सिमलताल पहिरोले बगाएका १५ यात्रुको शव भेटियो, ८ जनाको सनाखत



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएका दुईवटा बस र ६५ यात्रुमध्ये अहिलेसम्म १५ यात्रुको शव भेटिएको छ ।

मंगलबार बिहानसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको थियो । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको घटनास्थलमा खटिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

यस्तै चिवनको माडी-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा-३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका-२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर-६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको पनि सनाखत भएको छ ।

उनीहरुको शव परिवार र आफन्तहरुले बुझिसकेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार शव भेटिनेमा ६ पुरुष १ महिला गरी ७ जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा भेटिएको प्रहरीले बताएको छ ।

गत असार २८ गते बिहान ३ बजेपछि चितवनको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौंबाट वीरगन्ज जाँदै गरेको दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाउँदा बससहित यात्रुहरु बेपत्ता भएका थिए । उनीहरुको खोजी कार्य अहिले पनि जारी छ । कतिपय यात्रुलाई बगाएर भारत पुर्‍याएको आशंका गर्दै भारततर्फ पनि खोजीको पहल भइरहेको चितवन जिल्ला प्रशासनले जनाएको छ ।


क्लिकमान्डु