संसद्‍ भवन निर्माणको ढिलाइबारे सम्बन्धित अधिकारीहरु छलफलमा



काठमाडौं । संसद्‍ भवनको निर्माण प्रक्रियामा ढिलाइ भएको विषयमा छलफल गर्न सम्बन्धित निकायहरुको बैठक बसेको छ । शुक्रबार सभामुख, उपसभामुखसहित मन्त्रीहरु र सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच छलफल भएको छ ।

बैठकमा निर्माणाधिन संसद भवन निर्माणमा ढिलाइ भएको विषयमा सभामुख देवराज घिमिरेले चासै राखेका थिए । सभामुखले शुक्रबार बिहान ११ बजेपछि सिंहदरवारस्थित कार्यकक्षमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका थिए ।

छलफलमा सभामुख घिमिरेले निर्माण कार्यलाई तीब्रता दिनुपर्ने प्रतिक्रिया दिएका थिए । नेपाल सरकारले सिंहदरबार परिसरभित्र केही वर्षदेखि नै संसद्‍ भवन निर्माण गरिरहेको छ ।

२०६४ को चुनावपछि पुनस्थापित भएको संसद्‍ एवं संविधानसभा भने नयाँ बानेश्वरस्थित अन्तर्राष्टिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको हो । नयाँ संविधान निर्माणपछि संविधानसभा विघटन भए पनि प्रतिनिधिसभा भने सोही भवनमा सञ्चालन हुँदै आएको छ ।

सिंहदरबार परिसरमा निर्माणाधीन भवन भने कहिले सम्पन्न हुने मिति अझै यकिन भइसकेको छैन । जवकि यतिन्जेल निर्माण सम्पन्न गर्नुपर्ने भन्दै आलोचना पनि हुने गरेको छ ।


क्लिकमान्डु