणिज्य सचिव तथा वाणिज्य क्षेत्रका विज्ञ पुरुषोत्तम ओझाले कमसल खालका विउविजनको आयातले त्यस क्षेत्रका सम्पूर्ण बालीहरु नै नष्ट हुनसक्ने सम्भाबना भएका कारण नेपाल भित्रिने यस्ता वस्तुहरुको गुणस्तर परीक्षण हुनु अनिवार्य भएको बताए ।

सो कार्यक्रममा सहभागि विज्ञहरुले नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार हुने राष्ट्र भारतसँगको झण्डै १८५० किलोमीटर खुला सिमानाका कारण रहेका भन्सार नाकाहरुबाट औपचारिक रुपमा हुने व्यापार भन्दा अनौपचारिक रुपमा हुने व्यापारको परिमाण धेरै भएको हुदा यसलाई तत्काल निराकरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । विशेष गरेर भारतबाट नेपालमा अनौपचारिक रुपमा आयात हुने कीटनाशक औषधि तथा कृषि रसायनहरुको परिमाण भयावह भएको चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्नका लागि तत्कालै आवश्यक कानून तथा नीतिगत सुधारहरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।


क्लिकमान्डु