बैंकको नाफा बारे उद्योगी बैंकरबीच विवाद



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बैंकले आफ्नो नाफामा मात्र ध्यान दिने गरेको बताए । बैंकहरुको कस्ट अफ फन्ड ०.७ प्रतिशतले बढ्दा कर्जाको ब्याजदर ३ प्रतिशतले बढीसकेको भन्दै मुरारकाले बैंकले जसरी पनि नाफा कमाउनको लागि लागेकोमा असन्तुष्टी पोखे ।

नेपाल बैकर्स संघले आयोजना गरेको तरलताको समस्या समाधानको बारेमा उद्योगी व्यापारी तथा राष्ट्र बैंकसँग भएको छलफलमा मुरारकाले यस्तो धारणा राखेका हुन् ।

छलफलमा सहभागी भएका उद्योगीले बैंकले नाफा अत्याधिक लिएको गुनासो गरे । मुरारकाले नाफाको बारेमा अत्याधिक भएको टिप्पणी गरेपछि नेपाल बैकर्स संघका पूर्व अध्यक्ष राजनसिंह भण्डारीले नाफा कमाउन हुँदैन भन्ने धारणा निजी क्षेत्रबाट आउन नहुँने भन्दै असल तरिकाले नाफा कमाउन हुने धारणा राखे ।

‘बैंक र उद्योगी एउटै सिक्काका दुई पाटो हुन्, पैसा महंगो भएपछि कर्जाको ब्याजदर स्वभाविक बढ्छ,’ भण्डारीले भने । उनले कर्जा प्रवाह ठप्प हुने अवस्था अर्थतन्त्रका लागि हितकर नभएको बताए ।

‘उद्यमीले ३० प्रतिशत नाफा कमाउदा १५ प्रतिशत बैंकले कमाउन मिल्छ, बैंक र उद्यमीले मिलेर नाफा गर्ने हो,’ भण्डारीले भने ।

भण्डारीको भनाईलाई भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले प्रतिवाद गर्दै जोखिम उद्यमीको हुने भन्दै नाफा मात्र बैंकलाई सेयर गर्न नसकिने बताए ।

‘तपाईहरु अहिले गल्ती गर्दै हुनुहुन्छ, यसको असर देश र जनताले भोग्नुपर्छ, अहिले देखिएको समस्याले मुल्य बृद्धिलाई बढाउने छ,’ गोल्छाले भने ।

उनले बैंकबाट ऋण लिएर समस्यामा परेको ऋणीलाई पुनस्थापनामा बैंकहरुले सहयोग नगरेको भन्दै असन्तुष्टि जनाए ।

बैंकर र उद्योगीले बोलेपछि धारणा राखेका राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बैंकले सधै नाफा मात्र खोज्ने गरेकोमा असन्तुष्टी जनाउदै भूकम्प र नाकाबन्दी गएको समयमा पनि नाफा नघटेको बताए ।

‘देशमा जतिसुकै ठूलो समस्या आएपनि नाफा भने घटेन, अरु क्षेत्रमा समस्या आएपनि बैंकमा भने त्यसको असर देखिएन,’ शिवाकोटीले भने ।

उनले त्रैमासिक अवधीमा मात्र सीसीडी राष्ट्र बैंकले हेर्ने भएकोले बैंकहरु सहज अवस्थामा रहेको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बैकर्स एशोसियनका उपाध्यक्ष तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले संचालनमा रहेका २८ बैंकमध्ये २१ मा पुँजी कर्जा निक्षेप (सीसीडी रेसियो) ८० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए ।


क्लिकमान्डु