यो हो लगानी अवसर भएको संसारको कान्छो सेयर बजार



दुई जापानी कम्पनी ‘डाइवा सेक्युरिटिज ग्रुप’ र ‘जापान एक्सचेन्ज ग्रुपले सन् २०१४ को डिसेम्बर २३ गते ‘म्यान्मा इकोनोमिक बैंक’सँग सम्झौतामा हस्ताक्षर गरे ।

अनि त्यही सम्झौताले संसारकै सबैभन्दा कान्छो सेयर बजार ‘एङ्गुन स्टक एक्सचेन्ज’ जन्मियो ।

दशकौंसम्म बिश्व बिख्यात प्रजातान्त्रीक नेतृ आङ् साङ् सुकीलाई नजरबन्दमा कोचेर सैनिक हैकममा चलेको म्यानमार (बर्मा) मा सेयर बजार खुल्नु आफैंमा आर्थिक उदारिकराण र आधुनिकीकरणतर्फको यात्रा थियो ।

३ करोड १० लाख डलर चुक्ता पूँजीमा खुलेको एङ्गुन स्टक एक्सचेन्जले आफ्नो पहिलो कारोबार सन् २०१६ मार्च २५ गतेदेखि शुरु गरेको थियो ।

कारोबार शुरु गर्दाताका बजारमा ३ वटामात्र कम्पनी सूचिकृत थिए । अहिले ४ पुगेका छन् । पहिलो दिनको कारोबारमा जम्मा ७ हजार २ सय २१ कित्ता सेयर कारोबार भएको थियो ।

उता बिश्वकै ठूूलो सेयर बजार न्युयोर्क स्टक एक्सचेन्जमा त्यसै दिन ८३ करोड ९० लाख कित्ता सेयर कारोबार भएको थियो ।

अहिले २० हजार लगानीकर्ता बजारमा रहेको अनुमान छ । धेरै जसो लगानीकर्ता हल्ला, सामूहिक निर्णय र राशी हेरेर बजार पस्ने गरेको गुनासो नियामकको छ ।

‘एकजना लगानीकर्ताले ज्योतिषी किताब दिएर मलाई लगानी सम्बन्धी सुझाव दिन आग्रह गरे,’ सेयर ब्रोकर मार्टिन झाङ भन्छन् ।

संसारकै पहिलो सेयर बजार एम्सटर्रड्याम स्टक मार्केट ४ सय २८ बर्षअघि खुलेको थियो । हालको सबैभन्दा ठूलो सेयर बजार न्युयोर्क स्टक एक्सचेन्ज चाँही सन् १८१७ मा खुलेको हो । नेपालको एकमात्र स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्ज भने सन् १९९३ मा खुलेको हो अर्थात् एङ्गुन स्टक एक्सचेन्जभन्दा झण्डै २४ बर्षअघि ।

आधा शताब्दी लामो सैनिक शासनले ५ करोड ५० लाख जनसंख्या रहेको यस दक्षिणपूर्वी एसियाली देशलाई आर्थिकरुपमा तहसनहस र अन्तर्राष्ट्रिय समुदाय र बिश्वब्यावी वित्तीय ‘ट्रेण्ड’भन्दा धेरै पर धकेल्यो ।

एङ्गुन एक्सचेन्जमा कारोबार शुरु भएको एक हप्तामै आङ् साङ् सुकी नेतृत्वको पार्टी सत्तामा आयो । त्यसपछि अमेरिकाले सैनिक शासन बिरुद्ध लगाउँदै आएको आर्थिक नाकाबन्दी लगायतको अन्त्य भयो ।

यसका साथै बिदेशबाट भित्रने रेमिट्यान्सले बजारलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
‘अर्थतन्त्र सकारात्मक दिशामा गए सेयर बजारले पनि राम्रो गर्छ,’ अर्थशास्त्री एवं लेखक खिन नाओ भन्छन् ।

म्यानमारमा पहिलो पटक ‘फस्र्ट म्यानमार इन्भेष्टमेन्ट’ नामको कम्पनीको कारोबार भएको थियो । कम्पनीले प्रतिकित्ता ४० हजार क्याट (करिब ३१ अमेरिकी डलर) मा कारोबार शुरु भएको थियो । अहिले कम्पनीको सेयर मुल्य प्रतिकित्ता १६ हजार क्याट ( करिब १२ अमेरिकी डलर ) हाराहारी छ । तर, कम्पनीको नाफा भने बढेको छ ।

कम्पनीको शुरुवाती मुल्य केही बढी नै राखिएको थियो । सुरुमा कम्पनीको मुल्य आम्दानी अनुपात (पीइ रेसियो) ७९ थियो ।

१ हजारबाट शुरु भएको परिसूचक पनि १३ सय नाघ्दै अहिले ५ सय ६० को हाराहारीमा छ । सामान्यतः १०÷१२ हजार कित्ता सेयर कारोबार हुने गरेको छ ।

‘म्यानमारमा मानिसहरु सेयर बजारका बारे टिभी हेर्ने, पत्र पत्रिका पढ्ने र रातारात धनी हुने सपना देख्छन् । तर, बिस्तारै त्यति सजिलो छैन भनेर पनि बुझ्दैछन्,’ नाओ भन्छन् ।

परम्परागत रुपमा बर्मेलीहरु सुन तथा गरगहनाको रुपमा सम्पत्ती थुपार्ने गर्दथे । तर, केही धनाड्यले आफ्नो कम्पनी सिङ्गापुरको सेयर बजारका सूचीकृत नगरेका पनि होइनन् ।

तर, यङ्गुनका सडकहरुमा अझै पनि धेरै मानिसहरु सेयेर बजारका बारे सोध्दा आश्चर्य प्रकट गर्छन् ।
अहिले म्यानमारमा बिदेशीलाई सेयर बजारमा भित्राउन ऐनहरु बन्दैछन् । हप्ताको दुई पटक बोलकबोलको रुपमा भन्दा निरन्तर कारोबारको प्रक्रियामा लैजाने काम पनि हुँदैंछ । नयाँ कम्पनीहरु पनि सूचिकृत हुने क्रममा छन् ।

हाल फस्र्ट म्यानमार इन्भेष्टमेन्ट, म्यानमार थिलावा सेज होल्डिङ्स पब्लिक लिमिटेड, म्यानमार सिटिजन्स् बैंक र फस्र्ट प्राइभेट बैंक गरी चार कम्पनी मात्र सूचिकृत छन् ।

म्यानमारको सेयर बजारले आफ्ना ३ छिमेकी मध्य कम्बोडिया र लाओसको नभएर ३ बर्षभित्र भियतनामको बाटो पक्रिने बिश्वास लिइएको छ । यी ३ वटै देशका सेयर बजार सन् २००५ मा खुलेका थिए ।

कम्बोडियाको बजारमा ३ वटा मात्र कम्पनी सूचिकृत छन् । र, कुल बजार पूँजीकरण १० करोड डलर हाराहारी छ । लाओसको बजारमा पनि पाँच वटा कम्पनी मात्र सूचीकृत छन् । तर, भियतनामको सेयर बजारमा भने ३०० कम्पनी सूचीकृत भइसकेका छन् । र, बजार पूँजीकरण २० अर्ब डलर हाराहारी छ ।

म्यानमारको सेयर बजारले आधुनिक प्रविधि भित्र्याउने सन्दर्भमा कम्बोडीया र लाओसलाई भने उछिनिसकेको छ । लगानीकर्ताले मोबाइल फोनबाटै कारोबार गर्न सक्छन् ।

म्यानमारको सेयर बजारले तीब्र गतिमा बिकास गर्नसक्ने, तर यसका लागि नीति निर्माताको सहयोग र उनीहरुले पूँजीबजारको महत्वको बारे बुझ्नुपर्ने बिज्ञहरु बताउँछन् ।

३ बर्षमै भियतनामको बाटो पक्रिने कुरा अति महत्वकांक्षी भएपनि म्यानमारको बजारले तिब्र बिकास गर्न सक्ने कुरामा भने बिज्ञहरु पनि बिश्वस्त देखिन्छन् ।

एसियाली विकास बैंकले चालु आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि प्रक्षेपण गरेको छ । सन् २०१२ देखि म्यानमारले ७ प्रतिशत भन्दा बढी नै आर्थिक बृद्धि हासिल गरेको छ ।

सन् २०२० सम्म म्यानमारमा मध्यम बर्गको संख्या दोब्बर हुने प्रक्षेपण गरिएको छ । साथै, म्यानमारका उपभोक्ता तिब्र गतिमा आर्थिक बृद्धि गर्दै गरेका चीन, भारत, इन्डोनेसिया जस्ता देशका उपभोक्ता भन्दा पनि बढी आशावादी छन् ।

‘म्यानमारमा लगानी गर्ने कम्पनीहरुलाई ब्यवसाय बढाउने, ब्राण्ड बनाउने र लय समात्ने अवसर धेरै छ । तर, बजारका उपभोक्ता बारे राम्रो ज्ञानको भने जरुरत छ,’ ब्यवसायी डोग्लास ज्याकसन बताउँछन् ।

‘यदि भियतनाम अहिलेको अवसर हो भने म्यानमार भोलीको अवसर हो,’ लेखक टुओमास रिन्हे भन्छन् ।

त्यसैले बिश्वभरीका लगानीकर्ता म्यानमारको सेयर बजारलाई निकै नजिकबाट नियालि रहेका छन् । कतिले त म्यानमारको सेयर बजारमा पस्नु भनेको सन् २००७ मा एप्पलको सेयर किन्नु जस्तै हो भनेर समेत भन्न थालेका छन् । (एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु