संसदले शव्दको अर्थ नबुझ्दा, सचिवले माफी माग्नुपर्यो



 

काठमाडौं । व्यवस्थापिका सांसदको अर्थ समितिले बिहीबार बैठक बोलायो । बैठकमा छलफलको एजेण्डा थियो,– गैरबजेटरी निकासा सम्बन्धमा ।

पछिल्लो समय सरकारले धमाधम रकमान्तर गर्न थालेपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको थियो । रकमान्तरको विषयमा छलफल गर्नुपर्ने सो बैठकको शीर्षक भने गैरबजेटरी निकासा राखियो ।

अर्थ समितिका सांसदहरुको प्राविधिक त्रुटीका कारण बैठकको शीर्षक गैरबजेटरी निकासा हुन पगेको थियो ।

‘मैले अभिभावक मानेका सहकारी अभियान्ता बडालज्यूलाई यो भनाईले दुख पुगेको भए माफी माग्छु । तर मैले गल्ती बोलेको छैन,’ उनले भने ।

सांसदहरुले यी दुई शब्दको वास्तविक अर्थ नबुझेको भन्दै उनले व्याख्या अर्थसचिव डा. शान्तराज सुवेदीले गरेर बुझाउने प्रयास गरे ।

‘गैरबजेटरी बजेटको लेखापरिक्षण हुँदैन र प्रणालीमा पनि देखिँदैन,अहिलेको रकमान्तर बजेटरी शीर्षक अन्तर्गत नै भएको हो,’ सचिव सुवेदीले भने,– ‘म माननीयज्यूहरुलाई यो प्रष्ट पार्न चाहन्छु कि बजेटरी र गैरबजेटरीको अर्थमा फरक छ,’ सचिव सुवेदीले भने ।

बैठकमा दुई पूर्वअर्थमन्त्री डा. रामशरण महत र सुरेन्द्र पाण्डेसमेत सहभागी थिए । ६ पटक अर्थमन्त्री भएका डा. महतले भने सचिव सुवेदीको व्यख्यामा कुनै प्रतिक्रिया जनाएनन् ।

किनभने उनले बजेटरी र गैरबजेटरी शब्दको सैद्दान्तिक ज्ञान राम्रोसँग बुझेका थिए । त्यतिमात्रै होइन, उनी सत्तासाझेदार दल कांग्रेसका नेतासमेत भएकाले सरकारको विरोध गर्नतर्फ खासै केन्द्रित भएनन् । बरु उनले सुझाब दिए ।

प्रतिपक्षी एमालेका सांसदहरु भने सरकारको विरोधमा उत्रिनु अस्वभाविक थिएन ।

सरकारको बिरोग गर्ने शिलशिलामा एमाले नेतासमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटरी र गैरबजेटरी शब्दको अर्थमा सचिवसँग जुहारी खेले । सांसद पाण्डेले बजेटमा उल्लेख नभएका सबै कार्यक्रम गैरबजेटरी हुने दाबी मात्रै गरेनन्, अर्थसचिवले गलत ढंगले व्याख्या गरेको भन्दै आक्रोसमेत व्यक्त गरे ।

‘सचिवज्यूले यसरी शब्दको गलत ढंगले व्याख्या गर्न जरुरी छैन, योजनामा नभएका सबै कार्यक्रममा बजेट दिनु भनेको गैरबजेटरी हो,’ पाण्डलेले भने ।

व्यवसायीसमेत रहेका एमालेका अर्का सांसद इच्छाराज तामाङले त आफूसँग बजेटरी वा गैरबजेटरी शब्दको विषेशज्ञता नभएको बताए ।

‘म यी दुई शब्दले के अर्थ राख्छन् भन्ने जान्दिन,’ तामाङले भने,– ‘मलाई यत्ति थाहा छ कि सरकार परिवर्त भएकै कारण रकमान्तर भएको हो ।’

समितिका हरेक बैठकमा सबैभन्दा लामो समय बोल्ने र अरुको तीब्र आलोचना गर्ने एमालेका सांसद केशब बडाल आज पनि बोल्न भ्याए ।

अर्थ सचिवले सरकारको बचाउ गरेको भन्दै बडाल निकै आक्रोशित देखिए ।

‘मैले तपाईलाई निकै बुझेको सचिव ठानेको थिएँ । तर तपाईँले बजेटरी र गैरबजेटरीको जुन व्याख्या गर्नुभयो, त्यहाँ उल्लेखित भाषा प्रहारले मलाई दुख लाग्यो,’ बडालले भने,– ‘सरकारबाट कुनै राजनीतिक दल बाहिरिनु र भित्रिनु स्वभाविक प्रक्रिया हो, तपाईँले त्यो ख्याल गर्नुहोस् ।’

बडालकै भनाईलाई कांग्रेस सांसद ओमदेबी मल्लले पनि समर्थन जनाइन् ।

जब सांसदहरु आक्रोशित भए तब अर्थसचिव सुवेदी केही हच्किए । बुझाउने प्रयास गर्दापनि सांसदहरुले नबुझेपछि उनले माफी माग्नु पर्यो ।

अर्थसचिव सुवेदीले छलफलको अन्तिममा बजेटरी र गैरबजेटरीको सैद्दान्तिक व्याख्या मात्रै गरेको भन्दै लचिलो भए ।

‘मैले अभिभावक मानेका सहकारी अभियान्ता बडालज्यूलाई यो भनाईले दुख पुगेको भए माफी माग्छु । तर मैले गल्ती बोलेको छैन,’ उनले भने ।


पुष्प दुलाल