उडान प्रतिबन्ध खुलाएको बहानामा थप कडाइ, नियामक उल्टो बाटोमा: हेलिकप्टर सोसाइटी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमाथि मनसुन समयको बहाना तीन महिनादेखि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिरकरणले हेलिकप्टर कम्पनीहरूले मनसुनको समयमा स्लिङ, रेस्क्यु, माउन्टेन तथा साइटसिनसहितका उडानमा लगाएको प्रतिबन्ध बुधबारदेखि हटाएको छ ।

प्राधिकरणले एक सूचना जारी गरेर वायुसेवा कम्पनीहरूको उडान सुरक्षाका नाममा गरिएको प्रतिबन्ध हटाएको भए पनि त्यसपछि लगाएको सर्त थप कडा बनाइदिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरणले हेलिकप्टरको उडान सुरक्षाका लागि गरेको कडाइ मनसुन सकिएसँगै हटाएको बताएका छन् । उनले उडान सुरक्षाका लागि प्राधिकरणले सर्त तोकेर सम्बन्धित हेलिकप्टर कम्पनीलाई उडान गर्न दिएको पनि बताए ।

प्राधिकरणले स्लिङ फ्लाइट गर्ने पाइलट इन कमान्ड गन्तव्य र उडानमा विशेष जानकार हुनुपर्ने सर्त तोकेको छ । हेलिकप्टरमार्फत कुनै विशेष प्रकृतिको उडान गर्दा सेफ्टी रिस्क एसेसमेन्ट गर्ने र त्यसलाई स्वीकारयोग्य भएमात्र उडान गर्न सकिने व्यवस्था गराएको छ ।

प्राधिकरणले दुईमध्ये एउटा एयरपोर्ट पहुँचमा हुनुपर्ने प्रावधानलाई संशोधन गर्दै अब चारवटा सटलपछि एउटा विमानस्थलमा अनिवार्य रहनुपर्ने व्यवस्था गरेको छ । प्रत्येक हेलिकप्टर कम्पनीलाई भिटु ट्राकरअन्तर्गतको उडान अनिवार्य गरिएको छ । यसले अति संवेदनशील रसायन, ब्याट्रीलगायतका केही सामग्री बोक्न प्रतिबन्ध लगाउँछ ।

प्राधिकरणले उडान सुरक्षाकै लागि हेलिकप्टर पाइलटको उडान अवधि २ घटाइदिएको छ । अब हेलिकप्टर पाइलटको ड्युटी आवर घरबाट निस्किएपछि १२ घण्टा गन्ती हुनेमा १० घण्टा मात्रै गन्ती गर्न पाइनेछ । पाइलटको उडान समय पनि ७ घण्टाबाट ६ घण्टामा झारिएको छ ।

हेलिकप्टर व्यवसायीहरूको छाता संस्था हेलिकप्टर सोसाइटी अफ नेपालले भने नियामक निकायले उल्टो बाटो लिएको आरोप लगाएको छ  । सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले भने, ‘पर्यटकीय सिजन नहुँदा हेलिकप्टरले स्लिङ, रेस्क्यु तथा माउन्टेन फ्लाइट गरेर टिक्ने अवस्था थियो तर उडान गर्न नै दिइएन ।’

‘कँडेलले भने सिजन नहुँदा आवश्यक भएको स्लिङ, रेस्कुसहितको उडान रोकियो, अहिले पर्यटकीय सिजन लागेपछि हेलिकप्टरले काम पाउने बेला अब उक्त उडान खुला गरियो भनिएको छ । यसको भन्नु कुनै तुक छैन,’ उनले थपे । प्राधिकरणले वायु सेवामैत्री काम गर्नुपर्नेमा उल्टै कस्ने गरिरहेको छ भने हवाई क्षेत्रलाई टिकाउनेभन्दा पनि विस्थापित गराउने रणनीति अपनाएको जस्तो दिएको पनि कँडेलले बताए ।


क्लिकमान्डु