नयाँ शिक्षकलेसमेत २० वर्ष पढाएपछि आजीवन पेन्सन पाउने, मृत्यपछि पत्नी/पतिलाई

शिक्षक सेवामा पनि योगदानमा आधारित पेन्सन लागू



काठमाडौं । शिक्षक सेवा पनि योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा सामेल भएको छ । हालसम्म निजामति सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी सेवा र नेपाल विशेष सेवामा योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयनमा रहेकामा शिक्षक सेवामा पनि यस्तो प्रणाली लागु भएको हो ।

शिक्षक सेवा योगदानमा आधारित पेन्सन प्रणालीमा सामेल भएसँगै शिक्षकको मृत्यु भएमा पत्नी वा पतिले पनि निरन्तर पेन्सन पाउने भएका हुन् ।

२०७६ मा निवृत्तिभरण कोष ऐन लागु भएपछि त्यसयता जागिर सुरू गरेका कर्मचारीमा योगदानमा आधारित पेन्सन प्रणााली लागु भएको थियो । तर, यस्तो प्रणाली नयाँ शिक्षकको हकमा लागु भएको थिएन । अबदेखि नयाँ शिक्षकले पनि नयाँ निजामति कर्मचारी, सेनाप्रहरी झैं सुविधा पाउने भएका हुन् ।

ऐन आउनुअघि जागिर सुरू गरेका शिक्षकको हकमा भने उल्लेखित व्यवस्था लागु थियो भने नयाँ शिक्षक पेन्सनको सुविधाबाट बञ्चित भएका थिए ।

सरकारले जारी गरेको अध्यादेशले निवृत्तिभरण कोष ऐन, २०७५ संशोधन गर्दै नयाँ शिक्षकलाई अरू निजामति कर्मचारी बराबर मानेको हो । अध्यादेशले ऐनको दफा ९ को खण्ड (क) पछि (क१) थपेर शिक्षक सेवा सामेल गरेको हो ।

यससँगै अब शिक्षक सेवामा हुनेले निजामती कर्मचारी वा सेना प्रहरी झैं पेन्सनमा योगदान गर्नुपर्नेछ भने २० वर्षे सेवा अवधि पुरा गरेपछि आजीवन पेन्सन पाउनेछन् ।

योगदानमा आधारित निवृत्तिभरण योजना २०७६ मा सुरु भएको हो । जसअनुसार कर्मचारीको मासिक तलवबाट ६ प्रतिशतले हुन आउने रकम कट्टा हुन्छ र सो रकममा सरकारले शतप्रतिशत थप गर्नुपर्ने प्रावधान छ । बेतलवी बिदा, असाधारण बिदा वा निलम्बनमा परेको बेला यस्तो रकम कट्टा हुँदैन ।

व्यवस्थाअनुसार २० वर्ष वा सोभन्दा बढी सेवा अवधि पुरा गरी सेवाबाट अलग भएका शिक्षकले मासिक रुपमा आजीवन निवृत्तिभरण पाउँछन् । सेवा अवधि पुरा भएका शिक्षकको निधन भएमा उसको पति वा पत्नीले पारिवारिक निवृत्तिभरण पाउने व्यवस्था छ । कुनै शिक्षक भविष्यमा अयोग्य हुने गरी सेवाबाट बर्खास्त भएको अवस्थामा भने उसको कट्टी भएको रकम र त्यसको ब्याजमात्र उपलब्ध हुनेछ ।

सरकारले हरेक वर्ष पेन्सनमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आएपछि ५ वर्षअघि योगदानमा आधारित पेन्सन योजना शुरु गरिएको हो ।

कर्मचारीले मासिक रुपमा पाउने पेन्सनको रकम उसको जम्मा सेवा वर्षलाई अन्तिम तलबको रकमले गुणन गरी ५० ले भाग गर्दा आउने अंकबमोजिम हुन्छ ।

सरकारले कोषबाट निवृत्तिभरण पाउने कर्मचारीको निवृत्तिभरण रकममा प्रत्येक तीन वर्ष पुगेपछिको अर्को महिनादेखि खाइपाइ आएको निवृत्तिभरण रकमको १० प्रतिशतले हुन आउने रकम थप गरी भुक्तानी गरिनेछ । तर, यस्तो रकम पाँच पटकसम्म मात्र थप हुन्छ । २० वर्ष सेवा अवधि पूरा गरेको कुनै कर्मचारीको पेन्सन लिनु अगावै वा लिएपछि मृत्यु भएमा निजको परिवारलाई कर्मचारीले पाउने निवृत्तिभरणको ५० प्रतिशत रकम पारिवारिक निवृत्तिभरणको रुपमा दिइन्छ ।


क्लिकमान्डु