२०७३ सालको पुँजी बजारः थोरैले कमाए, धेरैले गुमाए, शिक्षा सबैले पाए




काठमाडौं । २०७३ सालको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.९५ अंकले घटेर १६९७.१३ अंकमा बन्द भएको छ । तर, २०७२ सालको कारोबारको अन्तिम दिन, अर्थात ठ्याक्कै १ बर्ष अघि नेप्से परिसूचक १३८८.६३ अंक थियो । यसको मतलब गत १ बर्षको अबधिमा नेप्से परिसूचक ३०८.५ अंकले बढेको छ ।
०७२ साल चैत ३० गते                    ०७३ साल चैत ३१ गते
१३८८.६३                                      १६९७.१३

यस्तै अधिकांशमा उपसूचकहरुमा पनि बृद्धि भएको छ । जलबिद्युत र अन्य बाहेक सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा ठूलो बृद्धि बीमा र बिकास बैंकको भएको छ । उत्पादनको भने गत बर्षको तथ्याङ्क उपलब्ध छैन ।

उप सूचकहरु
०७२ साल चैत ३० गते                                                                                      ०७३ साल चैत ३१ गते
बैकिङ १२९२.७४                                                                                           १५८१.२२
होटेल १८४१.२८                                                                                              २२०६.२०
बिकास बैंक १३६३.५७                                                                                   १९६६.६३
जलबिद्युत २२७५.६२                                                                                   २०३४.१२
बित्त ७०४.९४                                                                                                ७६१.६५
बीमा ६०८५.०६                                                                                             ८८६९.००
उत्पादन    –                                                                                                    २२०७.९९
अन्य ८३९.९९                                                                                               ६८५.७४

यद्यपि, नेप्से र उपसूचकहरुमा आएको यो बृद्धि एकनाशले भएको भने होइन । २०७३ सालमा नेपालको एकमात्र पूँजीबजार नेप्सेले निकै उतारचढावहरुको सामना ग¥यो ।

गत एक बर्षमा नेप्सेले ठूलो ‘रोलर कोस्टर राइड’ ग¥यो भन्दा हुन्छ । नेप्से परिसूचकले इतिहासै उच्चतम बिन्दु १८८१ अंक छोएर फेरि १२५० हराहारीसम्म झ¥यो । बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बृद्धिसँगै बढ्न थालेको बोनस र हकप्रद सेयरसँगै उक्लेको नेप्से, बैंकमा लगानीयोग्य पूँजीको कमी र बढ्दो ब्याजदरसँगै त्यसैगरि ओर्लियो । र, अहिले फेरि सकारात्मक राजनीतिक परिदृश्यसँगै फेरि उकालो चढ्ने क्रममा छ ।

यस बर्ष देखिएको सेयर बजार उतारचढावले बजार, लगानीकर्ता र नियामक निकायमा रहेका धेरै कमीकमजोरीहरु उजागर गरिदिएको छ । यसले भावी दिनमा सुधारका लागि राम्रो प्रस्थान बिन्दु पनि दिएको छ, जसमा केही सुधारका काम हुन थालिसकेका पनि छन् ।

नेप्सेले सामना गरेको उतारचढावसँगै आम लगानीकर्ताका क्रियाकलापहरु, मनोबिज्ञान र भावनाहरुका अतिरिक्त नियामक निकाय धितोपत्र बोर्ड र ब्यवस्थापक कम्पनी नेप्सेका क्रियाकलापमा पनि धेरै परिवर्तनहरु देखापरे । र, निर्णय क्षमताहरु पनि उजागर भए ।

लगानीकर्ताका कुरा गर्दा नेपालमा बजारमा प्रवेश गर्ने हिसाबले सामान्यतः तीन थरिका लगानीकर्ता देखिए ।

पहिलो, बजार घटेको र स्थिर भएको बेला बजार पसेर राम्रा कम्पनीका सेयरहरु किनेर बजार आगामी दिनमा बढ्ने नै हो भन्ने आत्मबिश्वासका साथ बस्ने । दोस्रोमा संस्थागत लगानीकर्ताहरु, जो ब्याजदर, राजनीतिलगायत समग्र आर्थिक परिस्थितिको मुल्याङ्कन गर्दै बजार प्रवेश गर्ने । यस्ता लगानीकर्ताको प्रवेशसँगै बजार पनि बढ्न थाल्ने गर्छ । तेस्रोमा बजार बढेर उच्चतम बिन्दु तर्फ लम्केपछि जब पहिलो र दोस्रो खाले लगानीकर्ताले सेयर बेच्न थाल्छन्, त्यस्ता सेयर किन्न बजार पस्ने लगानीकर्ता छन् ।

संख्याका हिसाबले तेस्रो खाले लगानीकर्ताको बाहुल्यता नेपाली सेयर बजारमा देखियो । उनीहरु बजार प्रवेश गर्दा बजार उच्चतम बिन्दु नजिक पुगिसकेको हुनाले उनीहरुले पैसा गुमाउने जोखिम धेरै हुने नै भयो । अझ कसैले थोरै कमाइहाले झन हौसेर ऋण धन गरेर समेत लगानी गर्दा झन् ठूलो खाडलमा समेत जाकिने गरेको देखियो ।

नेप्से परिसूचक १८८१ सम्म पुगेर १२५० सम्म झर्दा सामाजिक संजालहरुमा देखिएका पूँजी बजारप्रतिको आक्रोशले यसको थप पष्टि गर्दछ ।

बिगत एक बर्षमा लगानीकर्ताका क्रियाकलापहरु नियाल्दा सेयर बजार सम्बन्धी आधारभुत कुराहरु नै नबुझेको समेत देखियो । जलबिद्युत बिकास कम्पनीको आइपिओमा आवेदन दिंदा जलबिद्युत उत्पादन गर्ने कम्पनी सोचेर धेरैले लगानीगरेको किस्सा निकै रोचक छ ।

बैंक तथा बित्तीय संस्थाहरुको हकप्रदको बाढिमा नबिकेका सेयरहरुको लिलामी सकार्दा बजारमा चल्तीको मुल्य भन्दा झण्डै १५० रुपैंयाँ बढि हालेर सेयर सकार्ने प्रबृती पनि कम रोचक छैन ।

धेरै लगानीकर्तामा सेयर बजार भनेको सँधै बढ्ने हो । र, पैसा १÷२ महिनामै ‘डबल’ हुनुपर्छ भन्ने सोच हावी देखियो । सेयर बजार घट्न थाल्ने बित्तिकै राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालय धाउन थाल्ने प्रबृतिले यसैको पुष्टि गर्छ ।

लगानीकर्ताका क्रियाकलाप नियाल्दा नेपाली सेयर लगानीकर्ताहरु समूहमा निर्णय गर्न रुचाउने देखियो । कुनै पनि कम्पनीको सेयर किन्दा जुन सेयर आफन्त, साथीभाइ र अन्य लगानीकर्ताले किनिरहेका छन्, त्यस्ता सेयरमा झुम्मिने लगानीकर्ताका बानी देखियो ।

बिश्व सेयर बादशाह वारेन बफेटले भनेका छन्, ‘अरु हौसिएको बेला आफु डराउनु, अरु डराएको बेला आफु हौसनु ।’ तर, लगानीकर्ताहरुले यस बाणीमा खासै ध्यान दिएको देखिएन ।

आफूले खरिद गर्न लागेको कम्पनीको बित्तीय बिवरण र संचालक र ब्यवस्थापनको क्षमता जाँच्ने काममा पनि लगानीकर्ताहरु कमजोर देखिएका छन् । थोरै पूँजी भएका, कमजोर बित्तीय बिवरण भएका र धेरै हकप्रद प्रस्ताव गरेका कम्पनीहरुको सेयर मुल्यले आकाश छोएको छ ।

धेरै पूँजी, बलियो जगेडाकोष, निरन्तर नाफा र लाभांस बढाउँदै लगेका, हकप्रद जारी नगरी आफ्नै नाफाबाट र जगेडाकोषबाट बोनस सेयर दिएर पूँजी बढाउन सक्ने कम्पनीहरुमा अझै लगानीकर्ताको रुची देखिएको छैन ।

हल्लाको पछाडि लाग्ने र आफुले अध्ययन अनुसन्धान नगर्ने लगानीकर्ताको ब्यवहार पनि बिगत एक बर्षमा राम्रैसँग उजागर भयो । संसारका ठूला लगानीकर्ताहरु दिनमै हजारौं पेज पढ्छन् भन्ने हामीले सुनेकै हो । आर्थिक म्यागजिन, पत्रपत्रिका, बित्तीय बिवरण, समग्र आर्थिक अवस्था र राजनीतिक परिदृश्य उनीहरुले धेरै पढ्ने बिषयहरु हुन् । नेपाली लगानीकर्ताका सन्दर्भमा भने धेरै कममा मात्र यस्तो बानी देखिएको छ । लगानीकर्ताका यही कमजोरीका कारण केही टाठाबाठाहरुले गैरजिम्मेवार संचार माध्यमको सहयोगमा हल्ला चलाउने र आफ्नो स्वार्थ पुर्ती गर्ने गरेका छन् ।

नियामक निकाय
नियामक निकाय धितोपत्र बोर्ड र सेयर बजार ब्यवस्थापन कम्पनी नेप्सेको नेतृत्वबीचको जुङ्गे लडाईं पनि यो बर्ष निकै हेर्न लायक भयो ।

भर्खरै मात्र सेयर ब्रोकरहरुले काठमाण्डौं उपत्यका बाहिर शाखा बिस्तार गर्ने क्रममा पनि यो उजागर भयो । धितोपत्र बोर्डले भौतिक पूर्वाधार अझै नपुगेको भनी अझै केही समय शाखा बिस्तार स्थगित गर्न निर्देशन दिए पनि नेप्सेले तुरुन्तै शाखा बिस्तार नगरे अनुपति पत्र खारेज गर्ने उर्दी जारी ग¥र्याे ।

नियामक निकायको भूमिका सामान्यतः लगानीकर्तालाई उनीहरुको लगानी बजारको आफ्नै स्वभाबिक प्रक्रिया बाहेक अन्य कारणले डुब्दैन भनेर आश्वस्त गर्नु नै हो । तर, नियामक निकाय र प्रमुख ब्यवस्थापकको जुङ्गे लडाईंले लगानीकर्तालाई आश्वस्त पार्न कठिन हुन्छ ।

बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कि नदिने सम्बन्धमा पनि यी दुई संस्थाबीचको मतभेद छताछुल्ल भयो । धितोपत्र बोर्डले बैंकहरुलाई लाइसेन्स दिनु भन्ने पत्र नेप्सेलाई लेख्यो भने नेप्सेले सार्वजनिक रुपमै प्रक्रियागत झमेला रहेको बतायो । यी दुई बिच सार्वजनिक जुहारी नै चल्यो ।

अनलाइन टेड्रिङ शुरु गर्ने सन्दर्भमा पनि यी दुई संस्था बिच उचित समन्वय देखिएन ।

बजार घटेका बेला सेयर बजारलाई थप सुधार गर्नुपर्ने माग लिएर भेट्न गएका लगानीकर्तालाई नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले सार्वजनिक रुपमै आफुपनि बजार सुधारमा प्रतिबद्ध रहेको तर धितोपत्र बोर्डले तारन्तार छिर्के हान्ने गरेको गुनासो नै गरे । धितोपत्र बोर्डले निर्देशन दिंदै निरन्तर पत्रहरु लेखिरहने र नेप्सेले ती पत्रहरुको रुखो जवाफ फर्काउने त नियमित प्रक्रिया नै भैहाल्यो, बिगत एक बर्षको ।

बिगत एक बर्षको बजारले नियामक निकायले धेरै नीतिगत सूधारहरु गर्नुपर्ने देखिएको छ । बजारमा असर पार्ने खालका महत्वपूर्ण सूचनाहरु चुहावट हुनु, सूचनामा पहिलो पहुँच हुने संचालकहरुले आफन्त र साथीभाइलाई सूचना दिई सेयर खरिद गर्न लगाउने जस्ता बिकृतिहरु देखा परे । बिकसित देशहरुमा यस्तो प्रबृतिका बिरुद्ध कडा कानुन हुने गर्छन् । नियामक निकायले यस सम्बन्धमा कडा कदम चाल्नुपर्ने देखिएको छ ।

कतिपय अवस्थामा भएका सुधारका कार्यहरुमा पनि त्यसको संस्थागत अभिब्यक्ति नगराएर सम्पूर्ण कामहरु ब्यक्ति केन्द्रित देखिएको छ ।

हकप्रद, आइपिओ भर्ने सन्दर्भमा पनि काठमाण्डौं उपत्यका बाहिरका लगानीकर्ताका आवश्यकताका नियामक निकायले सम्बोधन गर्न सकेको छैन । हकप्रद सेयर भर्ने केन्द्र काठमाण्डौं केन्द्रित गर्दा उपत्यका बाहिरका लगानीकर्ता छुट्ने र उनीहरुको सेयर पछि कम्पनीले महङ्गोमा लिलामी गर्ने प्रबृति देखियो ।

लगानीकर्ता र नियामक निकायका यी तमाम कमीकमजोरीका बाबजुद यो बर्ष धेरै सुधारका कामहरु पनि भएका छन् ।

लगानीकर्ता आफैंले मार्केट डेप्थ हेर्ने सुबिधा पाएका छन् । यसले लगानीकर्तालाई माग र आपुर्तिको आधारमा सेयरमुल्य आंकलन गर्न सहयोग पु¥यायो । सेमिअनलाइन प्रबिधि शुरु भैसकेको छ । यसले अब छिट्टै नेपाली सेयरबजार अनलाइन प्रबिधिमा जान लागेको संकेत गर्दछ । अनलाईन प्रबिधिमा गएपछि लगानीकर्ताले चाहेको सेयर सहजै आफैं किन्न सक्ने अवस्था रहन्छ । अहिले जस्तो आफु्ले किन्न खोजेको सेयर ब्रोकरले समयमा नकिनिदिएको गुनासो हुने छैन ।

आइपिओ र एफपिओमा लगानी गर्नका लागि आस्वा प्रबिधिको शुरुवात भएको छ । यसले घण्टौंसम्म लाम लाग्नु पर्ने झमेलाबाट लगानीकर्तालाई मुक्ति दिएको छ ।

ब्रोकरहरुले उपत्यका बाहिर सेवा बिस्तार गरिसकेका छन् । यसले सेयर बजारलाई अझै बिस्तारित बनाउँनेछ । पछिल्लो दिनमा बढेको कारोबारमा यसको पनि केही भुमिका अवश्य छ ।

एनआरएनलाई सेयरबजारमा भित्र्याउने सम्बन्धमा पनि काम अघि बढिरहेको छ ।

लगानीकर्ताहरुले पनि पछिल्लो समय सेयर बजार भनेको जुवा घर होइन रहेछ, यसमा राम्रोसँग अध्ययन अनुसन्धान गरि लगानी गरेमा जोखिन धेरै न्युनिकरण गर्न सकिन्छ भनेर महशुस गर्दै गइरहेका छन् । अहिले ठूलो संख्यामा खुल्दै गरेका सेयर तालिम केन्द्रहरुले पनि लगानीकर्ताहरु सिक्ने र अध्ययन गर्ने सन्दर्भमा अग्रसरता लिन थालेको भन्ने नै पुष्टि हुन्छ ।

अन्तमा, यस बर्ष देखिएको सेयर बजार उतारचढावले बजार, लगानीकर्ता र नियामक निकायमा रहेका धेरै कमीकमजोरीहरु उजागर गरिदिएको छ । यसले भावी दिनमा सुधारका लागि राम्रो प्रस्थान बिन्दु पनि दिएको छ, जसमा केही सुधारका काम हुन थालिसकेका पनि छन् । गत १ बर्षको उतारचढावमा केहीले कमाए, कतिले गुमाए । तर, सबैले लिन सक्ने शिक्षा भने यसले पक्कै पनि दिएकै छ ।

आगामी दिनमा नेपाली सेयर बजार अझै बिकसित र बिस्तारित हुदैं जाओस् । सबै पाठकहरुलाई नयाँ बर्ष ०७४ को हार्दिक शुभकामना ।


क्लिकमान्डु