इजरायल-हमास युद्ध ६ साताका लागि रोकिने, रिहा होलान् विपिन जोशी ? (भिडियो)
एजेन्सी । मध्यपूर्वमा १ वर्षभन्दा लामो चलेको युद्ध रोकिने भएको छ । इजरायल-हमासबीचको युद्धमा कतारले मध्यस्तता गरेसँगै ६ बुँदे सहमति कायम भएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले आक्रमणमा गर्दा इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी हुन पुगेका १० जना नेपालीको पनि ज्यान गएको थियो । नेपाली युवा विपिन जोशी अझै हमासको नियन्त्रणमा रहेको जनाइएको छ । तर, अब इजरायल हमासबीचको युद्ध रोकिने भएसँगै जोशी फिर्तिको सम्भावना बढेको छ ।
४६६ दिनको भीषण युद्धपछि इजरायल-हामास युद्धविरामले मध्यपूर्व केही शान्त हुने देखिएको छ कतारको मध्यस्ततासँगै । ७ अक्टोबर २०२३ बाट सुरु भएको इजरायल-हमास युद्धमा शान्ति कायम हुनेछ ।
सन् २०२४ जनवरी १५ जनवरीमा भएको वार्ताका क्रममा ६ बुँदामा सहमति भएसँगै मध्यपूर्व युद्धबाट बाहिरिने भएको हो । यसअघि भएको ६ हप्ताको युद्धविराम सकिनै लाग्दा दोहामा भएको वार्ताले फेरि ६ हप्ताका लागि मेडिटेरियन सागर छेउका इजरायल, गाजा, लेबनान, सिरियामा शान्ति छाएको छ ।
कतारमा भएको शान्ति वार्तामा मुख्य ६ वटा बुँदामा सहमति भएका छन् । गाजा क्षेत्रमा युद्ध नगर्ने, प्यालेस्टाइन क्षेत्रबाट इजरायलले आफ्ना सेना फिर्ता लानुपर्ने, विस्थापित प्यालेस्टेनीहरु राज्यको उत्तर क्षेत्रमा फर्कने, हमासले ३३ बन्धक छाड्नु पर्ने, इजरायलले १ हजार प्यालेस्टेनी कैदी छाड्नु पर्ने र दैनिक ६ सय ट्रक मानवीय सहायताका ट्रक युद्ध क्षेत्रमा पुर्याउनु पर्ने शर्तहरु छन् । यी सहमति आइतबारबाट लागु हुनेछन् ।
नोभेम्बरमा कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा एक साताका लागि अस्थायी युद्धबिराम भएको थियो । त्यसपछि सम्झौता अनुसार ७९ जना बन्धक रिहा भएका थिए । त्यही मौकामा थाइल्याण्डले २३, रुसले २ र फिलिपिन्सले आफना १ जना नागरिकलाई मुक्त गराउन सफल भएपनि हमास नियन्त्रणमा रहेका विपिन जोशीलाई रिहा गराउने कूटनीतिक पहल गर्न नेपाल सफल भएन ।
एक हप्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दुत स्टिभ विट्कफले आपतकालिन इजरायल भ्रमण गरेका थिए । जुन भ्रमणले शान्ति वार्तामा महत्वपूर्ण भुमिका खेलेको अनुमान छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रमलाई शान्ति वार्ता पहलका लागि धन्यवाद दिएका छन् ।
कसरी भयो त युद्धको सुरुवात ?
हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए । जसमा १० नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो । हमासले अझै करिब ९४ जनालाई गाजामा बन्धक बनाइरहेको बताइएको छ । र विपिन जोशी अझै हमासको कब्जामा रहेको अनुमान गरिएको छ ।
सन् २०२३ को अक्टोबर ७, शनिबारको दिन हमासका लडाकुहरुले रकेटसँगै इजरायली सिमामा घुसेर आक्रमण गरेका थिए । प्यालेस्टाइनीलाई रोक्न लगाइएका पर्खाल डोजरले तोडेर, काँडेतार काटेर हमास लडाकु इजरायलभित्र घुसेका थिए । साथै प्याराग्लाइडिङ गर्दै आकाशबाट र डुंगाहरूको प्रयोग गरेर समुद्रबाट हमासका लडाकु इजरायलका विभिन्न सहरहरूमा पुगेका थिए । आफ्ना लडाकु इजरायलमा घुसेको थाहा नपाओस् भनेर हमासले केही समयभित्रै २००० भन्दा बढी रकेट प्रहार गरको थियो ।
अर्को दिन नै इजरायलले हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको थियो । त्यसयता १५ महिनामा इजरायली सेनाको हवाई र स्थल आक्रमणमा ४६ हजार ७ सय ७ जनाको प्यालेस्टेनीहरुको मृत्यु भएको र १ लाख १० हजार २ सय ६५ जना सयभन्दा बढी घाइते भएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर मानवीय क्षती यो भन्दा धेरै भएको अनुमान गरिएको छ ।
मारिनेमा आधाभन्दा बढी महिला र बालबालिका रहेको हमासले उल्लेख गरेको छ । १६ हजारभन्दा बढी बालबालिकाको ज्यान गएको तथ्याङ्क छ ।
१ सय २८ जना त पत्रकार मारिए भने २ जना बेपत्ता छन् । एक हजार एक सय ५१ स्वास्थ्यकर्मी पनि मारिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस्तै ७२८ इजरायली सैनिक पनि मारिएको तथ्यांक छ । इजरायली आक्रमणबाट गाजाका ९० प्रतिशत अर्थात करीब १९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
इजरायलले गरेको रकेट, क्षेप्यास्त्र र बम प्रहारबाट गाजा क्षेत्र भग्नावशेषमा परिणत भएको छ । गाजाको उत्तरी र दक्षिण क्षेत्रका शहरहरु भग्नावशेषमा परिणत भएका छन् । इजरायलको मिसाइल र रकेट आक्रमणका कारण गाजाका घरहरु जमिनमा मिसिएका छन् । अस्पतालहरुसमेत क्षतविक्षत भएका छन् ।
गाजा क्षेत्रका ५९ प्रतिशत भन्दाबढी भवनहरुमा क्षति पुगेको वा ध्वस्त भएको बीबीसीले उल्लेख गरेको छ । हाल ९१ प्रतिशत मानिसहरुलाई तत्काल खानाको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
आक्रमणका लागि पश्चिमा देशले इजरायललाई सैन्य सहयोग दिइरहँदा मध्यपूर्वको शक्ति राष्ट्र इरानले पनि हमासलाई सहयोग गरेको थियो । हमास मात्र होइन इरान समर्थित अन्य लडाकू समूहहरु लेबनानको हिजबुल्लाह समूह र यमनको हुथी विद्रोही समूहले पनि हमासको समर्थनमा समय समयमा इजरायलमाथि रकेट प्रहार गरेका थिए ।
त्यसको जवाफमा इजरायलले ३१ जुलाई २०२४ मा हमासका राजनीतिक प्रमुख इस्माइल हनियेहलाई इरानको राजधानी तेहरानमा रकेट प्रहार गरेर मारिदिएको थियो । त्यसको दुई महिनापछि २ अक्टोबरमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह इजरायली आक्रमणमा लेबननको राजधानी बेरुतमा मारिए । यसलाई इजरायलले आफ्नो ठूलो सफलता मान्यो ।
हमासका अन्य थुप्रै वरिष्ठ कमाण्डरहरु पनि इजरायली आक्रमणमा मारिइसकेका छन् । सेप्टेम्बर १७ र १८ मा इजरायली गुप्तचर निकाय मोसादले हिजबुल्लाहका लडाकुले प्रयोग गर्ने पेजर र वाकीटाकी एकसाथ विस्फोट गराउँदा ३७ जनाको मृत्यु भयो भने दुई हजार नौ सयभन्दा बढी घाइते भए ।
इजरायलले प्यालेस्टाइनमा आफ्ना सम्पूर्ण सैनिक बल लगाएर आक्रमण गर्यो । त्यतिमात्र होइन इजरायलले आफ्ना सेना दक्षिणी लेबनानमा पनि परिचालित गरेको थियो भने राजधानी बेरुतमा इजरायली सेनाले भिषण हवाई आक्रमण गरेको थियो । जसबाट लेबनान पनि गाजा जत्तिकै क्षति भएको अनुमान छ ।
उता हमास प्रमुख हनिया र हिजबुल्लाह प्रमुख नसरल्लाहको हत्याको प्रतिकारमा भन्दै इरानले गएको अक्टोबर १ को रातमा इजरायलमाथि करीब २ सयवटा ब्यालिष्टिक क्षेप्यास्त्रले भिषण आक्रमण गरेको थियो । त्यसअघि अप्रिलमा पनि इरानले इजरायललक्षित करीब तीन सय क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । गाजाको वेस्ट ब्यान्कबाट हमासको उक्साहटमा शुरु भएको इजरायल–गाजा युद्धले लेबनान र इरानसम्म असर पुगेको छ । तर इजरायल-प्यालेस्टाइन युद्धले यसअघि पनि विश्वलाई निरास बनाइ सकेको छ ।
इजरायल र हमासबीचको सन् २०१४ मा पनि ठूलो युद्ध भएको थियो । जसमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । त्यसमा १४६२ निहत्था नागरिक थिए । इजरायलीतर्फ ६७ सैनिक र ६ निहत्था नागरिक मारिएका थिए । सन् २०२१ मा पनि यी दुई देशबीच ११ दिन लामो संघर्ष चलेको थियो । जसमा २५६ जना मारिएका थिए । प्यालेस्टाइनमा रहेका हमास र फतहका कारण पनि यो क्षेत्रमा बेलाबेलामा ठूलो भिडन्त हुने गरेका छन् । यी दुई प्यालेस्टाइनका उग्रवादी समूह हुन् ।
गाजा क्षेत्रमा आफ्नो प्रभुत्वका लागि यी दुई समूहबीच बेला-बेलामा हुने संघर्षले पनि यो क्षेत्रमा तनाव उत्पन्न हुने गरेको छ । २००६ यता प्यालेस्टाइनमा संसदीय निर्वाचन हुनसकेको छैन । १७ अक्टोबर २०१७ मा इजिप्टको राजधानी कायरोमा यी दुईपक्षबीच लामो समयदेखिको मतभेद अन्य भएको थियो तर सन् २०२१ मा घोषणा भएको चुनावमा हमास लड्न तम्तयार थियो । तर राष्ट्रपति अब्बासले अन्तिम समयमा चुनाव स्थगन गरेका थिए ।
इजरायल पश्चिमा त्यसमा पनि अमेरिकाको नजिक छ भने प्यालेस्टाइनलाई अरबी देशहरुको समर्थन छ ।
१०० वर्ष पूरानो युद्धको जरो
मध्यपूर्वमा रहेको ओट्टोमान साम्राज्यका सम्राटलाई पहिलो विश्वयुद्धमा पराजित गर्दै बेलायतले प्यालेस्टाइन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसताका त्यस क्षेत्रमा यहुदीको संख्या निकै न्यून थियो भने अरबीहरुको बाहुल्य थियो । बेलायतले यहुदीका लागि प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्रिय आवास बनाइदिएको थियो । बेलायतको यो कदमसँगै त्यहाँ दुई समुदायबीच तनाव सुरु भएको मानिन्छ । यहुदीहरूको लागि त्यो स्थान पुर्ख्यौली थलो थियो । तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी छोडेनन् र उक्त कदमको विरोध गरे । सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहूदीहरूको सङ्ख्या बढ्यो । दोस्रो विश्वयुद्धको नरसंहारपछि युरोपमा खुसगरि हिटलरको उत्पीडनमा परेका यहुदीहरु मातृभूमि खोज्दै त्यहाँ पुगे । त्यसपछि यहूदी र अरबीहरूबीच अनि ब्रिटिश शासन विरुद्ध हिंसा बढ्न थाल्यो ।
सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई विभाजन गरी यहुदी र अरबी राज्य बनाएर दुई भागमा विभाजन गर्ने र जेरुसेलमलाई यहुदी र अरबीमा राज्यमा नराखी छुट्टै अन्तर्राष्ट्रिय शहर बनाउने प्रस्तावमा मतदान भयो । यो प्रस्तावको समर्थनमा यहुदी नेताहरु थिए । तर अरबी पक्ष यसको विपक्षमा उभियो । प्रस्तावको विपक्षमा रहेका अरबी समूहले ६ मार्च १९४८ मा यहुदी लडाकुविरुद्ध हमला गरे । यो नै अरबी र यहुदीबीच पहिलो युद्ध थियो । त्यसपछि यहूदी नेताहरूले इजरायल स्थापनाको घोषणा गरे । समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८ मा त्यहाँबाट बाहिरिए ।
त्यसपछि त्यहाँ ठूला-ठूला युद्ध भए । युद्ध सुरु भएपछि हजारौं प्यालेस्टाइनीहरु आफ्नो भूमि छोडेर भागेका थिए । अधिकांश भूभाग इजरायलले आफ्नो नियन्त्रणमा लिएको थियो ।
जोर्डनले वेस्ट ब्यान्क र इजिप्टले गाजा कब्जा गरिसकेको स्थिति थियो । जेरुसेलम पनि पश्चिमी क्षेत्रमा इजरायली र पूर्वी क्षेत्रमा जोर्डनका सुरक्षाकर्मीले घेरिएको थियो ।
दशकौंसम्म त्यस क्षेत्रमा युद्ध जारी रह्यो । सन् १९६७ मा इजरायलले पूर्वी जेरूसेलम तथा वेस्ट ब्यान्क मात्रै नभएर सिरियाको गोलन क्षेत्र र गाजा तथा इजिप्टको सिनाय प्रायद्वीपको केही भूभाग कब्जा गर्यो । इजरायलको हरेक युद्धमा अमेरिकाको समर्थन र प्रत्यक्ष सहयोग रहेको छ ।
प्यालेस्टाइन शरणार्थी तथा तीनका आफन्तहरु गाजा तथा वेस्टब्यान्कमा बस्छन् । कतिपयहरु जोर्डन, सिरिया र लेबनानमा पनि बस्ने गरेका छन् । इजरायलले तिनीहरुलाई आफ्नो घर फिर्तीको लागि अनुमति अझै दिएको छैन । उनीहरुलाई फिर्ताका लागि अनुमति दिएमा यहुदी राज्यमा संकट उत्पन्न हुने तर्क इजरायलले गरिरहेको छ । वेस्टब्यान्क अझै पनि इजरायलकै कब्जामा छ । त्यसैकारण गाजाका दुई समूह हमास र फतेहले बेलाबेलामा इजरायलमाथि आक्रमण गर्ने गरेका छन् ।
इजरायलले जेरुसेलमको सबै भूभाग आफ्नो रहेको दाबी गर्छ । प्यालेस्टाइनले पूर्वी जेरूसेलम प्यालेस्टाइनको भविष्यको राजधानी रहेको दावा गर्छ । जेरूसेलम पनि विभाजन भयो जसमा पश्चिमी भाग इजरायली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डनको सेनाको नियन्त्रणमा ।
जेरूसेलमलाई अमेरिकाले मात्रै इजरायलको राजधानीका रुपमा मान्छ । शान्ति सम्झौता नभएका कारण दुवै पक्षले एक अर्का माथि आरोप लगाइनै रहे र त्यसपछिका दशकहरूमा युद्ध र तनावपूर्ण अवस्था रहिनै रह्यो ।
५० वर्ष यतादेखि हालसम्म त्यहाँ ६ लाख भन्दा बढी यहुदीको बसोबास छ । अन्तर्राष्ट्रिय कानुन अनुसार विवादित त्यस्ता इलाकामा बस्ती बसाउन पाइँदैन । राष्ट्रसंघको सुरक्षा परिषदमा यस विषयमा सवाल उठे पनि इजरायलले यस्ता प्रश्नलाई अस्वीकार गर्दै आएको छ ।