सेयर कारोबारमा लाग्ने नै हो त थप १३ प्रतिशत कर ? राजस्व सचिब भन्छन्ः बजेटसम्म कुर्नुस्




काठमाडौं । सेयर ब्रोकर कमिसनमा थप १३ प्रतिशत कर लगाउने नलगाउने बिषयमा अन्योल सिर्जना भएको छ । महालेखा परीक्षकको कार्यालयले यस्तो कमिसनमा मूल्य अभिबृद्धि कर (भ्याट) उठाउन अर्थमन्त्रालयलाई निर्देशन दिएपछि अन्योल बढेको हो ।

‘ब्रोकरलाई भ्याटमा दर्ता हुन आउँ भनेका पनि छैनौं र भ्याट छुट दिने भनेर कानुनी ब्यवस्था पनि गरेका छैनौं, अब यो बिषय आर्थिक ऐनले नै सम्बोधन गर्छ, बजेटसम्म पर्खनुस्, टुंगो लाग्छ,’ सचिब खनालले क्लिकमाण्डूसँग भने ।

महालेखाले विगतदेखि नै सेयर ब्रोकर कमिसनमा भ्याट लगाइनु पर्ने उल्लेख गर्दै आएको छ । अहिले नेपालमा भ्याटको एक दर मात्रै छ । भ्याट लाग्ने भएमा सेयर कारोबारको ब्रोकर कमिसन थप १३ प्रतिशत महंगिने छ । भ्याट दर १३ प्रतिशत छ । र, सेयर खरिद गर्ने ब्यक्तिले ब्रोकर कमिसन वापतको रकमको थप १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ ।

सेयर ब्रोकर सेवा प्रदान गर्ने करदाताले प्राप्त गर्ने ब्रोकर कमिशनमा भ्याट छुट नदिएकोले भ्याट लागू गर्नुपर्ने महालेखाको प्रतिबेदनमा उल्लेख छ । महालेखाले ब्रोकर कमिसनमा भ्याट उठाउन अर्थमन्त्रालयलाई भनिरहेको छ ।

‘सेयर कारोबार बढाउन प्रयत्न गर्नुपर्ने अवस्थामा कमिसनमा भ्याट लगाउँदा झन नकारात्मक प्रभाव पर्छ, हामीले यो कुरा अर्थमन्त्रालयका उच्च अधिकारीलाई भनिरहेका छौं, ब्रोकर कमिसनमा भ्याट नलगाउनु राम्रो हुन्छ,’ अध्यक्ष रेग्मीले क्लिकमाण्डूसँग भने ।

‘धितोपत्रको ब्रोकर सेवा प्रदान गर्ने करदाताले प्राप्त गर्ने ब्रोकर कमिशनमा मूूल्य अभिवृद्धि कर छुट नदिएकोमा ती व्यवसायीहरु भ्याटमा दर्ता भएका छैनन्, यस्तो कारोबारमा भ्याट लगाउने गरेको पनि देखिँदैन, कर छुट हुने वस्तु तथा सेवाबाहेकका नेपालभित्र आपूर्ति भएका वस्तु वा सेवामा भ्याट लाग्ने व्यवस्था भएकोले भ्याट लगाउनु पर्छ,’ महालेखाको यसबर्षको बार्षिक प्रतिबेदनमा उल्लेख गरेको छ ।

भ्याट ऐन, २०५२ को दफा ५ को अनुसूची १ मा भ्याट छुट हुने बस्तु तथा सेवाको बिवरण छ । सो बिवरणमा सेयर ब्रोकर कमिसनमा भ्याट छुट हुने उल्लेख छैन । यसैको आधारमा महालेखाले भ्याट उठाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘यसमा कुनै दुबिधा नै छैन, भ्याट छुटको लिस्टमा सेयर ब्रोकर छैनन्, त्यसैले ब्रोकर कमिसनमा भ्याट लाग्छ, ब्रोकरले कमिसनमा भ्याट उठाउनु पर्छ,’ महाशाखा प्रमुख नेपालले क्लिकमाण्डूसँग भने ।

सेयर ब्रोकर कमिसनमा भ्याट छुटको ब्यवस्था नभएकोले के गर्ने भन्ने बिषय बजेटपछि मात्रै तय हुने राजस्व सचिब राजन खनाल बताउँछन् । ब्रोकरलाई भ्याटमा दर्ता गर्नुपर्ने ब्यवस्था नगरिएको तर महालेखाले नउठाइएको भ्याट रकमलाई बेरुजु देखाएर उठाउन निर्देशन दिएकोले आर्थिक ऐनमै सम्बोधन गर्ने तयारी भएको उनको भनाइ छ ।

‘ब्रोकरलाई भ्याटमा दर्ता हुन आउँ भनेका पनि छैनौं र भ्याट छुट दिने भनेर कानुनी ब्यवस्था पनि गरेका छैनौं, अब यो बिषय आर्थिक ऐनले नै सम्बोधन गर्छ, बजेटसम्म पर्खनुस्, टुंगो लाग्छ,’ सचिब खनालले क्लिकमाण्डूसँग भने ।

सेयर ब्रोकर संघका अध्यक्ष प्रियराज रेग्मीले भ्याट लगाउँदा राज्यलाई फाइदाभन्दा नोक्सानी बढी हुने भएकोले भ्याट छुटको ब्यवस्था गरिनु उपयुक्त हुने बताउँछन् ।

‘सेयर कारोबार बढाउन प्रयत्न गर्नुपर्ने अवस्थामा कमिसनमा भ्याट लगाउँदा झन नकारात्मक प्रभाव पर्छ, हामीले यो कुरा अर्थमन्त्रालयका उच्च अधिकारीलाई भनिरहेका छौं, ब्रोकर कमिसनमा भ्याट नलगाउनु राम्रो हुन्छ,’ अध्यक्ष रेग्मीले क्लिकमाण्डूसँग भने ।

उनले दुई आधारले ब्रोकर कमिसनमा भ्याट लगाउनु अनुपयुक्त रहेको बताए । १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबारको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने भएकोले सेयर ब्रोकर पनि वित्तीय संस्थाकै रुपमा रहेको र वित्तीय संस्थाको कारोबारमा भ्याट नलाग्ने ब्यवस्था रहेको रेग्मीको भनाइ छ । यस्तै भ्याट लगाउँदा उठ्ने राजस्व भन्दा त्यसबाट उत्पन्न हुने निरासाले कारोबार कम हुने र राज्यलाई नोक्सानी हुने उनको भनाइ छ ।

राज्यले भ्याट उठाउनु भनेमा भ्याट संकलन गर्न आफूहरुलाई कुनै समस्या नभएको रेग्मीले बताए । सेयर ब्रोकर संघले गत बर्ष नै औपचारिक रुपमै अर्थमन्त्री, अर्थसचिब र राजस्व सचिबलाई भेटेर भ्याट छुटको ब्यवस्था मिलाइ दिन आग्रह गरेको थिए ।

अर्थमन्त्रालयको राजस्व ब्यवस्थापन महाशाखा प्रमुख विष्णु नेपालले भने ब्रोकर कमिसनमा भ्याट लाग्ने प्रष्ट ब्यवस्था भएकोले लगाउनु पर्ने बताउँछन् ।

‘यसमा कुनै दुबिधा नै छैन, भ्याट छुटको लिस्टमा सेयर ब्रोकर छैनन्, त्यसैले ब्रोकर कमिसनमा भ्याट लाग्छ, ब्रोकरले कमिसनमा भ्याट उठाउनु पर्छ,’ महाशाखा प्रमुख नेपालले क्लिकमाण्डूसँग भने ।

महालेखाले यसअघिको कारोबारमा नै भ्याट उठाउनु पर्ने उल्लेख गरेपछि ब्रोकरलाई समस्या हुने भएको छ । ब्रोकरले अहिलेसम्म कमिसनमा भ्याट नलिएको तर महालेखाले अघिल्ला आर्थिक बर्षहरुको कमिसनमा पनि भ्याट उठाउन भनेपछि ब्रोकरले कहाँबाट ल्याएर सरकारलाई भ्याट तिर्छन् भन्ने समस्या आउन लागेको हो ।

भ्याट भनेको उपभोक्ताले तिर्ने कर हो । सेयर किन्ने र बेच्ने दुबै पक्षले ब्रोकरलाई कमिसन दिनुपर्ने हुन्छ । महालेखाले उठाएको र अहिले बहसमा आएको ब्रोकरले प्राप्त गर्ने कमिसनमा भ्याट लगाउने कि नलगाउने भन्नेमा हो । कमिसनमा भ्याट लाग्ने भएमा ब्रोकरले सेयर किन्ने ब्यक्तिबाट कमिसनको १३ प्रतिशत थप रकम भ्याट उठाउनु पर्ने हुन्छ । बिगतमा यस्तो रकम नठाएको र महालेखाले बेरुजु राखेकोले कसरी त्यसको ब्यवस्थापन गर्ने भन्ने अर्काे प्रश्न पनि छ ।

के लेखेको छ महालेखाको प्रतिबेदनमा ?
‘मूल्य अभिवृद्धि कर दर्ता हुनुपर्ने दायित्व भएका व्यक्तिले दर्ता नभै कारोबार गरेमा कर अधिकृतले दफा २० बमोजिम कर निर्धारण गर्न सक्ने व्यवस्था र दफा २९ मा जरिबाना समेत गर्ने प्रावधान ऐनमा उल्लेख छ । धितोपत्रको ब्रोकर सेवा प्रदान गर्ने करदाताले प्राप्त गर्ने ब्रोकर कमिशनमा मूूल्य अभिवृद्धि कर छुट नदिएकोमा ती व्यवसायीहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छैनन् । यस्तो कारोबारमा मूूल्य अभिवृद्धि कर लगाउने गरेको पनि देखिँदैन । करदाता सेवा कार्यालय पुतलीसडक र नयाँ सडकअन्तर्गतका ९ करदाताले रु.४६ करोड ७० लाखको कारोबार गरेकोमा रु.६ करोड ७ लाख मूल्य अभिवृद्धि कर लाग्ने देखिन्छ । जरिबानासहित मूल्य अभिवृद्धि कर निर्धारण हुनुपर्ने व्यहोरा विगत वर्षदेखि औंल्याउदै आएकोमा यो वर्ष पनि सुधार भएको छैन ।’


क्लिकमान्डु