बैंकहरुको खराब कर्जाः कस्को बढ्यो, कसको घट्यो ?



काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले गरेको कर्जा लगानी औषतमा १५.३९ प्रतिशतले बढाएका छन् ।

गत आवको पहिलो तीन महिना बैंकहरुले आक्रामकरुपमा कर्जा विस्तार गरेका थिए । त्यसपछि लगानी योग्य पुँजी (तरलता) अभाव भएपछि बैंकहरु कर्जा विस्तार खुम्च्याउन बाध्य भए ।

एकाति तरलता अभावको चाप त अर्कातिर राष्ट्र बैंकले कोरोना महामारीका समयमा ऋणीलाई दिएका सबै सहुलियत कटौति गरेपछि त्यसको असर बैंकहरुले प्रवाह गरेको कर्जामा देखिएको छ ।

समयमै कर्जा उठ्न नसक्दा त्यसको असर बैंकहरुको खराब कर्जामा देखिएको हो । औषतमा बैंकहरुको खराब कजा बढेको छ ।

यद्यपि, सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये एक दर्जन बैंकको खराब कर्जा घटेको छ । कुमारी बैंकको खराब कर्जा स्थिर छ भने १३ वटा बैंकको खराब कर्जा बढेको छ ।

सबैभन्दा धेरै खराब कर्जा हुनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकको खराब कर्जा २ प्रतिशत पुगेको छ । यस्तै सबैभन्दा कम नेपाल एसबीआई बैंक रहेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतले रहेको छ ।

गत आर्थिक वर्षमा बैंकहरुले ४० खर्ब १ अर्ब ८ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५ खर्ब ३३ अर्ब ७२ करोड ३९ लाख ५७ हजार रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ३४ खर्ब ६७ अर्ब ३५ करोड ९० लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेका थिए ।

औषतमा कर्जा विस्तार १५.३९ प्रतिशतले बढ्दा सबैभन्दा बढी कर्जा लगानी गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ३ खर्ब १ अर्ब ७ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५२.०४ प्रतिशतले बढी हो ।

नबिल बैंकको कर्जा लगानीमात्रै नभएर बैंकले समयमा नै ऋण उठाउन नसक्दा खराब कर्जा ८३.३३ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तमा ०.८४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा ८३.३३ प्रतिशतले बढेर १.५४ प्रतिशत पुगेको छ ।

धेरै कर्जा लगानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पनि पर्छ । बैंकले असार समान्तसम्म २ खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.०७ प्रतिशत बढी हो ।

बैंकले १३ प्रतिशतले कर्जा बढाए पनि खराब कर्जा भने घटेको छ । ०७८ असार मसान्तको तुलनामा ०७९ असार मसान्तमा बैंकको खराब कर्जा १२.४८ प्रतिशतले घटेर १.२२ प्रतिशतमा झरेको छ । ०७८ असार मसान्तमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो ।

सबैभन्दा बढी खराब कर्जा रहेको राष्ट्रिय वाणिज्य बैंकले एक वर्षमा कर्जा विस्तार १९.२२ प्रतिशतले बढाएर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ । एक वर्षमा बैंकले कर्जा ३४ अर्ब १७ करोड ८५ लाख ७६ हजार रुपैयाँले बढाएको छ । कर्जा विस्तारको तुलनामा बैंकको खराब कर्जा पनि घटेको छ । एक वर्षको अवधिमा बैंकको खराब कर्जा ३४.८५ प्रतिशतले घटेर २ प्रतिशतमा झरेको छ । जबकी, ०७८ असार मसान्तमा बैंकको खराब कर्जा ३.०७ प्रतिशत थियो ।

गत आर्थिक वर्षमा शतप्रतिशत खराब कर्जा बढेको एभरेष्ट बैंकले कर्जा लगानी १३.९३ प्रतिशतले बढाएको छ । एक आर्थिक वर्षमा बैंकको कर्जा १७ अर्ब ७८ करोड ७८ लाख ४५ हजार रुपैयाँले बढेर १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख ७० हजार रुपैयाँ पुगेको छ ।

बैंकले जुनरुपमा कर्जा विस्तार गर्यो, सोही अनुसार भाका नाघेको कर्जा उठाउन सकेको देखिँदैन । जसकारण एक वर्षको अवधिमा बैंकको खराब कर्जा शतप्रतिशतले बढेको छ । ०७८ असार मसान्तमा ०.१२ प्रतिशत रहेको खराब कर्जा ०७९ असार मसान्तमा ०.२४ प्रतिशत पुगेको छ ।

खराब कर्जा १९१.६७ प्रतिशतले बढेको सानिमा बैंकले कर्जा प्रवाह १५.५५ प्रतिशतले मात्रै बढाएको छ । बैंकले गत आवमा १८ अर्ब ८ करोड ९९ लाख ७१ हजार रुपैयाँले कर्जा बढाएर १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै २ प्रतिशतले खराब कर्जा बढेको एनआइसी एशिया बैंकले एक वर्षमा कर्जा विस्तार पनि निकै कम मात्रै गरेको छ । अघिल्ला वर्षहरुमा आक्रामक कर्जा विस्तार गरेको एनआइसी एशिया पुँजीकोष अनुपात कम भएपछि व्यवसाय विस्तारमा ब्रेक लगाएको हो ।

गत आवमा बैंकले कर्जा विस्तार १.४७ प्रतिशतले मात्रै बढाएको छ । असार मसान्तसम्म एनआइसी एशिया बैंकले २ खर्ब ५२ अर्ब ४४ करोड ३४ लाख ९७ हजार रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको कर्जाको वृद्धिदर ३ अर्ब ६७ करोड ३१ लाख ४३ हजार रहेको छ ।

गत आवको सबैभन्दा कम कर्जा विस्तार गर्नेमा एनआइसी एशिया बैंकपछि इन्भेष्टमेन्ट बैंक रहेको छ । इन्भेष्टमेन्ट बैंकले जम्मा ६५ करोड ३० लाख ६७ हजारमात्रै बढाएको छ । गत असार मसान्तसम्म आइपुग्दा बैंकले १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४०.२४ प्रतिशतले घटेर १.४७ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको खराब कर्जा ६०.४२ प्रतिशतले बढेको छ । बैंकको कर्जा विस्तार भने १७.४१ प्रतिशत बढेको छ । एक वर्षमा बैंकको कर्जा विस्तार २१ अर्ब ९४ करोड ५८ लाख १८ हजार रुपैयाँले बढाएर १ खर्ब ४७ अर्ब ९९ करोड ३९ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै माछापुच्छे« बैंकको खराब कर्जा ३५.४८ प्रतिशतले बढेर ०.८४ प्रतिशत पुगेको छ । बैंकको कर्जा विस्तार भने १३.२ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंकको पनि खराब कर्जा १८.६७ प्रतिशतले बढेको छ । कर्जा विस्तार भने २१.६६ प्रतिशतले बढी रहेको छ । बैंकले गत आवमा २२ अर्ब ७८ करोड ७८ लाख ९७ हजार रुपैयाँले बढेर १ खर्ब २८ अर्ब १२ लाख ६९ हजार पुगेको छ ।

बैंक अफ काठमाण्डूको पनि खराब कर्जा १३.४६ प्रतिशतले बढेको छ । कर्जा विस्तार भने ९.२७ प्रतिशतले बढेको छ ।

बैंकले एक वर्षमा ८ अर्ब ७० करोड २९ लाख ९३ हजार रुपैयाँले बढाएर १ खर्ब २ अर्ब ५१ करोड ११ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

प्राइम बैंकको खराब कर्जा ४२.८६ प्रतिशतले बढेको छ । कर्जा विस्तार भने ९.४४ प्रतिशतले मात्रै बढाएको छ । बैंकको गत आवको असार मसान्तसम्मको कर्जा १ खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार रुपैयाँ रहेको छ । बैंकले विस्तार गरेको कर्जा समयमा नै उठाउन नसक्दा खराब कर्जा बढेको छ ।

त्यसैगरी, यो एक वर्षको अवधिमा सिटिजन्स बैंकको खराब कर्जा १४.०२ प्रतिशतले बढेर १.८७ प्रतिशत पुगको छ । बैंकको कर्जा लगानी १०.६८ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकको पनि खराब कर्जा ९.६६ प्रतिशतले बढेर १.९३ प्रतिशत पुगेको छ । कर्जा विस्तार २८.१३ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यी बैंकको खराब कर्जाको वृद्धिदर घट्यो

खराब कर्जा घट्ने बैंकमा नेपाल एसबीआई बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, मेगा, कुमारी, प्रभु, ग्लोबल आइएमई, एनएमबी, नेपाल इन्भेष्टमेन्ट, सेञ्चुरी, कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

खराब कर्जा ३४.७८ प्रतिशतले घटाएको नेपाल एसबीआई बैंकको कर्जा विस्तार ८.५८ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब २७ करोड २५ लाख २६ हजार रुपैयाँ रहेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको पनि खराब कर्जा ३८.५४ प्रतिशतले घटेको छ । बैंकले एक वर्षको अवधिमा कर्जा विस्तार २६.८६ प्रतिशतले बढेको छ । गत आवमा बैंकले ६२ अर्ब ४० करोड ८६ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेकामा गत आवको असार मसान्तसम्म आइपुग्दा ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

मेगा बैंकको खराब कर्जा ३९.८४ प्रतिशतले घटेको छ । यो बैंकको कर्जा विस्तार ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ७८ करोड १३ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

कुमारी बैंकको खराब कर्जा स्थिर रहेको छ । कर्जा विस्तार भने ११.२२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख १२ हजार रुपैयाँ रहेको छ ।

२८.५७ प्रतिशतले खराब कर्जा घटाएको प्रभु बैंकले कर्जा लगानी ८.०२ प्रतिशतले बढाएर १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार कर्जा लगानी गरेको छ ।

एनएमबि बैंकको पनि खराब कर्जा ४१.४१ प्रतिशतले घटेको छ । बैंकको कर्जा विस्तार १६.४१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब ७८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

सेञ्चुरी बैंकको खराब कर्जा १९.७० प्रतिशतले घटेको छ । कर्जा विस्तार भने १३.८ प्रतिशतले बढाएर ८८ अर्ब ८५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंकको खराब कर्जा १०.६४ प्रतिशतले घटाएको छ । कर्जा विस्तार भने १८.५४ प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब ५४ करोड ४७ लाख ८८ हजार रहेको पुगेको छ ।

यस्तै नेपाल बैंकको खराब कर्जा ७.३२ प्रतिशतले घटेको छ । कर्जा विस्तार भने २६.८६ प्रतिशतले बढेर १ खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु