कर्मचारीले काम नगर्दा पूर्वमन्त्रीले बिचौलियालाई दिए ५ हजार, एकैछिनमा भयो काम, संसदमा सुनाए घटना



काठमाडौं । पूर्व वन मन्त्री वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएर आफूले काम गरेको बताएका छन् ।

आइतबारको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतका विषयमा आफ्नो कुरा राख्न रोस्टममा उपस्थित भएका जनता समाजवादी पार्टीका सांसदसमेत रहेका महतोले ५ हजार रुपैयाँ घुस दिएको बताएका हुन् ।

छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि आफूले घुस दिएर काम गरेको उनले सुनाए ।

‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ ? पत्याउनु हुन्छ ?,’ उनले घुस दिनुको कारण सुनाउँदै भने, ‘ मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने । म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने । कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन् । बिचौलियालाई गएर ५ हजार दिएँ, म बसिरहेँ ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं ।’

उनले देशमा तलदेखि माथिसम्म बिचौलिया र भ्रष्टाचारले जरो गाडेको बताए । तलबाट कि माथि भ्रष्टाचार रोक्ने भन्दै उनले प्रश्न गरे ।


क्लिकमान्डु