हेटौंडाको कार्टुन उद्योगमा आगलागी, नवलपरासीमा १० घर जल्यो



हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ औद्योगिक भित्र रहेको कार्टुन उद्योगमा आगलागी हुँदा उद्योग र उद्योग भित्र रहेका सरसामान पूर्ण रूपमा नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर -१९ बस्ने सञ्जीव मानन्धरले सञ्चालन गर्दै आएको हेल्पबक्स प्याकेजिंङ प्रालिद्वारा सञ्चालित कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आगलागी हुँदा मानवीय क्षति नभए पनि फ्याक्ट्री पूर्ण रूपमा क्षति भएको, तत्काल के कति क्षति भएको भन्ने विवरण नखुलेको प्रहरीले जनाएको छ ।

उद्योगमा आगो के कारणले लागेको भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । उद्योगमा लागेको आगो जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएका छन् ।

यस्तै नवलपरासीमा आगलागी हुँदा १० घर जलेर नष्ट भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन् ।

आगलागीमा ८ वटा बाख्रा पनि मरेको डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्।

आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो ।

गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ । जिल्लाका ७ स्थानीय तहमध्ये २ वटा स्थानीय तहसँग मात्र दमकल रहेका छन् ।


क्लिकमान्डु