आफ्नै राजीनामा माग्ने लगानीकर्ता ढकालसँग अर्थमन्त्री खतिवडाको जम्काभेटमा जे देखियो…



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री हुने वित्तिकै सेयर बजारलाई अनुत्पादक क्षेत्र हो भने । त्यसपछि उनको धेरै आलोचना पनि भयो । आलोचनापछि पनि अर्थमन्त्रीले यसलाई सच्चाएनन् । प्रट्याएनन् ।

तर अहिले खतिवडालाई उनकै बोली भारी भएको छ । त्यो सानो अभिव्यक्तिले अहिलेसम्म पनि मन्त्री खतिवडालाई छाडेको छैन, आलोचनाको पात्र बनाई नै रहेको छ ।

अझ अर्थमन्त्रीले श्वेतपत्र जारी गरेपछि बजारमा सामान्य उतारचढावले झनै ओरालो गति लियो । गिरावट चुलियो ।

अर्थमन्त्रीको त्यो भनाइले सेयर लगानीकर्ताहरुको मनोबल घट्न गयो । अर्थमन्त्रीले २०७३ चैत १६ गते शुक्रबार संसदमा श्वेतपत्र प्रस्तुत गर्दा दिएको उक्त बिचारले पर्सीपल्ट १८ गते आइतबार बजार २४ अङ्कले घटेको थियो ।

आइतबार बजार खुलेको एक घन्टामा करिब ४० अंकले बजार ओरालो लागेको बजार दिउँसो ३ बजे बन्द हुँदा थामिएर २४ अङ्कसम्ममा आएको थियो ।

बजारका सबै उपसूचकहरु राताम्य प्रायः भएका थिए । त्यो समयमा नयाँ सरकार गठन भएपछि लगातार सो घटिरहेको सेयर अर्थमन्त्री खतिवडाको भनाइले झन् लगानीकर्ताहरु निरास हुँदा थालेका थिए ।

अर्थमन्त्रीको भनाइले नै बजार घटेको विश्लेषणसहित केही लगानीकर्ताले समूह नै गठन गरी आन्दोलन गरेका थिए । फलस्वरुप हरि ढकालको संयोजकत्वमा सेयर लगानीकर्ता संघर्ष समिति समेत गठन भयो ।

तत्कालिन समयमा बजार सुधारका लागि ५८ बुँदे माग राख्दै उनीहरुले विभिन्न चरणका आन्दोलन गर्दै ४ दिनसम्म त आमरण अनसन नै बसे ।

उनीहरुले अनसन कायमै राखेको समयमा अर्थमन्त्री डा. खतिवडाले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा तथा पुँजी बजारको वर्तमान अवस्था अध्ययन गर्दै सुझाव दिन कार्यदल बन्यो ।

त्यो कार्यदल बनाउनु मन्त्रीको चाहनाभन्दा बढी बाध्यता थियो । अनसनकारीहरुले मन्त्री खतिवडाको राजिनामासमेत मागेका थिए । बजारको विकास र विस्तारको नाममा गरिएको उक्त अनसनमा मुख्य योजना भने मन्त्रीको राजिनामा नै थियो ।


आफ्नै एक बोलीले सेयर बजारमा तनाव सिर्जना भएपछि मन्त्री खतिवडाले राजिनामा दिनुको साटो कार्यदल गठन गरेर विवाद साम्य पार्न खोजेका थिए ।

कार्यदल गठनले एउटा फाइदा गर्यो । अनसन बिनानिश्कर्ष नै टुङ्गियो । कार्यदलले बजारको अध्ययन अनुसन्धान गरी अर्थमन्त्रीलाई प्रतिवेदन पनि बुझायो । तर बजारमा भने खासै सकारात्मक परिवर्तन आएनन् ।

मुद्रा तथा पुँजी बजारको वर्तमान अवस्थाबारे अध्ययन गरेको कार्यदलले बुझाएको प्रतिवेदनले समेटेका कतिपय विषयहरु अझै पनि सरकारले पूरा गर्न नगरेको गुनासो लगानीकर्ताको अझै पनि छ ।

ढकालको अर्थमन्त्रीलाई भेट्ने त्यो असफल प्रयास…

सेयर बजारको सुधारको माग गर्दै सघंर्ष समिति गठन गरी अनसनको तयारीमा रहँदै गर्दा हरि ढकाल अर्थमन्त्रीलाई कैयन पटक भेट्न खोजे ।

बजारको अवस्था, पहिलेदेखि थाँती रहेका काम, पुँजी बजारमा तत्काल गर्नुपर्ने काम लगायतका कुराहरुको रिपोटिङ गर्न धेरै पटक अर्थमन्त्रीसँग भेटन खोजे । तर अर्थमन्त्रीले टेर्दैटेरेनन् । भेट्नै दिएनन् ।

गत वर्ष पुष ३ गते ढकाल र तिलक कोइराला नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय अगाडि आमरण अनसन बसे । ४ दिनसम्म आमरण अनसन बसेका उनीहरुले पटक-पटक अर्थमन्त्रीसँग वार्ता गर्न खोजे ।

बजारको विषयमा आफ्ना मागहरु प्रत्यक्षरुपमा अर्थमन्त्री समक्ष पुर्याउन असक्षम भएका उनीहरुले ११ दिनसम्म रिले अनसन बसे । तर अनसन बसेपछि मन्त्री खतिवडा अझ रिसाए । त्यसपछि त झन भेट दिएनन् ।

त्यो समयमा पनि मन्त्रीसँग कुनै खालको संवाद भएन । मन्त्रीले भेट्न नै चाहेनन् । चाहुन् पनि कसरी, मन्त्री सोचाइमा सेयर बजार भनेको अनुत्पादक क्षेत्र हो भन्ने कुरा नमज्जाले जगडिएको थियो ।

यसै क्रममा अर्थमन्त्रालयमा भएको एक बैठकमा अर्थ मन्त्रालयका वित्तीय महाशाखा प्रमुख तोयम रायले आफ्नो समस्याहरु आफै अर्थमन्त्रीसँग राख्नुस् भनेर सेयर लगानी दवाब समूहलाई अर्थमन्त्रालय पठाएका थिए ।

तर अर्थमन्त्रीले आफूलाई भेट्न आउने लगानीकर्ता दवाब समूहको नामावली हेरेर भेट्न चाहेनन् । भेटुन् पनि कसरी, जसले आफ्नो राजीनामा माग्दै अनसन बस्यो, कहिल्यै झुक्न नजानेको आफूलाई कार्यदल बनाउन बाध्य बनायो, सेयर बजारको विषयमा बोल्न नै नचाहने आफूलाई कतै न कतै कुनै न कुनै बाहनामा नबोली नहुने बनायो ।

केही साताअघि पुँजीगत लाभकरको विषयमा धितोपत्र बोर्डमा बोर्डका अधिकारीहरुसँग भएको छलफलमा त ढकालले अब बढीमा ८ महिना हेर्नु त्यसपछि देखिन्छ भन्दै दिएको अभिव्यक्ति बोर्डका कर्मचारीले मन्त्रीको कानमा नपुर्याउने कुरै भएन । त्यसले पनि मन्त्रीले भेटने कुरा नै भएन ।

(ढकालले बोर्डमा उक्त अभिव्यक्ति दिएको समयमा मन्त्रीलाई नै भेटेर लगानीकर्ताहरुले पुँजीगत लाभकरको विषयमा जानकारी गराउने तयारीमा थिए ।)

अर्थमन्त्री र ढकालको ९ महिनापछिको त्यो भेट…

विगत ९ महिनादेखिको अर्थमन्त्री खतिवडालाई भेट्ने ढकालको अभिलाषा भदौ २२ गते आइतबार बिहान साढे ८ बजे पूरा हुँदै थियो । मन्त्री खतिवडा, ढकाल एउटै मञ्चमा खादा लगाएर बस्ने भएका थिए ।

त्यो सौभाग्य जुटाउने काम नेपाल आर्थिक प्रत्रकार संघ (नाफिज) ले गरेको थियो । ढकाललाई लागेको थियो होला, ‘आज चाँही मन्त्रीको सामू सेयर बजारको विषयमा मनका लागेको सबै मैलो फाल्छु, बजारको विषयमा धेरै कुरा राख्छु, लगानीकर्ताको लगानी नडुबाउने योजना ल्याउन आग्रह गर्छु ।

पुँजीगत लाभकरको गाँठो अर्थ मन्त्रालयमा नै रहेकाले त्यो पनि फुकाउन आग्रह गर्छु, नेपालमा विदेशी लगानी ल्याउने कुरा छ, त्यसो हुँदा विदेशीले हेर्ने भनेको नेप्सेको साइट हो, त्यसले देशको अर्थ व्यवस्थाको बारेमा जानकारी गराउँछ, त्यसैले बजारको सुधारमा लाग्न आग्रह गर्छु वा यस्तै यस्तै ।

तर बिडम्बना ढकालले बोल्न जम्मा २ मिनेट पाए । त्यो समयमा कति बोल्ने, सम्बोधन गर्नै पर्यो, बजारको अवस्थाको बारेमा केही त भन्नै पर्यो, नियमको कुरा गर्नै पर्यो । र, सँगै संस्थाको १०औँ वार्षिकोत्सवको शुभकामना पनि दिनै पर्यो ।

तै पनि ढकालले फ्याट्ट सम्झिहाले आफूहरु आमरण अनसन बसेको समयमा मन्त्री खतिवडाले कार्यदल गठन गरेर त्यो

कार्यदलले बजारको सुधारका लागि ल्याएको ५८ बुँदा ।

अनि मन्त्रीको सामू भने, ‘सेयर बजारलाई प्राकृतिक बनाउनु पर्ने र प्राकृतिक बनाउन ५८ बुँदे माग कार्यान्वयन हुनैपर्छ । आम लगानीकर्ताहरु बजार प्राकृतिक भएको हेर्न चाहन्छन् ।’

उनले थपे, ‘अर्थमन्त्रीले सेयर बजारलाई प्राथमिकतामा राखेको अनुभूति लगानीकर्ताले गर्न पाएका छैनन्, अर्थमन्त्रीले सेयर बजारलाई प्राथमिकतामा राखेको अनुभूति लगानीकर्ताले पाएमा मात्रै लगानीकर्ताको मनोबल बढी बजारमा लगानी बढ्ने र सुधार आउँछ ।’

उनले करिब-करिब यत्ति नै बोले, उनी बोल्दै गर्दा कार्यक्रम प्रस्तोताले पछाडिबाट समय सकियो भनेर ढकालको कोटमा कोट्याउन भ्याइसकेका थिए ।

उनलाई २ मिनेटमा के अभिव्यक्ति राख्ने भन्ने कुरा नै अन्योल भयो । लरबर्रिएको लवजमा बोलेका ढकालको समय ५८ बुँदाले नै सक्यो । बाँकी कुरा उनको मनमा नै मात्रै सीमित रह्यो ।

ढकालको कुरा न त अर्थमन्त्रीले सुन्न पाए, नत दर्शकले नै, अब उनले यस्तो मौका कहिले र कहाँ पाउने हुन ? त्यो भने हेर्न बाँकी नै छ । अनि त्यो बेला पनि कति समय पाउलान र आफ्नो कुरा राख्ने हुन थाहा छैन । कानून त मन्त्री खतिवडाको कार्यकाल अब ६ महिना मात्रै छ ।

कार्यक्रम सकिएपछि अनौपचारिकरुपमा ढकालले अर्थमन्त्रीसँग बिदाइको हात मिलाउँदै भने, ‘अर्थमन्त्रीज्यू, केही बजारको ग्रस रिपोटिङ गर्नु छ । तपाईलाई पनि त्यो आवश्यक छ ?’ ढकालको त्यो प्रश्नमा अर्थमन्त्रीबाट ‘हुन्छ सम्पर्क गरौँला’ भन्ने औपचारिक जवाफ मात्रै फर्काए । र, बाटो लागे ।

के भन्न चाहन्थे ढकाल अर्थमन्त्रीसँग ?

कार्यक्रममा २ मिनेटमात्र आफ्नो अभिव्यक्ति राख्ने समय पाएका ढकाललाई अर्थमन्त्रीसामू धेरै मनको बह पोख्नु थियो । उनले कायक्रममा के-के कुराहरु अर्थमन्त्री सामू बोल्ने भनेर बुदाँगत रुपमा नै तयार पारेर आएका थिए ।

उनले तयार पारेको बुँदा यस्ता थिए ।

१. ५८ बुँदे मागमा भएका कुराहरु कार्यान्यवन कहाँ पुग्यो ? किन ढिलासुस्ती भएको ?

२. ५८ बुँदे मागमा मार्केट लिडरसिपको कुरा कहाँ पुग्यो ?

३. तपाई सेयर बजारप्रति किन नकारात्मक हुनुहुन्छ ? तपाईका हरेक अभिव्यक्तिहरु बजारप्रति किन सधै नकारात्मक हुन्छन् ?

४. तपाई कहिले बजारलाई काउलीसँग दाँज्नुहुन्छ ? कहिले १ सय रुपैयाँको सेयर १ सय मै आउनुपर्छ भन्नुहुन्छ, कहिले बजारलाई अनुत्पादक क्षेत्र भन्नुहुन्छ, उत्पादक र अनुत्पादक क्षेत्रको फरक थाहा छैन ?

५. १ सय रुपैयाँमा किनेको सेयरको मूल्य अनावश्यकरुपमा बढिरहेको छ भनेर भन्नु हुन्छ । केही वर्ष अगाडि बानेश्वरमा जग्गाको मूल्य आनाको कति थियो र अहिले कति छ ? सुनको मूल्य १५ वर्ष अगाडि कति थियो र अहिले कति छ ? जग्गा, सुन दुबै बढ्दा नि बढ्दैन त्यो पनि अनुत्पादक हो, त्यसको मूल्य बढेको बढ्यै छ तर प्रत्येक वर्ष लाभांश, बोनस खुवाउने सेयर बजारमा मूल्य नबढोस् भन्ने तपाईको कस्तो विज्ञता हो ?

ढकाललाई अर्थमन्त्रीसँग सेयर बजारमा सम्बन्धित रहेर २ घण्टा लाइभ बहस गर्न मन थियो । त्यही अवसरको खोजी नाफिजको कार्यक्रममा होला भन्ने आशा पलाएको थियो । तर त्यो पनि पूरा हुन सकेन ।

कार्यक्रममा अर्थमन्त्रीले लगानीकर्ताहरुलाई सेयर बजारलाई खेलौना नसम्झिन आग्रह गरेका थिए । यसले ढकाललाई अझ बढी चोट पुगेको बुझ्न गाह्रो थिएन ।

खेलौना सम्झेर आगोसँग खेल्दा आफै जलेर भष्म भइएला भन्दै सेयर बजारलाई खेलौना नसम्झिन अर्थमन्त्री खतिवडा त्यसमा सचेत गराएका हुन् ।

अर्थमन्त्रीको यस्तो भनाइमा ढकाल भन्छन्, ‘बजारलाई खेलौना कसले सम्झिएको छ ? उहाँहरु नै प्राकृतिक बजारलाई खेलौना जस्तो सम्झेर लगानीकर्ताको मनोबल घट्ने र बढ्ने खालका अभिव्यक्तिहरु दिनुहुन्छ नीति नियमनहरु बजार अनुकुलका हुँदैन अनि कसरी बजार बढ्छ ?’

‘मन्त्रीज्यूले बजारलाई खेलौना सम्झेर खेल्दा आफै जलिन्छ भन्नुभएको छ, पक्कैपनि यो अर्थतन्त्रको ऐना हो भने यो ध्वस्त हुँदा सबै ध्वस्त हुन्छन्’ ढकाल थप्छन्, ‘उहाँले आफैं मनोबल गिराएको कुरा गर्नु भएको छ’ राज्यले दुई वटास्वरुप देखाउँनु हुँदैन ।’

राज्य भनेको जनताको अभिभावक हो । त्यसमाथि पनि पुँजी बजारको बा भनेकै अर्थमन्त्री नै हुन् । बासँग डराउनु पर्छ, बालाई इज्जत गर्नुपर्छ, बासँग अनुसाशनमा बस्नुपर्छ, बाले भनेको राम्रा कुरा मान्नु पनि पर्छ, तर बाले आतंक सिर्जना भने गर्नुहुन्छ, बाले जाँड खादै आफ्नो बच्चा कुट्दै हिँड्नुहुन्छ भने बालाई इज्जत गर्नुपर्छ भन्ने छैन ।

‘पुँजी बजारका बाले राज्यमा आतंक भने सिर्जना गर्नु हुँदैन् । यसअघि कैयन पटक प्रयास गर्दा पनि बोल्न नचाहनु भएको उहाँले अहिले आएर मात्रै यो विषयमा बोल्नु भयो, यसलाई हामी सकारात्मक हो भन्छौ,’ ढकालले भने ।

बजार प्रोत्साहन गर्न राज्य, अर्थमन्त्री र नीति नियामनलाई इज्जत गर्नुपर्छ । तर व्यक्तिगतरुपमै नै राज्यको जिम्मेवार व्यक्तिले एउटा क्षेत्र ध्वस्त नै होस भनेर आफ्नो अभिव्यक्ति दिन नपाइने उनको भनाई छ ।

लगानीकर्ताहरुको अर्थमन्त्रीसँगको प्रतिवाद पनि यही हो ।


पुष्प दुलाल