आर्थिक जगतका यी महिलाले कसरी मनाउँदैछन् तीज ?
काठमाडौं । नेपाली हिन्दु महिलाहरुको चाड हरितालिका तीजको लहर देश-विदेशमा सुरू भइसकेको छ ।
नेपाली हिन्दु नारीहरुको महान पर्वको रुपमा मनाइने हरितालिका तीज सबै ठाउँमा छरिएर रहेका नेपाली महिलाहरुले परापूर्वकालदेखि मनाउँदै आएका छन् ।
सामान्यतया महिलाहरु तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट निरहार व्रत बस्ने गर्दछन् ।
तर पछिल्ला केही वर्षयता भने सहरी भेगका महिलाहरुमा तीज शुरु हनु भन्दा १ महिना अघिदेखि नै दरखाने कार्यक्रम गर्दै मनाउने प्रचलन बढिरहेको छ ।
विशेषगरी बिवाहित नारीले आफ्नो पतिको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै र अबिवाहित नारीहरुले राम्रो पति पाऊँ भनेर व्रत बसी तीज पर्व मान्ने इतिहासदेखिको प्रचलन छ ।
तीजमा महिलाहरु नयाँ गहना तथा पहिरनहरु आफ्नो लागि किन्ने र आफन्तहरुका लागि पनि किन्ने गर्छन् । निम्न वर्गिय, मध्यम वर्गिय र उच्च वर्गिय महिला सबैले तीजका आ-आफ्नै योजनाहरु बनाएर बनाएर मनाउने गर्दछन् ।
तर सामान्यस्तरका महिलाहरुले मनाउने तीज र उच्च ओहोदामा रहेका महिला, धनाढ्य र व्यापारिक घरानाका महिलाले मनाउने तीज पनि उस्तै रहेको पाइएको छ । हामीले नेपालका केही उच्च तहका उद्योगी व्यवसायी तथा बैंकर महिलाहरुको तीजको योजना र तौरतरिकाका बारेमा चर्चा गरेका छौं ।
अग्रिम तीज मनाउँदा आर्थिक कारोबार बढ्छ
म तीजमा व्रत बस्छु । मन्दिर जान्छु र पूजा पनि गर्छु । विभिन्न दर खाने कार्यक्रममा सहभागी हुन्छु । केही समय भारतमा थिएँ । त्यसैले यो वर्षको तीजमा धेरैवटा दर खाने कार्यक्रममा सहभागी हुन पाइँन । भोलि (शनिबार) मैले घरमै दर खाने कार्यक्रम राखेकी छु । साथीभाईबीच ‘गेट टुगेदर’ गरेर रमाइलो गर्ने भएकाले मलाई तीज निकै महत्वपूर्ण लाग्छ ।
खासगरी तीजमा चुरा, सारीलगायतका गिफ्ट किनेर दिइन्छ । म पनि त्यसै गर्छु । आफ्ना लागि भने पूजाका सामानहरु मात्रै किनेकी छु । तीजलाई नै भनेर कहिल्यै पनि गहना किन्दिनँ । तीजको व्रत वस्न थालेको २५ वर्ष भयो । सुरूका २/३ वर्ष पानी पनि नखाई व्रत बसेकी थिएँ । तर अचेल पानी र जुस भने खान्छु । राति पूजा गरेर बत्ति बालेपछि फलफूल खान्छु ।
मेरो मुमा-बुबा बितिसक्नु भएकाले तीजमा माइत जाने गरेकी छैन । माइतीबाट पनि म आफ्नै घरमा बोलाउँछु । हामी नन्द, आमाजू, देउरानी, जेठानी सबैजना एकैठाउँमा बसेर तीज मनाउने गर्छौं ।
तीजको व्रत भनेको पहिलेदेखि चलिआएको धार्मिक आस्था पनि हो । म यस्तो संस्कार र आस्थालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्छु । पहिले गाउँघरमा महिला दिदीबहिनीहरु तीजमा गीत र गितीकथामार्फत् आफ्ना दु:ख पोख्ने गर्नुहुन्थ्यो । तीज महिलाका लागि मेलमिलाप र दु:खसुख बाँड्ने अवसर पनि हो ।
अहिले आर्थिक सवलताका कारण तीजमा पनि ठूलो सेलिब्रेसन हुन थालेको छ । म यसलाई सकरात्मकरुपमा नै लिन्छु । सबैले आआफ्नो आर्थिक हैसियतअनुसार तीज मनाउनु पर्छ ।
तीज आउनुभन्दा १५ दिन अघिदेखि नै तीज मनाउने चलनलाई म सकारात्मक रुपमा लिन्छु । यो व्यापारिक दृष्टिले राम्रो हो भन्छु । किनभने तीजलाई लक्षित गरी विभिन्न एक्पो तथा मेलाहरु आयोजना हुन्छ । आर्थिक कारोबारहरु बढ्छन् ।
चुरा र धागो बनाउनेहरुले काम पाउँछन् । यसले उनीहरुको जीवनमा आर्थिक कारोबार बढ्छ । रोजगारी सिर्जना हुन्छ । त्यसैले तीज अगावै अग्रिम तीज मनाउनुलाई आर्थिक हिसाबले राम्रो मान्नुपर्छ जस्तो लाग्छ ।
तीज महिलाहरुका लागि अवसर पनि हो
हाम्रो माडवारी समूदायमा तीजको खासै चलन छैन । तर म साथीहरुसँग भेटेर सेलिब्रेट भने गर्छु । किनभने पछिल्लो समय तीज महिलाहरुको राष्ट्रिय पर्व बन्दै आएको छ । सबै समूदायले तीज मान्न थालेका छन् । यो सकरात्मक पक्ष हो । तीज कल्चरल्ली एसेप्टेबल भइसकेको छ । पहिले पहिले त १/२ दिन मात्रै दर खाने चलन थियो । अचेल त २ हप्ता अघिदेखि नै दर खाने चलन भइसकेको छ ।
धेरै ठाउँबाट दर खाने निम्ता आएको हुन्छ । कार्यव्यवस्तताले गर्दा निम्ता आएजति सबै ठाउँमा जान पाइँदैन । केही मिल्ने साथीहरुको समूहमा मात्रै दर खान जाने गरेकी छु । आज पनि म तीजकै कार्यक्रममा सहभागी भएर आएकी हुँ ।
तीजकै लागि भनेर विशेष किनमेल गर्ने गरेकी छैन । तीज आआफ्नो आर्थिक हैसियतअनुसार मनाउनु पर्छ । हाइ क्लासका महिलाहरु त बाहिर गइरहेका हुन्छ । तर, कतिपय महिलाका लागि भने तीज बाहिर निस्कने ठूलो अवसर पनि हो । त्यसैले मलाई तीज मनपर्छ ।
परम्परा संस्कृतिलाई जोगाउनु पर्छ
विषशेगरी तीज आफन्त साथीहरुसँग मिलेर मनाउने गरेको छु । भदौको पहिलो हप्तादेखि नै मलाई अग्रिम तीज लागिरहेको छ । जागिरेलाई अग्रिम तीज मनाउन भने समय मिलाउन गाह्रोे हुन्छ । परम्परालाई धान्ने गरी सबैसँग चाडपर्व मनाउनै पर्यो । मलाई सानैबाट तीज मनपर्ने दरखाने र व्रत बस्ने पहिलेबाटै गर्थे । आफ्ना लागि र साथीहरुलाई तथा परिवारका महिला सदस्यहरुलाई उपहार दिन भनेर पहिरन र श्रृंगारका सामानहरु किनेको छु । नयाँ गहना भने म तीजमा बनाउँदिन । अहिले धेरै गहना लगाएर हिड्ने समय नै छैन ।
म १८ वर्षको हुँदादेखि तीजको व्रत बस्न थालेकी हुँ । मेरो बिवाह हुदाँ म २० वर्षको थिएँ । अहिलेसम्म २८ वटा तीजमा व्रत बसेकी छु । त्यसमा ६/७ पटक त पानी पनि नपिइ निर्जला व्रत बसेको छु । अरु भने शरीरले सकेसम्म पानी नखाई व्रत बस्छु ।
हामी पढेलेखेका मान्छेहरुले बुझेर आफ्नो परम्परा संस्कृतिलाई जोगाउनु पर्छ । दैनिक व्यस्त जीवनबाट १/२ दिन भए पनि टाढा भएर आफन्त साथीहरुसँग पनि रमाइलो गर्दा सामाजिक भइन्छ । धेरै तडकभडक नगरी सामान्य तरिकाले अग्रिम तीज मनाउदाँ केही हुँदैन । दिदीबहिनी, छोरी/बेटीहरु धेरै हुनेले एकै दिनमा नै दर खाने भनेर समय मिलाउन नसक्न सक्छन् । उनीहरूका लागि अग्रिम तीज मनाउने प्रचलन बढेको हो । अग्रिम तीज मनाउँदा फाइदा पनि छ । आर्थिक परिचालन हुन्छ, व्यापार बढ्छ । अन्य बेलामा भन्दा बैंकहरुबाट पनि धेरै पैसाको कारोबार भएको हुन्छ ।
राष्ट्र बैंकले तीजको दिन १ दिन महिला कर्मचारीलाई सरकारी बिदा दिँदै आएको छ । त्यसदिन राष्ट्र बैंकबाट करिब २ सय ४० जना महिला कर्मचारी बिदामा बस्न पाउँछन् । हामी महिला कर्मचारीलाई राष्ट्र बैंकका कर्मचारी युनियनहरुले दर खुवाउने चलन छ । यो वर्ष पनि राष्ट्र बैंक कर्मचारी संघ र वित्तीय क्षेत्रका कर्मचारी संघले हामीलाई दर खुवाइसक्नु भयो । पारिवारिकरूपमा भने परिवारका सदस्य र साथीसँग मिलेर दर खाने कार्यक्रममा सरिक भइरहेकी छु । साथै राष्ट्र बैंकका महिला कर्मचारी मिलेर पनि भेटघाट कार्यक्रम आयोजना गर्ने भनेर योजना समेत बनाएका छौं ।
आफ्नै लागि तीजको व्रत बस्छु
म सानैदेखि तीज मनाउँथे । मेरो १५ वर्षकै उमेरमा बिवाह भएको थियो । बिवाहपछिका केही वर्ष म पतिको दीर्घायुको कामना गर्दै पानी पनि नखाइ व्रत बसेँ । तर केही वर्षयता भने आफ्नो स्वास्थ्यको ख्याल गर्दै पानी तथा जुस र साँझमा फलफुल खाएर तीजको व्रत बस्दै आएकी छु । यस वर्षको तीजमा भने मैले आफ्ना लागि भन्दा पनि परिवारका सदस्य र साथीका लागि कपडा र श्रृंगारका सामग्री किनमेल गरेकी छु ।
कार्यालयको कामले फुर्सद नहुँदा मलार्ई अग्रिम दरका कार्यक्रमको रौनकले अझै छोएको छैन । शनिबार बिदाका दिनमा भने केही तीज विषेश कार्यक्रमहरुमा सरिक हुने योजना बनाएकी छु । बैंकमा डिपार्टमेन्ट अनुसार पुरुष कर्मचारीले महिला कर्मचारीलाई दर खुवाउँदै आएका छन् । साथै बैंकका स्टाफ नै मिलेर कुनै रेष्टुराँ वा अन्त कतै गएर तीज मनाउँने गर्छाैं ।
तीजमा बिवाहित महिलाहरु पतिको दीर्घायुको कामना र अबिवाहित महिलाहरु राम्रो श्रीमान पाउने अपेक्षा गर्दै व्रत बस्ने गर्दछन् । म भने व्रत अरुका लागि नभइ आफ्नै स्वास्थ्यका लागि बस्नु पर्छ भन्छु । तीजदेखि बाहेक पनि महिनामा १/२ पटक व्रत बस्दै आएकी छु ।
पछिल्लो समय तीजको नाममा भित्रिएका विकृतिले गर्दा सामान्य आयस्तर भएका महिला र उच्चआयस्तर भएका महिलामा छुट्टिनुका साथै मनमुटावको भावना पनि सिर्जना भएको छ । सामाजमा नराम्रो असर नपर्ने गरी चाडपर्व मानउँदै आफ्नो परम्परालाई अर्को पुस्तासम्म पुर्याउनु पर्छ भन्ने मान्यता पनि राख्छु ।
तीजमा माइत जान मलाई कुनै समस्या छैन । मेरो घर र माइत नै काठमाडौंको ज्ञानेश्वरमा छ । घरबाट माइत जान ५ मिनेट पनि लाग्दैन् । तीजमा सबैभन्दा धेरै रामाइलो माइत गएर आमाको हातले बनाएको खानेकुराका परिकार खान पाउँदा असाध्यै रमाइलो लाग्छ ।
जिम्मेवारी ठूलो भएकाले तीज लाग्न पाएको छैन
नेपालमा मनाइने सबै चाडपर्वलाई म उत्तिकै मान्यता दिएर मनाउने गर्छु । सानैदेखि दर खाएर तीज मनाउन सुरू गरेको सम्झना अझै छ । तर व्रत भने ठूलाे भएपछि मात्रै बस्न थालेकी हुँ । पछिल्ला वर्षहरुमा १/२ वटा दर खाने कार्यक्रमहरुमा सरिक भएकी थिए । तर यो वर्ष भने अहिलेसम्म अग्रिम तीजको रौनकले छोएको छैन ।
कामको व्यवस्ताले गर्दा पनि त्यसतर्फ ध्यानै जान पाएको छैन । मैले तीज मनाउने भनेको २ दिनमात्रै हो । अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बसेपछि मेरा लागि तीजको राैनक सकिन्छ । कामको व्यस्तता यति धेरै हु्न्छ कि अग्रिम तीज मनाउन फुसर्द निकाल्न गाह्रो हुन्छ । त्यसैले अरू महिलाले अग्रिम तीज मनाएको देख्दा रहर भने लाग्छ ।
चाडपर्वमा रमाउनेभन्दा पनि आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राख्ने हुनाले अग्रिम तीज मनाउन पाएकी छैन ।
आजसम्म व्रत बसेकी छैन
गत बुधबार साँझमात्रै हामीले अफिसका कर्मचारीहरुलाई तीजको दर खाने कार्यक्रम आयोजना गरेका थियौं । अफिसकै कामले बाहिरतिर हिँड्नु परेर र व्यस्त भएर होला मलाई यो वर्ष अरु महिलाहरुलाई जस्तो अग्रिम तीजको रौनकले छोएको छैन । विगतका वर्षहरुमा साथीसँग मिलेर दर खाने कार्यक्रम बनाउने गर्थ्याै ।
सानैदेखि तीजमा आफन्त र परिवारको भेटघाट मनपथ्र्यो । दर खाने कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो लाग्थ्यो । परिवारका सदस्यबीचको भेटघाट गर्ने संस्कृति अनुसार नै हामी पनि फुपूहरुलाई बोलाउछौँ । मलाई तीजमा रातो साडी लगाउन असाध्यै मनपर्छ । तर तीजमा व्रत भने म आजसम्म पनि बसेकी छैन ।
तीजको लागि नै भनेर म हरेक वर्ष नयाँ पहिरन गहना तथा श्रृंगारका सामानहरु किन्ने गर्छु । यो वर्ष पनि रातो साडी, कुर्ता र त्यसमा लगाउने गहनाहरु किनेकी छु । परिवारका सदस्य साथीहरु र अफिसका स्टफहरुलाई दिन भनेर केही श्रृंगारका सामानहरु किनेको छु ।
अन्य क्षेत्रका महिलाहरुलाई जस्तो बैकिङ क्षेत्रका महिलाहरुलाई अग्रिम तीज मनाउन गाह्रो हुन्छ । अग्रिम तीजको कार्यक्रम छ भन्दैमा बैंकले बिदा दिदैनन् । बिदा पाउने भनेको १ दिनमात्र हो । तीजको दर खाने दिनमात्रै दर खानुपर्छ भनेर म भन्दिन । धेरै ठाँउमा पुग्नुपर्ने हुन्छ । अलिक अगाडि साथीहरू दर खाने काम सकिएमा तीजको दर खाने दिन परिवारसँग मात्र बस्न पाइन्छ । यसलाई विकृतिभन्दा पनि समय अनुसारको परिवर्तन हो भनेर हाम्रो सोच पनि बदल्नुपर्छ ।
तीजको खर्च जोगाएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ
म अबिवाहित हुदाँदेखि नै दर खाने र व्रत बस्ने गर्थे । बिवाहपछिका केही वर्षसम्म पानी पनि नखाई व्रत बसे तर अहिले भने पानी, जुस तथा फलफुलसम्म खाएर व्रत बस्ने गर्छु
हामी महासंघका महिला उद्यमीहरुले भदौ ५ गते सामान्य तवरले तीज मनायौ । बोर्ड मिटिङ पनि भएकाले त्यहीदिन नै हामीले दर खाने कार्यक्रम राखेका थियौ । तीज भनेको त महिलाहरुले वर्ष दिनभरीको दुखेसो माइतमा गएर सानैदेखिका साथीहरुसँग गीतका माध्यमबाट पोख्नु हो भनेर पुर्खाहरुले सुरू गरेका हुन् ।
तर आजभोलि त १ महिना अगाडिबाटै सहरका पार्टि प्यालेस र रेष्टुराँ तिर भड्किला गीतहरु चर्को स्वरमा बजाएर, रक्सी खाएर मनाउन थालेका छन् । जुन राम्रो होइन ।
महिलाहरु तीजलाई नै भनेर अनावश्यक खर्च गरिरहेका छन् । त्यो खर्च जोगाएर उत्पादनमुलक ठाँउमा लगानी गर्नुपर्छ । सानो भएता पनि उद्यम तथा व्यापार गरी उद्यमी व्यवसायी बन्नतर्फ महिलाले सोच्नुपर्छ । परम्परालाई अगाडि बढाउदै लैजानुपर्छ । तर परम्पराका नाममा भड्किलो भने हुनुहुँदैन ।