लघुवित्तको मर्जर प्रकृया सुस्ताउँदै, राष्ट्र बैंकको नियम अपुग भएको गुनासो



काठमाडौं । तीव्ररुपमा मर्जर तथा प्राप्ती तर्फ आकर्षित लघुवित्त संस्थाहरु पछिल्लो समय भने सेलाएका छन् । मौद्रिक नीतिमा राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्तहरुलाई सोच अनुरुपको नीतिगत व्यवस्था तथा सुविधा नदिएको कारण लघुवित्तहरुले हाल मर्जरमा चासो नदेखाएका हुन् ।

आर्थिक बर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक हुनु भन्दा अगाडि राष्ट्र बैंकले सरोकारवाला व्यक्ति तथा संघ संस्थाहरुसंग सुझाव मागेको थियो । सो क्रममा लघुवित्तहरुले लघुवित्त क्षेत्रको सवलिकरणका लागि पुँजीवद्धिको माग सँगै संस्थाको संख्या घटाउने नीतिको पनि माग गरेका थिए ।

लघुवित्त संस्थाहरु आफ्नो माग मौद्रिक नीतिले समेट्ला भनेर सोहि अनुरुपको तयारीमा जुटेका थिए । राष्ट्र बैंकले लघुवित्तहरुको पुँजी वृद्धि सम्वन्धी नीतिगत व्यवस्था नै नगरेकाले नै हाल लघुवित्तहरुको मर्जरको रफ्तार घटेको लघुवित्त बैंकर्स संघका अध्यक्ष राम चन्द्र जोशीले बताए ।

‘तोकेर नै यति पुँजीवृद्धि गर्नुस् भन्छ राष्ट्र बैंकले भनेर केही लघुवित्तहरु मर्जर प्रकृयामा अगाडि बढेका थिए’ जोशी भन्छन्, ‘स्वेच्छाले पुँजी बढाउन, मर्जरमा जान भनेर राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरे पश्चात लघुवित्तहरु मर्जरमा रफ्तार घटेको हो ।’

भइरहेको पुँजीमा नै व्यवसाय संचालन गर्न पाउने हुदाँ लघुवित्तहरु मर्जरबाट पछि हटेको उनको भनाई छ । मर्जरमा जाने लघुवित्तहरुलाई राष्ट्र बैंकले खासै सुविधाहरु नदिएको गुनासो समेत अध्यक्ष जोशीको हो ।

ग्रामिण भेगका जनताको आर्थिक जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले राष्ट्र बैैंकबाट ‘घ’ वर्ग को बैंकले कारोबार गर्न संचालनको अनुमति पाएका लघुवित्तहरु हाल नेपाल ९२ वटा रहेका छन् । यि लघुवित्तहरु १ जिल्ला कार्यक्षेत्र देखी राष्ट्रियस्तर सम्म कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रवाह गरिरहेका छन् ।

हाल लघुवित्तहरुको चुक्ता पुँजी १० करोड रहेको छ । वित्तीय जोखिम लघुवित्तमा बढी हुने उल्लेख गर्दै लघुवित्त संस्थाहरुले राष्ट्रियस्तरका लघुवित्त ६० करोड र क्षेत्रियस्तरका लुवित्तलाई २० करोड सम्म पुँजी अनिवार्य पुर्याउनै पर्ने व्यवस्था मौद्रिक नीतिले गरिदियोस् भनेर माग गरेका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा मर्जरमा जाने लघुवित्तलाई तोकिएको पुँजीवृद्धिमा समय थप गरिने, कुलिङ पिरियड नलगाउने, कर्मचारीहरुको तलबलाई संस्थामा नै निक्षेपको रुपमा जम्मा गर्न मिल्ने र कर्जा लगानीमा समेत सुविधा दिने मौद्रिक नीतिमा नीतिमा उल्लेख छ ।

मौद्रिक नीति सार्वजनिक हुनुपुर्व राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले सार्वजानिक कार्यक्रममा लघुवित्तको संख्या बढी भएको र लघुवित्तहरु पनि मर्जर भएर विकास बैंक सो सहर हुनुपर्ने बताउर्दै लघुवित्तहरु पनि मर्जरको पाटर्नर खोजेर मर्जर प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए ।

सोही अनुसार, लघुवित्तहरुले पनि मौद्रिक नीति भन्दा अगाडि नै मर्जरको प्रक्रिया अघि बढाएका हुन् । मौद्रिक नीति भन्दा २१ वटा लघुवित्तहरुले मर्जर तथा प्राप्तीका सहमति गरि आवश्यक प्रकृया अगाडि बढाई सकेका छन् भने धेरैले राष्ट्रबाट एकिकृत कारोबारको स्वीकृति समेत पाईसकेका छन् । चालु मौद्रिक नीति साउन ८ गते राष्ट्र बैंकले सार्वजनिक गरेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु पुर्व नै २० वटा लघुवित्तहरुले मर्जर तथा प्राप्तीको सहमति गरि एकिकृत कारोबारको प्रकृयामा थिए । मौद्रिक नीतिमा लघुवित्तको चुक्तापुँजी तोकिएर आउला भनेर हतारमा मर्जरको प्रकृया शुरु गरेका लघुवित्तहरु मौद्रिक नीतिमा लघुवित्तहरुका लागि गरिएको नीतिगत व्यवस्थाका कारण पश्चात पछुताएका छन् ।

राष्ट्र बैंकले मर्जरमा खासै सुविधाहरु नदिए कै कारण मौद्रिक नीति भन्दा अगाडि उत्साहित भएर मर्जरका पाटर्नर खोजिरहेका लघुवित्त संस्थाहरु पनि चुपचाप भएका हुन् । मौद्रिक नीति सार्वजनिक भएको १ महिना भइसकेको छ । यो अवधी भित्रमा २ वटा लघुवित्त संस्थाहरु, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाले गत साउन १९ गने मर्जरको सहमति गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि निवेदन दिएको हुन् ।

यस भन्दा बहेकका १९ वटा लघुवित्तहरुले मौद्रिकनीति सार्वजनिक हुनु पुर्व नै मर्जरको सहमति गरि राष्ट्र बैंकमा स्वीकृति लिएर एकिकृत कारोबारको प्रकृया रहेका छन् ।

मौद्रिक नीतिभन्दा अगाडि मर्जरको सहमति गरेका लघुवित्तहरु

१. विजया लघुवित्त संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न राष्ट्र बैंकमा आवेदन दिएको छ । यि लघुवित्तको प्राप्तीे स्वीकृती राष्ट्र बैंकले हाल सम्म दिएको छैन ।

२.सुर्यदय लघुवित्त र त्रिलोक लघुवित्त संस्था आपसमा मर्जर हुने भएका छन् । यि दुई संस्था मर्जर भएर सुर्यदय लघुवित्त वित्तीय संस्थाको नामले लघुसेवा प्रवाह गर्ने निश्चय गरि सैद्धान्तिक स्वीकृतीका लागी राष्ट्र बैंकमा गत अषाढ २५ गते आवेदन दिएका हुन् । राष्ट्र बैकमा यि संस्थाहरुको सैद्धान्तिक स्वीकृतीको प्रकृया चलिरहेको छ ।

३. एनआरएन लघुवित्त वित्तीय संस्था र रामरोशन लधुवित्त वित्तीय संस्थाले आपसमा मर्जर गर्न गरि सम्झौता गरिसकेका छन् । मर्जरपछि एनआरएन लघुवित्त संस्थाको नामले एकिकृत कारोबार गर्ने गरि तीन लघुवित्त संस्थाले मर्जरको सम्झौता गरेका हुन् ।

४. आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि सहमति गरिसकेका छन् । गत जेठ २२ मा मर्जरका लागि दुई वित्तीय संस्थाहरुबीच सहमति भएको थियो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामले एकिकृत कारोबार गर्नेछन् ।

५. सारथी लघुवित्त वित्तीय संस्था र सत्यवती लघुवित्त वित्तीय संस्थाले पनि मर्जरको लागि सम्झौता गरिसकेका छन् । गत जेठ ६ गते मर्जरका लागि सम्झौता गरेका यी दुई संस्थाले मर्जरपछि संस्थाको नाम सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्नेछन् ।

६. कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले पनि मर्जरको लागि सहमति गरिसकेका छन् । गत जेठ ५ गते यी दुई संस्थाले मर्जरका लागि आपसी सहमति गरेका हुन् । मर्जरपछि जनकालिका लघुवित्त वित्तीय संस्थाको नाममा कम्पनीले कारोबार गर्नेछन् ।

७. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, नागबेली लघुवित्त विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि मर्जरका लागि सहमति गरिसकेका छन् । गत बैशाख ३० गते यी संस्थाहरुबीच मर्जरका लागि सम्झौता भएको थियो । मर्जरपछि किसान लघुवित्त वित्तीय संस्थाको नामबाट गर्ने जनाइएको छ

८. वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाबीच पनि मर्जरका लागि सहमति भैसकेको छ । यी दुई संस्थाहरुले गत फागुन २४ गते मर्जरका लागि सम्झौता गरेका थिए । मर्जरपछि वोमी लघुवित्त वित्तीय संंस्थाको नाममा एकिकृत कारोबार गर्नेछन् ।

९. यसअघि साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । साधना लघुवित्त वित्तीय संस्थाको नामले एकिकृत कारोबार गर्ने तयारीमा यि संस्थाहरु रहेका छन् ।


क्लिकमान्डु