आत्मकेन्द्रित ओलीका अनौठा आनीबानी



काठमाडौं । प्रधानमन्त्री केपी ओली सानसाना कुरामा पनि इगो राख्छन् भन्ने आम कार्यकर्ताहरुको गुनासो हुने गर्छ । लोकतान्त्रिक राजनीतिमा आलोचना स्वभाविक नै हो । तर ओलीको हकमा यो सम्भव छैन ।

उनी आफ्ना आलोचकलाई भित्तामै पुग्ने गरी सिध्याउँछन् । यसको ज्वलन्त उदाहरण भिम रावल नै काफी छन् । एमालेमा प्रखर र प्रभावशाली नेता । सुदूरपश्चिमबाटै यतिको उचाइमा पुग्ने एमालेमा अर्को नेता थिएन । तर उनै भीम रावललाई आलोचना गरेकै भरमा ओलीले उनको राजनीतिक भविष्य नै सिध्याइदिए ।

यतिसम्म कि, ओलीले लगाएको लुगा राम्रो भएन भनेर टिप्पणी गर्नेहरुलाई पनि उनी घुरेर हेर्छन् भन्ने एमालेवृत्तमा गुपचुप किस्सा बन्ने गरेको छ । यस्तो प्रतिषोधी र आत्मकेन्द्रित शैलीका बावजुद ओलीका केही अनौठा आनीबानी छन् ।

पुराना सहोगीलाई नबिर्सने

केपी ओली भन्नेबित्तिकै धेरै मानिसहरुले २०५४ सालमा भएको भारतसँगको महाकाली सन्धि सम्झन्छन् । त्यसबेला सन्धिलाई पार्टीमा बहुमतले अनुमोदन गराउने भूमिका ओलीको नै थियो । उनले सन्धिलाई अनुमोदन मात्रै गराएनन् सन्धिको खुलेर प्रसंसा र प्रतिरक्षा पनि गरिरहे । तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी भने सन्धिको विपक्षमा थिए । त्यसैबेला उनी बिरामी पनि भएर अस्पताल भर्ना हुनुपरेको थियो । एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ र अष्टलक्ष्मी शाक्य भने तटस्थ बसेका थिए ।

एक जना वैकल्पिकले मतदान गर्न पाउने भएपछि देवराज घिमिरेलाई वैकल्पिक सदस्यको एक नम्बरमा ल्याउने काम उनै ओलीले गरेका थिए । वैकल्पिक सदस्य रहेका हिरण्यलाल श्रेष्ठलाई तल झारेर झापामा रहेका घिमिरेलाई एक नम्बरमा ल्याइयो । र केन्द्रीय कमिटी बैठकमा मतदान गराइयो । उनै घिमिरेको एक मतले महाकाली सन्धि एमालेले अनुमोदन गरेको थियो । यसरी ओलीले संकटमा परेका बेला घिमिरेको साथ र समर्थन सम्झीराखेका थिए ।

यसबाहेक झापामा चुनावका बेला पनि घिमिरेले पटक पटक ओलीलाई सहयोग गरिरहेका थिए । यति हुँदाहुँदै पनि घिमिरेको नाम राष्ट्रीय राजनीतिको दृश्यमा कतै थिएन । यसअघि प्रधानमन्त्री बनेका बेला उनै घिमिरेलाई अचानक सभामुख बनाएर सर्प्राइज दिए । घिमिरेसँगै एमालेमा थुप्रै नेताहरुलाई उनले यस्तै सर्प्राइज दिइसकेका छन् ।

पर्वतमा जिल्ला कमिटीको अध्यक्ष पराजित भएका गणेश प्रसाद तिमिल्सिनालाई पनि ओलीले यस्तै सर्प्राइज दिएर राष्ट्रियसभा अध्यक्ष बनाएका थिए । अर्का नेता पदम गिरी । अनेरास्वविको देशभर संगठनमा माधव नेपाल वा वामदेव गौतमको बर्चस्व भइरहेका बेला पीएन क्याम्पसको स्ववियु सभापति रहेका पदम गिरी भने ओलीको पक्षमा खुलेर लाग्थे । त्यसैबेलादेखि नै ओलीको नजरमा गिरी परेका थिए ।

यस्तै अर्का नेता दयाल बहादुर शाही । ओलीले खासै वास्ता नगर्दा पनि शाही भने आफू ओलीको एक मात्र ‘भक्त’ भएको घोषणा गर्थे । यतिसम्म कि बालकोटमा ओलीले शाहीलाई भेटको समय नदिइरहँदा पनि
ओलीको प्रसंसा गरेर उनले थुप्रै पत्रपत्रिकामा निरन्तर लेख लेखिरहे । युट्युबतिर समेत सस्ता गालीयुक्त अन्तर्वार्ता दिन पुग्ने उनै शाहीलाई अन्तत:ओलीले पछिल्लो प्रतिनिधिसभामा मनोनित सांसद बनाइदिए ।

गोकुल बास्कोटा त्यस्तै पात्र हुन् । एमालेमा ओलीको कुरा कसैले नसुन्दा पनि बास्कोटा भने काभ्रे जिल्ला कमिटी अध्यक्ष हुँदा ओलीलाई जिल्लामा बोलाएर प्रमुख अतिथि बनाउँथे । ओली जब पार्टी र राज्य सत्तामा आए त्यसपछि भने रिटर्न गिफ्टको रुपमा बास्कोटालाई निकट सहयोगी बनाएर काम गराए । पछि उनले आकर्षक मन्त्रालयको जिम्मेवारी पनि पाए । यसपटकको मन्त्रिमण्डलमा रक्षामन्त्री बनेका मानवीर राईले पनि ओलीबाट सरप्राइज स्वरुप रक्षा मन्त्रालय पाएका हुन् । राई तिनै नेता हुन् जसले सगरमाथाको जिल्लामा एमालेलाई संकटका बेला पनि सिद्धिनबाट जोगाएका थिए । नियमित जस्तै कार्यकर्ताहरुले छाडेका बेला मानवीरले ओलीको मुख हेरेरै जिल्लामा एमाले पार्टी र गुट जोगाइराखेका थिए ।

कुनै बेला एमालेमा ओलीको कुरा कसैले सुन्दैनथ्यो । उनी लामो समय बिरामी परे । पार्टीमा पनि खासै प्रभाव थिएन । गृहमन्त्री बनेका बेला थुप्रै आलोचना सामना गरे । जतिबेला बल्खुमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम मोदनाथ प्रश्रितहरु पार्टीका गम्भीर निर्णयबारे घोत्लिएर बस्थे । ओलीका तर्कहरुले खासै महत्त्व पाएनन् । माधव नेपाल महासचिव र अध्यक्ष बन्दा ओलीले गुट बनाउने प्रयास त गरेका थिए तर उनको गुट राजनीति निरर्थक जस्तै थियो । पार्टीको शीर्षस्थानमा उनी अटाए पनि उनका कुरा कहिल्यै लागु भएनन् । यतिसम्म कि माधव नेपालहरु गम्भीर छलफलमा हुँदा उनी जिल्ला कार्यकर्ताहरुसँग ठट्टा गरेर बस्थे ।

चञ्चले बानी

ओली ससाना कुरामा अपडेट हुन्छन् र त्यस्ता कुरामा ध्यान पनि दिन्छन् । ठूला नेताहरुलाई आम र साना कुराप्रति चासो हुँदैन भन्ने सोचाइको ठीक विपरीत ओली ससाना कुराहरुमा निकै चासो राख्छन् । जस्तै क्यारेमबोर्ड, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेल उनी खेलिरहन्छन् ।

आफ्नो नजिकै सहयोगी वा जोसुकै भए पनि उनी ‘सानो मान्छे’ भनेर हिचकिचाउँदैनन् । उनी चेस खेल्छन् । टेबलटेनिस खेल्छन् । भलिबल खेल्छन् । ससाना केटाकेटी भेटे भने काखमा लिएर उनीहरु जस्तै कुरा गरिदिन्छन् । अरु ठूला नेताले हिचकिचाउने आनीबानीमा ओली खुसी भएर रमाइदिन्छन्। ओलीका यस्तै ससाना कुरामा रमाउने बानी अनौठो छ । यस्तो लाग्छ कि उनको केटाकेटी जस्तै चन्चले मन देखेर नजिकै बस्ने नेताहरु अनौठो लोभिन्छन् ।

काठमाडौंकै संगीतकर्मीहरुको भेटको क्रममा उनले सारंगी बजाएको भिडियो र फोटो अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ । कहिले एलओडीमा गएर सेल्फी खिच्ने त कहिले तिजमा महिलाहरुसँगै नाचिदिने उनको अनौठो बानी विरलै नेताहरुमा भेटिन्छ ।

जिल्ला र क्षेत्र केन्द्रित

ओलीको एउटा यस्तो बानी छ उनी पार्टी होस् वा सरकारमा तेह्रथुम वा झापाका कार्यकर्ता र योजनाहरुमा विशेष ध्यान दिने गर्छन् । तेह्रथुमको कार्यकर्ता आयो भने उनी तीन पुस्ते सोध्छन् । झापाका आम कार्यकर्ता आए पनि उनी विशेष ध्यान दिएर भेट्छन् । अर्थात् राष्ट्रिय नेता भएर पनि उनी आफ्नो गृहजिल्लाको हकमा राष्ट्रिय छवि देखाउन भने चुकेकै हुन्छन् । हुन त आम नेताहरुको साझा बानी नै हो यो । ओली विशेषगरी पूर्वेली र त्यसमा पनि गृहजिल्ला तेह्रथुम र झापाका मान्छेहरुलाई तुलनात्मक रुपमा बढी ध्यान दिन्छन् ।

मूख्यतया नियुक्तिको सवालमा ओलीले आफ्नो भूगोल र क्षेत्रीयता आम नागरिकले बुझ्ने गरी देखाएका छन् । युवराज खतिवडा, देवराज घिमिरे, हालै उद्योगमन्त्रीमा नियुक्त भएका देवराज दाहाल लगायत……लगायत नेताहरुलाई उनले बोलाएरै महत्त्वपूर्ण ठाउँमा नियुक्ति दिए ।

काम लाग्ने मान्छेको पहिचान

‘सबै कुराको मलाई जानकारी छैन’ भन्ने कुरा ओलीलाई राम्री थाहा छ । तर देखिँदा त्यस्तो देखिँदैन । ओली ‘सबै कुरा मलाई थाहा छ’ जस्तो सर्वज्ञानी जस्तो बनेर आफ्नो आत्मबल देखाउँछन् । यसको पछाडि एउटै कारण छ । त्यो हो, ओली आफूलाई यो मान्छे कतिबेला कहाँ काम लाग्छ भनेर मान्छेलाई राम्ररी पहिचान गर्छन् । उदाहरणका लागि उनी पहिले राम्ररी अंग्रेजी जान्दैनथे । परराष्ट्रमन्त्री बनेका बेलासमेत उनको अंग्रेजी भाषा त्यति राम्रो थिएन ।

जब उनी परराष्ट्रमन्त्री बन्दा भुटान भ्रमणमा गए त्यहाँ उनले आफ्ना कुरा अंग्रेजीमा व्यक्त गर्न नसकेपछि नेपाल आएर तुरुन्तै गोप्य रुपमा अंग्रेजी भाषा सिके । क्रमश उनी अहिले सहज रुपमा अंग्रेजीमा आफ्ना कुरा व्यक्त गर्न सक्छन् । र बुझ्न सक्छन् । ओली संस्कृतका अप्ठेरा स्लोकहरु पनि सजिलै भनिदिन्छन् । इतिहास र सिद्धान्तका कुराहरु पनि उनी एकदम विज्ञकै शैलीमा भन्छन् । जवकि उनी सम्बन्धित विषयमा जानकारहरुसँग त्यस सम्बन्धी सामान्य जानकारीको अपडेट लिने गर्छन् ।

विज्ञान, प्रविधि, खेलकुद, संगीत, साहित्य, दर्शन लगायत विषयमा सबै पढेर नजाने पनि उनले विभिन्न समयमा त्यस्ता विज्ञ वा सम्बन्धित व्यक्तिको संगत र जिज्ञासाले सिकेका हुन् । जुन बानी एमालेकै अरु नेताहरुसँग निकै कम छ । उदाहरणका लागि माधव नेपाल, झलनाथ खनालहरु अहिले पनि भाषण गर्दा घन्टौंसम्म कार्यकर्ताहरुलाई १९औं शताब्दिका जार्गन सुनाएर थकित बनाउँछन् । ओलीले भने कहिले एआईको कुरा गरिदिन्छन् । कहिले क्रिकेटको कुरा गरिदिन्छन् । कहिले लोककथा र उखान टुक्का सुनाएर हँसाउँछन् । आम दर्शकको मनस्थिति के छ भन्ने बुझेरै उनी परिस्थितिलाई आफ्नो पक्षमा लिन्छन् ।


क्लिकमान्डु