फिस्कल बफर बनाउन नसक्ने देशलाई अनिवार्य दायित्व पूरा गर्न समेत समस्या हुन्छ: आईएमएफ

119
Shares

अमेरिका, वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिटा गर्गियोभाले भविष्यमा आउन सक्ने जोखिमलाई व्यवस्थापन गर्न सक्ने गरी वित्त नीतिमा सुधार गर्नु पर्ने बताएकी छिन् ।

ग्लोबल पोलिसी एजेण्डा २०२४ सार्वजनिक गर्दै गर्गियोभाले कोरोना महामारीको क्रममा ऋण लिएर गरिएको खर्चले फिस्कल बफर कमजोर भएकाले आगामी दिनमा सबै देशहरुको प्राथमिकतामा फिस्कल बफर बनाउनेतर्फ केन्द्रित हुनु पर्नु पर्ने बताईन् ।

सरकारले गरेको खर्चको उत्पादकत्व कमजोर हुँदा आर्थिक वृद्धिमा नकारात्मक असर परेकाले फिस्कल बफर बनाउँदै खर्चको गुणस्तर बढाउने कोषले जोड दिएको हो । सन् २००० देखि २०१९ सम्ममा संसारको औषत आर्थिक वृद्धी ३.८ प्रतिशत भएकोमा आगामी वर्ष ३.१ प्रतिशत आर्थिक वृद्धि हुनुलाई सकारात्मक मानन्न नसकिने गर्गियोभाको भनाइ छ ।

‘मौद्रिक नीतिमा गरिएको कडाईले अहिले महँगी घटेको छ तर हटिसकेको भने छैन । अब मौद्रिक नीतिमा भन्दा पनी वित्त नीतिमा केन्द्रित हुने समय आएको छ,’ गर्गियोभाले भनिन्- ‘कोरोना महामारीजस्तै समस्या फेरि आयो भने अहिले कुनै पनि देशसँग तत्काल खर्च गर्न सक्ने स्पेश छैन । कोरोनाले कुल सार्वजनिक ऋण ह्वात्तै बढाएको छ । ऋणको सावाँ र ब्याज तिर्न समेत कठिन हुने अवस्था छ । त्यसैले फिस्कल बफर निर्माण गर्दै आगामी दिनमा आउन सक्ने जोखिम व्यवस्थापन गर्ने स्पेश बनाउनु पर्छ ।’

कोरोना महामारीपछि ऋण तथा ऋणको लागत उच्चदरमा बढेको भन्दै फिस्कल स्पेश निर्माण नगर्ने देशलाई आगामी दिनमा दायित्व पुरा गर्न कठिन हुने गर्गियोभाले चेतावनी दिइन् ।

‘अहिलेको प्राथमिकता राजस्व बढाउने तथा खर्चको गुणस्तर बढाउने तर्फ केन्द्रित हुनै,’ गर्गियोभाले भनिन्- ‘राजस्व बढाउने निर्णय गर्दा कमजोर र जोखिममा रहेका समुहलाई समस्या नहुने विषयमा भने सचेत हुनुपर्छ ।’

अर्थतन्त्रको आधार बलियो बनाउने तथा उत्पादन बढाउने, देशहरुबीच सहकार्य बढाउने तथा संरचना बलियो विषय वित्त नीतिमा सुधार गर्दा समेटिनु पर्ने गर्गियोभाले बताइन् । सबै देशले आफूले कोषसँग गरेका प्रतिवद्धताअनुसार नीतिगत सुधार गर्दै आर्थिक वृद्धिमा ध्यान दिन सक्यो भने आगामी दिनमा आउन सक्ने जोखिम व्यवस्थापनमा सफलता मिल्ने गर्गियोभाले धारणा राखिन् ।

‘समृद्धि हासिल गर्न कठोर नीतिगत सुधारको काम गर्नु पर्छ । पछिल्लो ४ वर्षमा भोगिएका बिभिन्न संकटले कमजोर बनाएको फिस्कल बफर बलियो बनाउने पहिलो नीतिगत प्राथमिकता हुनुपर्छ,’ गर्गियोभाले भनिन्-’मध्यकालिन दीगो विकास र आर्थिक वृद्धि हासिल गर्नु दोस्रो प्राथमिकता हुनु पर्ने र आइएमएफसँग गरिएका प्रतिवद्धता अनुसार नीतिगत सुधारका काम गर्नु तेस्रो प्राथमिकता हुनुपर्छ ।’