भारतको समुद्रमा लागूऔषधको बाढी, ड्रोनबाट पनि हुँदैछ ड्रग्स तस्करी !



एजेन्सी । विश्व अर्थतन्त्रमा प्रभाव जमाउन संघर्षरत रहेको दक्षिण एसियाली मुलुक भारतका लागि पछिल्लो समय लागूऔषधको अवैध कारोबार व्यापक रुपमा चुनौती बन्न थालेको छ ।

विशेषगरी समुद्री तटीय क्षेत्रमा यसको कारोबार डरलाग्दो रुपमा भइरहेको छ । जसले सिंगो भारत सरकारलाई ठूलो चुनौती थपिएको छ ।

भारतको समुद्री क्षेत्रमा यस वर्ष मात्रै प्रहरीले ठूलो संख्यामा लागूऔषध बरामद गरेको छ । वर्षभर प्रहरीले चलाएका पाँच ठूला अभियानमा करिब ९ हजार ६ सय केजी ड्रग्स जफत गरिएको छ ।

जसमा सबैभन्दा धेरै चरेस र मेथामफेटामाइन ड्रग्स रहेको बताइएको छ । ती अभियान इन्डियन कोस्ट गार्ड र नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) सहितको टोलीले चलाएका थिए । २०१४ वर्षभर भारतको समुद्री क्षेत्रमा जति मात्रामा नशालु औषधि बरामद भएको छ यतिको मात्रा यसअघिका पाँच वर्षसम्म पनि बरामद भएको थिएन ।

गत वर्ष डिसेम्बरमा केन्द्रीय मन्त्री सर्वानन्द सोनोलालले राज्यसभामा लागूऔषध सम्बन्धी तथ्यांक पेस गरेका थिए । उनका अनुसार २०१९ देखि २०२३ सम्म ५ वर्षको अवधिमा समुद्रमा करिब ७ हजार ५ सय केजी लागूऔषध बरामद गरिएको थियो । जवकि यस वर्ष ११ महिनाको अवधिमा समुद्री क्षेत्रमा करिब ९ हजार ६ सय केजी लागूऔषध बरामद भइसकेको छ ।

भारतमा हरेक वर्ष १२ हजार करोडको ड्रग्स नष्ट हुन्छ

यसै साता इन्डियन कोस्ट गार्डले समुद्रमा लागुऔषध बरामद गर्न आफूलाई सफलता मिलेको प्रतिक्रिया दिएको छ । इन्डियन कोस्ट गार्डले भारतमा समुद्रको सुरक्षा गर्छ । कोस्ट गार्डले अन्डामन सागरमा एक डुंगाबाटै लगभग ५ हजार ५ सय केजी लागूऔषध (मेथामफेटामाइन ड्रग्स) बरामद गरेको थियो ।

उक्त ड्रग्स म्यानमारको माछा मार्ने एउटा डुंगाबाट बरामद गरिएको थियो । यससँगै म्यानमारका ६ नागरिकलाई पनि कोस्ट गार्डले पक्राउ गरेको थियो । जुन एउटै घटनाले भारतको समुद्री क्षेत्रलाई कसरी लागूऔषध ओसारपोसारको मार्ग बनाइँदैछ भनेर देखाउँछ ।

अन्डामन र निकोबारका प्रहरी प्रमहानिर्देशक हरगोबिन्दर सिंह धालीवालका अनुसार जफत गरिएको लागूऔषधको अनुमानित मूल्य करिब ३६ हजार करोड भारतीय रुपैयाँ हो । र आरोपित पक्राउ परेपछि प्राप्त सूचनाका आधारमा यो लागूऔषध यसपटक बरामद गर्न सफल भएको पनि उनको भनाइछ ।

‘सागर मन्थन’बाट लागूऔषध बरामद

१५ नोभेम्बरमा गुजरातमा एक डुंगाबाट ७ सय केजी मेथामफेटामाइन बरामद गरियो । डुंगामा उपस्थित ८ जना विदेशी नागरिकलाई पनि पक्राउ गरिएको छ । एनसीबी, भारतीय नौसेना र गुजरात प्रहरीले संयुक्त रुपमा चलाएको यस कारबाही अभियानलाई ‘सागर मन्थन-४’ नाम दिइएको छ ।

यस वर्षको सुरुमै सागर मन्थन अभियान सुरु गरिएको थियो । यसका लागि एउटा टोली नै बनाइएको थियो । जसमा एनसीबीसँगै भारतीय नौसेना, इन्डियन कोस्ट गार्ड र गुजरात प्रहरीका अधिकारीहरु सामेल थिए । र यो टोलीको उद्देश्य समुद्र हुँदै अवैध रुपमा लागूऔषध तस्करीबाट हुने खतरा हटाउनु थियो ।

पहिलो तीन सागर मन्थन अभियानहरुमा ३ हजार ४ सय केजी ड्रग्स जफत गरिएको थियो । जहाँ पनि ११ जना इरानी र १४ जना पाकिस्तानी नागरिक पनि गिरफ्तार भएका थिए । उनीहरु अहिले पनि भारतीय जेलमै छन् । सबैभन्दा धेरै उपयोगी पहिलो सागर मन्थन अभियानलाई लिइन्छ । जहाँ एउटै डुंगाबाट ३१ सय केजी चरेस बरामद गरिएको थियो । जुन केही समयअघिसम्म समुद्रमा गरिएको सबैभन्दा ठूलो ड्रग्स बरामद थियो ।

ड्रग्स तस्करीको दृष्टिले संवेदनशील भारत

एनसीबीको २०२२ को वार्षिक रिपोर्ट अनुसार भारतमा ड्रग्स तस्करीको समस्या उत्पन्न हुनुमा एक प्रमुख कारण यसको भौगोलिक अवस्थितिलाई पनि मानिएको थियो ।

उक्त रिपोर्टअनुसार केही अफिम उत्पादक देश भारतकै आसपास छन् । जस्तो कि अफगानिस्तान, पाकिस्तान, इरान, म्यानमार, थाइल्यान्ड लगायत । यसवाहेक भारतको लामो समुद्री सीमालाई पनि एक कारण मानिएको छ ।

यसबीचमा हाल अफिम र सिन्थेटिक ड्रग्सका लागि भारत एक डरलाग्दो गन्तव्य र परिवहन मार्ग दुबै बनेको बताइन्छ । उक्त रिपोर्टमा उल्लेख भए अनुसार ७० प्रतिशत ड्रग्स तस्करी समुद्री मार्ग भएर हुने गर्छ । साथै भारतको पश्चिमी क्षेत्रमा ड्रग्स तस्करी पक्राउ गर्ने घटनाहरु बढिरहेको देखिन्छ ।

जफत गरिएका अधिकांश ड्रग्स इरान वा अफगानिस्तानका बन्दरगाहबाट आएको देखिन्छ । र तिनको गन्तव्य भारतको तटीय राज्य वा ती राज्य हुँदै श्रीलंका वा मालदिभ्स पुर्‍याउने गरिएको रिपोर्टले देखाएको छ । समुद्री मार्ग हुँदै सबैभन्दा धेरै हेरोइन र मेथामफेटामाइन ड्रग्सको तस्करी हुने गरेको छ ।

ड्रोनबाट पनि तस्करी

यसवाहेक पाकिस्तान र बंगलादेशको सीमा क्षेत्रमा पनि यसको तस्करी व्यापक भएको देखिन्छ । भारतका तीन राज्य र एक केन्द्र शसित प्रदेको सीमा पाकिस्तानसँग जोडिन्छ । ती क्षेत्र राजस्थान, पन्जाब र गुजरात हुन् । साथै अर्को जम्मु कश्मीर ।

पाकिस्तानबाट भारतमा सबैभन्दा धेरै तस्करी हुने ड्रग्स हेरोइन देखिएको छ । एनसीबीको २०२३ को वार्षिक रिपोर्ट अनुसार २०१९ देखि २०२३ सम्म पाँच वर्षमा पाकिस्तानबाट लगभग २ हजार६ सय केजी हरोइन जफत गरिएको थियो ।

जवकि ड्रोनको माध्यमबाट पनि हेरोइन तस्करी हुने गर्दा यसलाई नयाँ चुनौतीको रुपमा लिइएको छ । यस्ता घटनाका बीच जम्मु कश्मीर, राजस्थान पन्जाब सीमा क्षेत्रमा यस्तो चुनौती देखिएको बताइन्छ । जवकि ड्रोनबाट हुने तस्करीका लागि अमृतसर क्षेत्रलाई धेरै संवेदनशील मानिन्छ ।

भारतका पाँच राज्य असम, मेघालय, मिजोरम, त्रिपुरा र पश्चिम बंगालको सीमा बंगलादेशसँग जोडिएको छ । हरक वर्ष तस्करीबाट हजारौं केजी गाँजा बंगलादेशबाट भारत आउने गरेको तथ्यांक छ ।

उदाहरणका लागि २०२३ को सुरुको ६ महिनामा सीमा क्षेत्रमा करिब १५ हजार २ सय केजी गाँज बरामद गरिएको थियो । यसमा ७४ प्रतिशत त्रिपुरा सीा र २४ प्रतिशत पश्चिम बंगाल सीमाबाट गरिएको थियो ।


क्लिकमान्डु