सिमलताल पहिरो: ११ यात्रुको शव भेटियो, ७ वटा शवको पहिचान खुल्यो



चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका थप दुईवटा शवको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।

दुईवटा बसका ६५ यात्रुमध्ये हालसम्म ११ जनाको शव भेटिसकेको छ । तीमध्ये अहिलेसम्म ७ जनाको शव पहिचान भएको छ भने अन्य चार जनाको शव पहिचान भइसकेको छैन ।

सोमबार सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।

यही असार २८ गते बिहान ३:३० बजे नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बसलाई सडकमाथिबाट खसेको लेदोसहितको पहिरो त्रिशूली नदीमा बगाएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चार दिनदेखि नै यात्रु र बसको खोजी कार्य जारी राखेको छ । दुर्घटना भएकै दिन नदीको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको थियो । तर बंगलादेशबाट गोताखोर बोलाएर अत्याधुनिक प्रविधिको सहायताले खोजी गरिएको छ ।


क्लिकमान्डु