बैंकिङ क्षेत्रमा अख्तियारको अनुगमन जरुरी छैनः बैकर्स संघका अध्यक्ष भुवन दाहाल



काठमाडौं । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रमा अख्तियारको अनुगमन र निगरानीको आवश्यकता नभएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गरिरहेकाले बैंकिङ क्षेत्रमा अख्तियारको निगरानी आवश्यक नभएको उनको तर्क छ ।

मंगलबार सेजनले आयोजना गरेको वेवनारमा बोल्दै अध्यक्ष दाहालले अख्तियारको क्षेत्राधिकार थप गरी निजी क्षेत्र पनि समेटिन लागेको विषयमा आपत्ति जनाए ।

‘बैंकिङ कसुर ऐन अन्तर्गत रहेर राष्ट्र बैंकले प्रभावकारी रुपमा नियमन, निगरानी तथा अनुगमन गरिरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘यसअघि नै बैंकिङ कसुरमा इमान्दार व्यक्तिहरु पनि परेको हुँदा अहिले त्रासको अवस्था सिर्जना भएको छ ।’

अख्तियारले बैंकिङ क्षेत्रलाई अनुगमन तथा निगरानी गर्न विषयमा बैंकर्सको कुनै आपत्ति नभएको भन्दै उनले बेनामी उजुरीको भरमा भने अख्तियारले छानबिन तथा मुद्दा लगाउन नहुने उनको तर्क छ ।

‘बैंकिङ कसुर ऐन राष्ट्र बैंकले राम्रो उद्देश्यले ल्याएको हो । तर अहिले इमान्दार मानिसहरु पनि परिरहेका छन् । जसकारण बैंकिङ क्षेत्रमा एउटा त्रासको अवस्था छ । मानिसहरु डकुमेन्टमा सही गर्न नै डराउँछन्,’ उनले भने ।

त्यसमाथि अख्तियारले पनि हेर्ने भनेपछि अझ त्रास थपिएको छ । फाइलहरु एकमुष्ठमा मात्र हेरिन्थ्यो तर अब एक/एक कागजपत्रको शब्द शब्द पढेर मात्र हस्ताक्षर गर्नु पर्ला जस्तो भएको छ ।

‘अख्तियारले बैंकिङ क्षेत्रलाई हेर्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । हामी जुनसुकै ठाँउमा पनि टेष्ट गराउन तयार छौं, इमान्दारितामा साथ काम गर्दा कतै डराउनु पर्ने अवस्था छैन् । तर अख्तियारमा कसरी काम हुन्छ त्यसमा भरपर्छ । बेनामी उजुरीहरु पर्नेसम्म भएको छ,’ उनले भने ।

अब त प्रोमोशन नहुँदा, सामान किन्दा, कर्जाको ब्याजदर धेरै हुँदा जस्ता विषयमा समेत उजुरी जान सक्ने सम्भावना रहन्छ । यसअघि जसरी इमान्दारिताका साथ काम गरिरहेका थियौँ । त्यस्तो अवस्थामा अख्तियारको प्रवेश भयो भने नहुने उनको भनाइ छ ।

यदी राज्यले भ्रष्टाचार घटाउनका लागि यो नीति लिएको हो र बैंकिङ क्षेत्रमा धेरै भ्रष्टाचार भएको लाग्छ भने अहिले पनि आएर अध्ययन र अनुसन्धान गर्न सक्छ । यसमा हामीले जहिले पनि सहयोग गरेका छौं ।

भ्रष्टाचार नेपालको इनडेक्समा नै बढिरहेको अवस्थामा अख्तियारले त्यो कन्ट्रोल गर्न सक्यो भने यदी बैंकिङ क्षेत्रमा पनि भ्रष्टाचार छ भने स्वतः घटेर जाने उनको तर्क छ ।


क्लिकमान्डु