छतमा हेलिकप्टर बस्नेगरी ५ अर्ब खर्चेर स्तरोन्नति हुँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाडौं । नेपालको पाँच स्वास्थ्य विज्ञान प्रतिष्ठान मध्यको एक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नती गरिने भएको छ । करिब ५ अर्ब रुपैयाँ बराबरको लागतमा प्रतिष्ठानको स्तरोन्नती गरिने भएको हो ।
वि.सं. २०१६ मा महेन्द्र स्वास्थ्य केन्द्रको रुपमा स्थापना गरिएको अस्पताल २०७४ मा आएर राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको थियो ।
प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने सरकारको निर्णयपछि व्यवस्थापिका–संसद्ले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७४’ सर्वसम्मतिले पारित गरेको थियो ।
अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती शिक्षण अपस्पताल ४०० शय्यामा स्तरोन्नती गर्न लागिएको हो । हाल अस्पताल ३०० शय्याको छ ।
१४ हजार वर्गमिटर मध्य निर्माण हुने भवन २९.७ प्रतिशत क्षेत्रफलमा बन्नेछ । भवनको प्रस्तावित उचाई २७.३ मिटर रहेको छ ।
प्रस्तावित भवनमा २ बेसमेन्ट १ भुइँतल्ला गरी पाँच तलाको हुनेछ । अस्पतालमा अपाङ्ग मैत्री चौचालय १५ वटा बन्नेछन् भने बिरामी शौचालय ७८ र कर्मचारी शौचालय ७० वटा बन्नेछन् ।
अस्पतालमा शवगृह कम्पाउन्ड भित्र तर अलगै स्थानमा राखिने छ । शव नसड्ने गरि राख्न सकिने खालको प्रविधियुक्त स्थानमा राख्ने योजनामा उल्लेख छ ।
अस्पताल निर्माण गर्न १ लाख १ हजार ६६० मानव दिन अदक्ष कामदार लाग्ने बताइएको छ । त्यस्तै अस्पताल सञ्चालनमा आउँदा ५५९ जना कर्मचारी आवश्यक पर्ने छ ।
आरसीसी संरचनामा निर्माण हुने अस्पताल ३० महिना भित्र पूरा गर्ने योजना रहेको छ । यो प्रतिष्ठान २०२१ सालमा १५ शय्याको महेन्द्र अस्पतालमा स्तरोन्नति गरिएको थियो । पछि २०५० मा २५ शय्याको अस्पताल र २०६४ सालमा ५० शय्याको अस्पतालमा विस्तार गरिएको थियो । नेपालको पश्चिमी क्षेत्रका जनतालाई थप विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले २०६५ साल चैत १२ गते अस्पताललाई राप्ती उपक्षेत्रीय अस्पतालको रूपमा विकास गरिएको थियो । पछि नेपाल सरकारले २०७१ सालमा ५० बाट १०० मा स्तरोन्नति गरेको थियो ।
अस्पतालले ३०० शैय्याको स्वीकृति पाए पनि हाल ११३ शैय्यामात्र सञ्चालनमा छन् । लुम्बिनी प्रदेशको दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा रहेको प्रतिष्ठान समुन्द्र सतहदेखि ७०१ मिटर उचाइमा रहेको छ ।
राप्ती उपक्षेत्रीय अस्पताल वि.सं. २०७४ (२०१७) देखि आरएएचएसमा बढुवा भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लमही–घोराही राजमार्गसँग जोडिएको छ । काठमाडौंका लागि विरलै उडान हुने दाङ विमानस्थलबाट घोराही २४ किलोमिटर टाढा छ । निकटतम प्रमुख विमानस्थल बाँके जिल्लाको नेपालगञ्ज विमानस्थल हो, जसबाट करिब १४७ किलोमिटर टाढा छ ।