राजनीति मात्र होइन, यी असन्तुष्टिको पनि सम्बोधन हुनुपर्छ मधेशकोः दिपेश घिमिरेको बिचार



-बुवा तपाई मधेश आन्दोलनमा जानु भयो ?
-गएँ ।
-किन जानु भएको थियो नि ?
-मेरो गाउँमा २०४४ सालमै सडक आएको । त्यो सडक अहिलेसम्म उस्तै छ । मेरो छोराले खोजी गरेछ, यो सडक किन बनेन भनेर । सो सडक बनाउनको लागि भनेर ३ पटक बजेट निकासा भएर खर्च भईसकेको रहेछ । तर सडक जस्ताको तस्तै छ । सबै बजेट त भ्रष्टाचार गरेर सकेछन् । अब पनि आन्दोलन नगरे त हामी अझै कति वर्ष पछि पर्ने हौं । त्यसैले म आन्दोलनमा गएँ ।

काम विशेषले तराई मधेश गएको अवसरमा धनुषाका एकजना वुवासँग मैले अनौपचारिक कुराकानी गरेको थिए । त्यो कुराकानीको सारांस माथिको प्रश्नोत्तरले प्रष्ट्याउँछ । मधेश आन्दोलित छ । यसको राजनीतिक कारण भएको धेरैले अनुभव गरेका छन् । वौद्धिक छलफल, राजनीतिक भाषण, सामाजिक वहसमा राजनीतिक आयामको बारेमा जे जति मात्रामा कुराकानी भएका छन्, यसको अन्य कारणहरुको बारेमा कमै बहस र छलफल भएको देखिन्छ । यसलेखमा मैले मधेश घुम्दा भेटेका केही व्यक्तिसँग गरिएको कुराकानीको आधारमा मधेश आन्दोलनको फरक आयामलाई प्रस्तुत गर्ने प्रयास गरेको छु ।

मधेश यतिखेर असन्तुष्ट छ । असन्तुष्टिको स्वर कहिले ठूलो हुन्छ त कहिले सानो । तर असन्तुष्टि सकिएको छैन । विभिन्न रुप, रंग, स्वरुप तथा प्रकृतिमा बाहिर निस्किएका छन् । असन्तुष्टिका कारणहरु पनि फरक फरक भेटिन्छन् । कतिपय पहाडी र मधेशीबीचको विभेद र उत्पिडनको कारण सडकमा निस्किएको बताउँछन् । यस्तो विभेद तथा उत्पिडनको कारण कतिपय अवस्थामा भाषा, कतिपय अवस्थामा रोजगारीका अवसरहरु, कतिपय अवस्थामा सामाजिक दृष्टिकोण आदि रहेका छन् । कतिपय अवस्थामा मधेशको इतिहास माथिको अवमुल्यन र वहिष्करणले पनि आक्रोसित बनाएको पाईयो ।

हुन पनि यतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्टिय सर्तकता केन्द्रको तथ्यांकलाई मात्र आधार मान्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचार हुने तराईका आठ जिल्ला रहेका छन् । यसका कारणहरु के हुन् ? यसको नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने कुरामा सरोकारवाला निकायहरु मौन रहँदा यिनै आठ जिल्लामा धनी र गरिबबीचको दुरी अन्यत्रको तुलनामा अत्यन्तै धेरै छ ।

जनकपुरमा भेटिएका एकजना दाइले काठमाडौमा वस्दा भैया भनेकोमा चित्त दुखाएका रहेछन् । ‘आफूभन्दा बच्चाले पनि भैया भन्छन् । यसले हामी मधेशीप्रतिको दृष्टिकोण प्रष्ट हुन्छ ।’ अर्का एकजनाले भने अझ गहिरो कुरा गरे । उनले भने नेपाली भाषामा रामायण उल्था गर्ने चाही आदिकबि कहिलिने यो देशमा विद्यापति को हुन् भनेर प्रश्न गरे । यो कुरा सरकारले बुझाउनु आफ्नो दायित्व ठान्दैन । यो मधेश माथि पहाडीयाको रवैया सिवाय केहि होईन । यस्ता विसंगतिलाई ठाउँमा ल्याउन मधेश आन्दोलनमा निस्किएको बताए ।

कतिपयले राष्ट्रियताको सवालमा जहिले पनि मधेशलाई हेर्ने संकालु दृष्टिकोणप्रति चित्त दुखाएका पाएँ । भारतसँग नेपालको खुल्ला सिमाना छ । त्यो सीमाको सुरक्षा मधेशी जनताले गरिरहेका छन् । हरेक वर्ष कुनै न कुनै ठाउँमा, कसै न कसैले भारतको ज्याजति खेप्नु परिरहेको छ । आक्रमणको सामाना गरिरहेका छन् । प्रतिकार गरिरहेका छन् । ज्यानको बाजी लगाएर सिमा सुरक्षा गर्दा पनि अराष्ट्रिय नागरिकको विल्ला भिर्दा कसलाई पो खुसी लाग्छ र ? सप्तरीका एक युवाले यस किसिमको पहाडीया मनोविज्ञानले धेरै मधेशी नागरिकलाई चिढ्याएको अनुभव सुनाए ।

अर्को एकजना भाइसँग पनि मेरो कार्यक्रमकै शिलसिलामा भेट भयो । पछिल्लो समय सरकारले तराई मधेशमा उच्च बजेट विनियोजन गर्दै लगेको छ । यसले त धेरै मधेशी नागरिक खुसी हुनुहोला नि ? मैले सोधें । उनले सोच्न कुनै समय नै नलगाईकन असन्तुष्टि पोखे । नेपाल सरकारले ठूलो रकम विनियोजन गरेको छ । तर त्यो रकम खर्च गर्दैन । र, फिर्ता लिएर जान्छ । उनले चर्को स्वरमा असन्तुष्टि पोखे । यसरी फिर्ता लिएर जाने बजेट दिएको छु वा विनियोजन गरेको छु भनेर के हुन्छ र ? कम बजेट विनियोजन हुनु भन्दा त बजेट बढाउनु राम्रो होला नि ? अलि अलि फिर्ता हुदाँ पनि केही काम त हुन्छ भनेर मैले जिज्ञासा राखें । ‘यसको केही अर्थ छैन’ उनले थपे ‘यो सरकारले हाम्रो आखोमा छारो हानेको हो, छारो भोग्नेलाई मात्र यसको पिडा थाहा हुन्छ ।’

कतिपय युवा भने सरकारको विकासका गतिविधि र यसमा सरकारले मधेशलाई हेर्ने दृष्टिकोणप्रति असन्तुष्ट देखिए । तत्कालिन राजा महेन्द्रको पालामा बनेको पूर्व पश्चिम राजमार्ग पछि उल्लेख गर्न लायकको कुनै विकास तराईमा नभएको बरु पहाडमा एकपछि अर्को गर्दै ठुला परियोजनाहरु बन्दै गएका उनीहरुको गुनासो थियो । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि विकासका काममा सरकारको प्राथमिकतामा अझ पछाडी पर्छ कि भन्ने आशंका बोकेका देखिन्थे । मधेशमा आउने प्रशासकदेखि सबैले यहाँ विकासका गतिविधिलाई प्राथमिकता दिएर सञ्चालन गर्ने भन्दा पनि झारो टार्ने प्रवृत्ति मौलाउँदै गएकोमा असन्तुष्टी व्यक्त गरे । सर्लाहीका एक जना युवाले पूर्वपश्चिम राजमार्गको नवलपुरदेखि मलंगवासम्मको सडकको उदाहरण दिएर सरकारी दृष्टिकोणलाई सामान्यिकरण गरे । पछिल्लो ४ महिनामा काठमाडौमा उडेको धुलोको चर्चा गर्ने सञ्चार माध्यम वर्षौदेखि यहाँ उडेको धुलोलाई किन प्राथमिकता दिदैनन् ? उनले प्रश्न गरे । सरकारी अधिकारी बजेटमा अनियमितता गर्ने र ठुला सञ्चार माध्यमहरु त्यो अनियमिताको खोजी पनि नगर्ने र जनताको पिडालाई पनि वेवास्ता गर्दा मधेशीको रगत उम्लिएको उनको भनाइ छ ।

धेरै जसो व्यक्तिको भने सुशासन र भ्रष्टाचारको कारण असन्तुष्टि बढेको भेटियो । सडकको नाममा आएको बजेट सडक नबनी वा त्यसको स्तरउन्नति नगरि सकिन्छ । शिक्षाको लागि भनेर आएको बजेट झोले विद्यालयका नाममा सकिन्छ । स्वास्थ्यको अवस्था अत्यन्तै नाजुक छ । दुखद तस्वीर देखिन्छ मधेशको । रौतहट जिल्लामा मात्रै विद्यालय जाने उमेरका ८० हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर छन् । जुन नेपालकै ७५ औं जिल्ला हो । मातृशिशु मृत्युदर पनि यही सबैभन्दा धेरै छ । कुपोषणको मारमा मधेशकै बालबालिका बढी फसेका छन् । यो सबै अवस्था स्रोत नभएर मात्र होईन । त्यसरी आएको स्रोतको अनियमितता तथा भ्रष्टाचार भएको कारणले हो भनेर रौतहटका एक युवाले सुनाए ।

यहाँ जनताको सोझोपनाको फाईदा पहाडीया शासकहरुले उठाउनसम्म उठाए । स्रोत, साधनको उपलब्धता तराई मधेशमा राम्रो छ । जनशक्ती यही बढी छ । उब्जाउ भुमि तराईमै छ । विकासका गतिविधि सञ्चालन गर्न पहाड भन्दा बढी तराई मधेशमै सहज छ । तर मधेशको अवस्था दिनदिनै खस्किदै गईरहेको छ । अब पहाडीयाको भर परेर बस्यो भने हाम्रो अवस्था अझै कमजोर हुन्छ । ती युवाले कसिलो स्वरमा सुनाए । अब हाम्रो कामको नेतृत्व मात्र होईन यसको अनुगमन, मूल्यांकनको जिम्मेवारी पनि हामी आफैले लिनुपर्ने बेला आएको छ ।

हुन पनि यतिखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्टिय सर्तकता केन्द्रको तथ्यांकलाई मात्र आधार मान्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचार हुने तराईका आठ जिल्ला रहेका छन् । यसका कारणहरु के हुन् ? यसको नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने कुरामा सरोकारवाला निकायहरु मौन रहँदा यिनै आठ जिल्लामा धनी र गरिबबीचको दुरी अन्यत्रको तुलनामा अत्यन्तै धेरै छ । धनी झन् झन् धनी हुदै गईरहेका छन् भने गरिबहरु कंगाल हुदै गएका छन् । यो यथार्थतालाई मधेश र मधेशका दाजुभाइ दिदीवहिनीले नजिकबाट अनुभव गरेको मैले पाएँ । त्यसैले मधेशका दाजुभाइ दिदीवहिनीहरु असन्तुष्टिका यी यावत सवाललाई राजनीतिको लेप लगाएर आन्दोलनमा उत्रिएका छन् । अहिले पनि आन्दोलित छन् । अतः यतिखेर राज्य पुर्नसंरचनाको सीमाना, वा अन्य यस्तै राजनीतिक सवालहरुको संवोधनबाट मात्र मधेशको आन्दोलित मनोविज्ञानलाई निवारण गर्न सकिदैन । यसको लागि त माथि उल्लेख गरिएका र अन्य यस्तै सामाजिक सवाललाई पनि प्रष्ट रुपमा संवोधन गर्नु जरुरी छ ।