सुस्तायो आर्थिक गतिविधि, एलसी खोल्ने क्रम बढेन



काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेट र मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउन नसकेको व्यवसायीले बताएका छन् ।

चालू आर्थिक वर्षमा सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरे पनि बजारमा माग नबढेको व्यवसायीको भनाइ छ । यस्तै, बैंक तथा वित्तीय संस्थामा करिब ४ खर्ब लगानीयोग्य पुँजी हुँदासमेत नयाँ-नयाँ परियोजनामा ऋण माग्दै आउने क्रम नबढेको बैंकरहरु बताउँछन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना हुँदासमेत आर्थिक गतिविधि बढ्ने कुनै संकेत नदेखिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले बताए ।

‘अहिले दसैंलाई लक्षित गर्दै हुने आयात बढ्नुपर्ने हो, ’उनले भने, ‘तर व्यवसायीले नयाँ-नयाँ एलसी खोल्न चाहेका छैनन् । बजारमा कहिलेबाट माग बढ्छ भनेर ‘पर्ख र हेर’को अवस्थामा व्यवसायी देखिएका छन् ।’

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा पनि व्यवसायीहरुले हाल आयात बढाउन बढाउन नखोजेको बताउँछन् । ‘पहिला-पहिला दसैंका लागि सामान ल्याउन साउनमा एलसी खोल्ने व्यवसायी धेरै हुन्थे,’ उनले भने, ‘अहिले भने व्यवसायीमा कुनै चार्म देखिएको छैन ।’

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल पाण्डे आफूहरु तत्कालै आक्रामक हुनुभन्दा पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन् ।

‘हाम्रो सीडी रेसियो ८१ भए पनि तत्कालै लगानी बढाउने हाम्रो सोच छैन,’ उनले भने, ‘हामी बजार हेरर मात्रै आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्छाैं ।’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षमा ११.५ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । साउनको तीन साताको अवस्था हेर्दा बैंकरहरु ११.५ प्रतिशतले कर्जा विस्तार हुन्छ भन्नेमा आशावादी छैनन् ।

आयात नबढ्दासम्म बजार चलायमान नहुने र अहिले एलसी खोल्ने क्रम नबढेकाले तत्कालै आयात बढ्ने सम्भावना नभएकाले बैंकरहरु तत्कालै आर्थिक गतिविधि बढ्छ भन्नेमा आशावादी छैनन् । गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा १६ प्रतिशतले आयात घटेको थियो ।

अघिल्लो वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएकोमा गत वर्ष आयात १६ खर्ब ११ अर्बमा सीमित भएको थियो । चालू आर्थिक वर्षमा साउनको अवस्था हेर्दा आयात गत वर्षबराबर रहने व्यवसायीको अनुमान छ ।

‘सरकारले निर्माण व्यवसायीको पैसा भुक्तानी गर्‍यो, आन्तरिक र वैदेशिक ऋण लिएर खर्च बढायो र व्यावसायिक वातावरण सुधार गर्दै गयो भने आगामी दिनमा आर्थिक गतिविधि बढ्न सक्छ,’ महासंघका पूर्वअध्यक्ष गोल्छाले भने, ‘सरकारले सक्रियता नदेखाउँदासम्म आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको छैन ।’


क्लिकमान्डु