सिटिजन्स भर्चुअल क्रेडिट कार्डः बिनाब्याज ४५ दिन चलाउनुस् २ लाख ५० हजार रूपैयाँ



काठमाडौं । बैंकिङ सेवा लिइरहेका जोकोही क्रेडिट कार्ड प्रयोग गर्न डराउँछन् । एक त क्रेडिट कार्ड लिन र यसको शुल्क तिर्न भोग्नुपर्ने झमेला, अर्कातर्फ बिल नतिर्दा बेहोर्नुपर्ने जरिवाना, जहाँपायो त्यही नचल्ने वा चलाउन नमिल्ने र त्यसमाथि कतिपय व्यक्ति त क्रेडिट कार्डका लागि त योग्य नै नहुने ।

यी र यस्तै कारण, नेपालमा क्रेडिट कार्ड त्यति लोकप्रिय छैन । विदेशमा जोकोही बैंकका ग्राहक पनि भुक्तानीमा क्रेडिट कार्ड विकल्प रुचाइने गरेको छ । नेपालमा भने बैंकिङ सेवा वा डिजिटल आधुनिक युगमा अभ्यस्त भइसकेकाहरु माझ पनि क्रेडिट खासै रुचीको विषय बनेको छैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पनि हालसम्म देशका विभिन्न बैंकबाट २ लाख ९९ हजार वटामात्र क्रेडिट कार्ड सञ्चालनमा रहेका छन् । यो संख्या गत वर्षको कात्तिकभन्दा २ हजार कम हो । यसो त महिनामा मुस्किकले पौने ३ लाख ट्रान्जेक्सनमार्फत् २ अर्बको कारोबार हुने गरेको छ, क्रेडिट कार्डमार्फत् ।

नेपालमा क्रेडिट कार्डको उपयोग घट्नुका कारण शुल्कमात्र मात्र होइन, यसको उपयोगिता थाहा नहुनु र हरेक पल्ट बेहोर्नुपर्ने झमेला पनि हो ।

बैंकिङ उद्योगमा क्रेडिट कार्डको प्रयोगमा व्यापकता कसरी ल्याउने भन्ने बहस चलिरेकै बेला सिटिजन्स बैंक इन्टरनेसनलले भने नयाँ प्रयास गरेको छ । बजार ट्रेन्डभन्दा विपरित भएर सिटिजन्सले गरेको एउटा आँट हो, क्रेडिट कार्डको रिब्रान्डिङ । त्यो पनि भर्चुअल क्रेडिट कार्डको अवधारणा ल्याउनु ।

बैंकले गत भदौमा भुर्चअल क्रेडिट कार्डको अवधारणा सार्वजनिक गरेको थियो ।

सामान्यतयाः अरु क्रेडिट कार्ड लिन प्रथमतः बैंकले तोकेको योग्यता पुगेको हुनुपर्छ, कार्डको निश्चित सेवा शुल्क तिर्नुपर्छ, त्यसपछि कुन दिन बिल तिर्ने हो सो तय गरी दिमाग याद गर्नुपर्छ । त्यसमाथि आफ्नो लिमिट याद गर्नुपर्छ । भौतिक क्रेडिट कार्ड चलाउँदा आफ्नो लिमिटको कति रकम प्रयोग भयो भन्ने हेर्न पाइँदैन । भौतिक कार्ड भएकाले जहाँपायो त्यही चल्दैन । ब्रान्डेड पसल, मल र डिपार्टमेन्टल स्टोर नपुगेसम्म कार्ड प्रयोगमा आउँदैन । भौतिक कार्ड भएकाले हराउने डर हुन्छ, बोक्न बिर्सने सम्भावना हुन्छ ।

यी र यस्तै झमेला अन्त्य गर्दै सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्ड ल्याएको हो ।

के हो सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड ?
सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड डिजिटल बैंकिङ सेवामा नयाँ आयाम थप्दै ल्याएको नयाँ सेवा हो । सिटिजन्स भर्चुअल कार्ड भौतिक कार्ड झैं विशेषता भएको मोबाइल बैंकिङमा अनबोर्ड हुने नयाँ सेवा हो ।

बैंकले तलबबाट जीवन निर्वाह गर्नेहरुलाई लक्षित गरेर भर्चुअल कार्ड ल्याएको हो । भर्चुअल क्रेडिट कार्ड लिने ग्राहकको मोबाइल बैंकिङ एपमा एक नयाँ फिचर देखा पर्दछ । कार्डमा दिइने सीमा बैंकले प्रदान गरेको एक किसिमको कर्जा (लोन वा ऋण) हो ।

भर्चुअल कार्ड लिएपछि सम्पूर्ण विवरण मोबाइल बैंकिङ एपमै देखा पर्दछ । यो कार्ड जुनसुकै वस्तु तथा सेवा खरिदवापतको भुक्तानीमा उपयोग गर्न सकिन्छ । वस्तु तथा सेवा खरिदवापतको रकम तिर्ने बेला मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरिसके पछि भुक्तानीको विकल्पमा सिटिजन्स भर्चुअल क्रेडिट कार्ड राख्नुपर्ने छ । यसो गरेपछि नियमित ब्यालेन्सको सट्टा बैंकले दिएको क्रेडिटमा रकम घट्दै जान्छ ।

भर्चुअल प्रकृतिको भएका कारण, आफूले कति रकम प्रयोग गरें भन्ने पनि सहजै हेर्न सकिन्छ । भौतिक कार्डको विपरित आफ्नो क्रेडिट कार्डको बिलका लागि बैंकलाई सम्पर्क गरिराख्नु पनि पर्दैन ।

यसैगरी बिल भुक्तानी गर्न बैंक धाइराख्नु पनि पर्दैन । मोबाइल बैंकिङमै कुन मितिमा बिल तिर्ने भन्ने तय गरेर मेन ब्यालेन्सबाट आफैं रकम कटाइदिने गरी सेट पनि गर्न मिल्छ ।

सिटिजन्स बैंकले कार्डमार्फत् नेपाली ग्राहकलाई आधुनिक प्रविधिको प्रयोगबाट सहज, सुरक्षित, र प्रभावकारी बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत कार्डको उपयोग गर्न सक्ने भएकाले यसलाई प्रयोग गर्न कुनै भौतिक कार्डको आवश्यकता पर्दैन । यो सुविधा नेपालमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो ।

बैंकिङमा नयाँ प्रयोगले बैंक अफ द इयर
भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले २० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा पाउन सक्छन् । ग्राहकले सही तरिकाले उपयोग गर्न जाने यो रकम ४५ दिनसम्म बिनाब्याज प्रयोग गर्न सक्छन् । यदि समय सीमाभित्र बिल नतिरेमा २ प्रतिशत ब्याजदरमा ब्याज लिनेछ ।

कार्डको सीमा ग्राहकको आम्दानी र क्रेडिट रिभ्यूका आधारमा निर्धारण गरिने बैंकका क्रेडिट कार्ड विभाग प्रमुअ समिर अधिकारी बताउँछन् । ‘भर्चुअल कार्ड लिन निकै सजिलो छ, बैंकमा सामान्य प्रक्रिया पुरा गरेपछि मोबाइल बैंकिङमा भर्चुअल क्रेडिट कार्ड अनबोर्ड हुन्छ,’ अधिकारीले क्लिकमान्डुसँग भने, ‘बिल भुक्तानी कहिले गर्ने भन्ने तय गरेर अवधि सुरु भएको सुरुवातकालमै लिमिट बराबरको रकम चलाउने हो ४५ दिनसम्म ब्याज पनि तिर्नु पर्दैन ।’

विशेष गरी तलबमा जीवन निर्वाह गर्ने तर केही दायित्वहरु तलब आउनुपूर्व नै बहन गर्नुपर्ने व्यक्ति लक्षित गरेर यो कार्डको अवधारण अघि सारेको अधिकारी बताउँछन् ।

भर्चुअल क्रेडिट कार्ड लिन चाहने ग्राहकले बैंकमा भौतिक वा मोबाइल बैंकिङबाट नै आवेदन दिन सकिन्छ ।

बैंकले यस कार्डलाई ‘क्रेडिट कार्ड जहाँ पनि चल्छ, जता पनि चल्छ’ भन्ने नाराका साथ अघि सारेको अधिकारी बताउँछन् ।

‘अब क्रेडिट कार्ड प्रयोग गर्न सुपर मार्केट वा मल वा ब्रान्डेड पसल जानुपर्दैन,’ उनले भने, ‘चिया खाएको पैसादेखि खाद्यान्न किनेको पैसा पनि क्रेडिट कार्डमार्फत् तिर्न सकिन्छ, त्यो पनि सामान्य क्यूआर स्क्यान गरेको भरमा ।’

यो कार्ड ग्राहकको वित्तीय व्यवस्थापनलाई आधुनिक बनाउने र नगद–रहित क्रेडिट भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । फोन पेसँगको सहकार्यमा ल्याइएको यस कार्डले बैंकका ग्राहकलाई खर्च व्यवस्थापन गर्न मद्दत गर्दै विशेष लाभ प्रदान गर्दछ ।

सिटिजन्स बैंकका अनुसार हालसम्म २ हजार ५ सयको संख्यामा भर्चुअल क्रेडिट कार्ड वितरण भइसकेको छ । छोटो समयमै ग्राहकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको अधिकारी बताउँछन् ।

भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्न बैंकलाई वार्षिक ५ सय रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ ।

सिटिजन्स बैंकको यो कदम नेपाली वित्तीय क्षेत्रका लागि एक महत्वपूर्ण परिवर्तनको संकेत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल बताउँछन् । नेपाली बैंकिङमा यस्तो नयाँ अभ्यास अघि सारेकै कारण बैंकले सन् २०२४ को बैंक अफ द इयर प्राप्त गरेको छ । बेलायतको द बैंकर नामक पत्रिकाले वर्षेनी प्रदान गर्दै आएको यो उपाधि हाल गर्न भर्चुअल क्रेडिट कार्डले आधार थपेको पोखरेलको भनाइ छ ।

क्रेडिट कार्ड विभाग प्रमुख अघिकारीका अनुसार भर्चुअल क्रेडिट कार्ड जारी भएपछि हुम्ला, बैतडी लगायत ग्रामीण भेगबाट पनि यसको माग आएको छ ।

कर्जा लिने ग्राहकले कर्जाको बढीमा २.५ प्रतिशत, मुद्दती निक्षेप राख्ने ग्राहकले निक्षेपको आधा र तलबी खाताबाहक मासिक तलबको १.५ गुणासम्मको लिमिट भर्चुअल क्रेडिट कार्डमा पाउनेछन् ।


क्लिकमान्डु