सांसद भट्टचनको प्रश्नः युरेनियम उत्खनन् कहिले सुरु हुन्छ ? समुन्द्रमा नेपाली पानीजहाज कहिले चल्छ ?



काठमाडौं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा बन्ने भनिएको उत्तरगंगा जलाशययुक्त आयोजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सांसद भट्टचनले ८२८ मेगावाटको जलविद्युत् आयोजना निर्माण सुरु हुने मितिबारे प्रश्न गरेका हुन् ।

हिउँदयाममा समेत सयप्रतिशत विद्युत् उत्पादन हुने आयोजना निर्माण चाँडै थाल्न सांसद भट्टचनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले आन्तरिक तथा बाह्य पर्यटन विकास प्रबद्र्धनका लागि ढोरपाटन विकास परियोजना स्थापनाको पहलका लागि माग पनि गरे ।

उनले मुस्ताङ जिल्लाको लोमाङथानमा लम्बाइ १० किमि र चौडाइ ४ किमि रहेको उत्कृष्ट युरेनियमको भण्डार रहेको प्रारम्भिक अध्यायनले देखाएकोमा सोको उत्खनन् प्रक्रिया कहिले अघि बढ्छ भन्दै प्रश्न पनि गरेका छन् । ‘उक्त युरेनियमबाट प्राप्त हुने आयबाट स्थानीय सरकारलाई अत्यधिक रकम छुट्याई परम्परागत ढाँचाको बसोबास निर्माण गर्न स्थानीयबासीको माग छ,’ उनले जानकारी गराए ।

त्यस्तै, नेपाली झण्डावाहक पानी जहाज अन्तर्राष्ट्रिय समुन्द्रमा चलाउनका लागि संसदमा पेश भएको विधेयक विगत ४ वर्षयतता अलपत्र परेको जानकारी गराउँदै सो विधेयक छलफलमा ल्याइ पास गर्ने मिति पनि सोधेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले उत्तरगंगाको अध्ययन प्रतिवेदन प्राप्त भएपछि निर्माण तथा लगानी मोडालिटी निक्र्योल गरी आगामी ४ वर्षभित्र निर्माण सम्पन्न हुने बताए । यसैगरी विस्तृत अन्वेशण र औद्योगिक उपयोगको मोडालिटी तथा संगठन ढाँचा तय भएपछि मात्र युरेनियम उत्खनन् गर्न सकिने ओलीले बताए ।

पानी जहाजबारे प्रधानमन्त्री ओलीले असार २७ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको र चाँडै संसदमा पेश हुने जानकारी गराए ।

यस्तो छ प्रधानमन्त्री ओलीको जवाफः

उत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना पहिले नेपाल विद्युत प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, बातावरणीय प्रभाव मूल्याङ्कन (EIA) को काम भएको थियो । हाल ऊत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना special Purpose vehicle को रुपमा बिकाश गर्न २०७४ साल मा उत्तरगंगा पावर कम्पनि लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको छ।

हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृत भैसकेको , जग्गा अधिग्रहणको लागि प्रक्रिया अघि बढाइएको छ। विद्युत उत्पादन अनुमति (Generation License)  पत्रको लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ I हाल NEA Engineering Company मार्फत् आयोजनाको Review of feasibility study and in basin and inter-basin option study  को कार्य भैरहेको छ I

NEA Engineering company मार्फत् आयोजनाको Review of feasibility study and in basin and inter-basin option study को अन्तिम प्रतिवेदन प्राप्त भएपछि Construction Modality र funding modality निर्क्यौल गरी आगामी चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

खानी तथा भूगर्भ विभागबाट अन्तर्राष्ट्रिय एटोमिक संगठनको सहयोगमा भएको प्रारम्भिक अन्वेषणबाट मुस्ताङको लोमाङथान क्षेत्रमा उत्खनन् योग्य गुणस्तर र परिमाणमा यूरेनियमको खनिज भण्डार रहेको देखाएको छ। यूरेनियम रणनीतिक खनिज भएकोले यस्को उत्खनन् पूर्व केही कानूनको सुधार, प्रयोगशालाको स्तरोन्नति, जनशक्ति विकास सँगसँगै गरी विस्तृत अन्वेषण र औद्योगिक उपयोगको मोडालिटी र संगठन ढाँचा तय भएपश्चात् मात्र उत्खनन् गर्न सकिने देखिन्छ।

पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०८१/०३/२७ मा संसद्‌मा पेश गर्ने प्रयोजनार्थ स्वीकृत भई संसद्मा पेश गर्ने प्रक्रियामा रहेको जानकारी गराउँछु।


क्लिकमान्डु