आज बाघ दिवस: कति छ नेपालमा बाघ ?



गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।

‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।

अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताउनुभयो । वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ ।

गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताउनुभयो । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उनले भने, ‘वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।’

२०७९ मा सार्वजनिक गरिएको विवरण अनुसार नेपालमा बाघको संख्या ३५५ वटा रहेको थियो ।

नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो । 

२०७९ मा सार्वजनिक गरिएको तथ्यांक अनुसार, नेपालको चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन्।

यसअघि नेपालमा सन् २०१८ मा गरिएको गणनामा २३५ वटा पाटे बाघ भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

ग्लोबल टाइगर फोरमले जनाए अनुसार भारत,नेपाल, भुटान, रुस र चीनमा गरेर करिब ५ हजार ५७४ वटा बाघ रहेका छन् ।


क्लिकमान्डु