स्वास्थ्य बीमा बोर्डद्वारा २१ अर्ब भुक्तानी, ५९ लाख ३८ हजार बीमित सहभागी



काठमाडौं । नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका सेवा प्रदायक अस्पतालहरूलाई हालसम्म २१ अर्ब भुक्तानी गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २१ अर्ब रूपैयाँ भुक्तानी गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. बसौलालले भुक्तानीमा समस्या नभएको समेत बताए ।

सीमित कर्मचारी भएकाले भुक्तानीमा ढिलाइ भएपनि बजारमा बोर्डले भुक्तानी नदिएको भन्ने हल्ला साचो नभएको उनको भनाइ छ । भुक्तानीका लागि आवश्यक कागजात पुगेका दाबीको दाबी भुक्तानी नरोकिएको उनले बताए ।

उनका अनुसार हालसम्म बीमा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी भईसकेको छ । उनकाअनुसार अब बोर्डले बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरूलाई ८ अर्ब रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

बसौलाले ३ महिनाको मात्रै भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए ।

बोर्डमा आवश्यक दक्ष जनशक्तिको अभावले भुक्तानीमा ढिलाई भएको प्रस्टाए । उनकाअनुसार हाल बोर्डमा सूचीकृत भएका अस्पतालहरूबाट दैनिक २५ देखि ३० हजार दाबी आउँछन् ।

अस्पतालहरूबाट प्राप्त भएका ती दाबीलाई हेर्न बोर्डमा सीमित कर्मचारी मात्रै छन् । सबै कर्मचारीले दिनमा बढीमा ६ हजार मात्रै दाबी हेर्छन् । जसले गर्दा भुक्तानीमा ढिलाई हुने उनको भनाइ छ ।

दक्ष जनशक्तिको अभावले नै समयमा नै अस्पतलाबाट प्राप्त भएका दाबीलाई परीक्षण गर्न नसकिएको उनले बताए ।

उनकाअनुसार गत आवमा ६४ लाख दाबी परीक्षण गरिएको र अझै पनि ७ देखि ८ लाख दाबी परीक्षण गर्न बाँकी रहेको छ ।

दैनिक प्राप्त भएका दाबीको अनुपामा परीक्षण गर्न नसकिएको उनको भनाइ छ ।

सबै नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

यस कार्यक्रम हालसम्म देशका ७७ वटै जिल्लामा विस्तार भएको छ । ७४६ वटा स्थानीय तहमा पुगेको यस कार्यक्रममा हालसम्म ५९ लाख ३८ हजार ७६० जना बीमित सहभागी भएका छन् । जुन कुल जनसंख्याको ३०.०४ प्रतिशत हुन आउँछ । कार्यक्रम विस्तार हुन बाँकी रहेका स्थानीय तहमा पनि चाडै सेवा पुर्याउने बोर्डको योजना छ ।

आवद्ध परिवारको संख्या १८ लाख २४ हजार ५९५ छ । जुन कुल परिवार संख्याको ३३.७७ प्रतिशत हो ।

कार्यक्रममा ४५० वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत भएका छन् । जसमा १८८ वटा सरकारी अस्पताल, १८६ वटा प्राथमिक सेवा प्रदायक, ४८ वटा निजी/सामुदायिक अस्पताल र २८ वटा आँखा अस्पताल रहेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ ।

प्रतिपरिवार (५जनासम्म) ३५ सय रूपैयाँ योगदानको आधारमा १ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रूपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रूपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ ।


क्लिकमान्डु