घट्दो बजारमा सेयर लगानीकर्ताले तिरे साढे ७ अर्ब पुँजीगत लाभकर



काठमाडौं । पछिल्लो समय सेयर बजार घटेपनि मा गिरावट आएपछि पुँजीगत लाभकर उत्साहप्रद रुपमा संकलन भइरहेको छ । चालु आर्थिक वर्षको करिब छ महिनामा सेयर लगानीकर्ताले अघिल्लो वर्षको सोही अवधीको तुलनामा तिर्ने पुँजीगत लाभकर ३ सय प्रतिशतले बढेको छ ।

सिडिएससीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म सेयर लगानीकर्ताले ७ अर्ब ५५ करोड ५१ लाख १८ हजार ८१ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५१ करोड २५ लाख ४९ हजार २४ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । यो अवधिमा पुँजीगत लाभकर निकै बढेको देखिएको छ ।

गत आर्थिक वर्षमा लगानीकर्ताले १४ अर्ब भन्दा बढी पुँजीगत लाभकर तिरेका थिए ।

असार मसान्तमा नेप्से इन्डेक्स २८८३.४० बिन्दुमा रहेको थियो । त्यसपछि साउनको पहिलो कारोबारमा इन्डेक्स बढेर ९७.२१ अंकले बढेर २९८०.६१ बिन्दुमा रहेको थियो । असार मसान्तको तुलनामा बिहीबारसम्म आइपुग्दा बजार ४३३.४३ अंकले घटेको छ ।

पछिल्लो समयमा बजार घटेपछि यही अवधिमा पुँजी बजारले नयाँ रेकर्ड समेत कायम गरेको छ । इतिहासमा पहिलो बजार ३२०० बिन्दु पार गरेको छ । नेप्सेमा अुनसार बजार भदौ ३ गते बजारले ऐतिहासिक रेकर्ड बनाएको थियो ।

यो दिन बजार ३२२७.१० बिन्दुसम्म पुगेको थियो । निरन्तर उकालो लागि रहेको बजार भदौ १३ पछि ओरालो लाग्न थाल्यो । भदौ १३ मा बजार ३०४४.८९ बिन्दुमा रहेको थियो । त्यसपछि बजारले ३००० को बिन्दुमा पुग्न सकेको छ । भदौ १३ पछि क्रमिक रुपमा घट्न थालेको बजार अहिलेसम्म आईपुग्दा बियरिस टे«न्डमा पुगेको छ । भदौ १३ पछि बिहीबारसम्म आईपुग्दा बजार ५९४.९२ अंकले घटेको छ ।

आर्थिक वर्षको सुरुमा कोरोना महामारीको दोस्रो भेरियन्टका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी अन्यत्र गर्न नपाउँदा सेयर धितो कर्जामा दिने ऋणलाई बढाएका थिए । त्यो बेला कर्जा परिचालन गर्ने माध्यम बढी सेयर बजार नै भएका कारण बैंकहरुले लगानीकर्तालाई बोलाएर नै कर्जा दिने गरेका थिए ।

त्यो बेला बजारको लागि प्रयाप्त तरलता हुँदा सेयर बजारलाई नयाँ रेकर्ड कायम गर्न समेत सहज भएको थियो । जसको कारण एकै दिन २१ अर्ब भन्दा बढी रकमको समेत सेयर कारोबार हुने गरेको थियो । अहिले बजार घटेर कारोबार रकम करिब साढे २ अर्ब हाराहारीमा सिमित भएको छ ।
चालु आर्थिक वर्षदेखि २ प्रकारको पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ ।

एकवर्षभन्दा बढी सेयर होल्ड गरेर बिक्री गर्नेलाई ५ प्रतिशत र एकवर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्नेलाई साढे ७ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु