ईरान-इजराइल भिडन्तले इन्धनको विश्वबजारमा असर, प्रतिब्यारेल मूल्य १०० डलरमाथि पुग्ने



काठमाडौं । पछिल्लो समयमा ईरान र इजराइलबीच तनाव सुरु भएको छ । ती दुबै मुलुकबीच १ अप्रिलदेखि तनाव सुरु भएको थियो । यो तनाव बढेसँगै क्रुड आयल (कच्चा तेल) प्रति व्यारेल ८० डलरबाट बढेर ९० डलरमा पुगिसकेको छ ।

ती दुबै मुलुकबीचको तनावका कारण संसारभरको २० प्रतिशत तेल आपूर्ति हुने रुट (मार्ग) माथि ईरानले अहिले मिसाइल तैनाथ गरेको छ । यसले गर्दा आगामी दिनमा विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढ्न सक्ने अन्तर्राष्ट्रिय इन्धन विश्लेषकहरुले बिश्लेषण गरेका छन् ।

१ अप्रिलमा इजराइलले सीरियास्थित ईरानी दूतावासमा हमला गरेको थियो । यो हमलाको १२ दिन (१३ अप्रिल) पछि जवाफ दिँदै इरानले इजराइलमाथि ३ सय मिसाइल र ड्रोनको सहयोगमा आक्रमण गरयो ।

ती दुबै मुलुकको तनावका कारण मध्यपूर्वको अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्न सक्ने चेतावनी विश्लेषकले दिएका छन्। यसको असर दक्षिणी छिमेकी मुलुक भारतसँगै नेपालीको स्वदेशी बजारमा पर्ने अवस्था सिर्जना भएको छ ।

तेल आपूर्ति गर्ने रुटमा ईरानी मिसाइलको उपस्थिति

इजराइलमाथि हमला गर्नुअघि ओमानको खाडीमा होर्मुज पासबाट जाँदै गरेको इन्धनको एउटा जहाजलाई आफ्नो नियन्त्रणमा लिएको थियो । संसारभर इन्धन आपूर्ति हुने कुल परिमाणमध्ये २० प्रतिशत यहि बाटोबाट हुने गर्छ ।

यो बाटोमा अहिले ईरानको सयौंको संख्यामा व्यालेस्टिक र क्रुज मिसाइल तैनाथ गरिएको छ । अर्थात् यो बाटोबाट नियमित रुपमा भइरहेको कच्चा तेलको आपूर्ति अहिले प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिक सञ्चारमाध्यमहरुका अनुसार ति दुवै मुलुकबीच अझै ठूलो तनाव बढ्यो भने इजराइलले पनि यो बाटोमार्फत हुने जहाजको अवागमन पूर्ण रुपमा रोक्न सक्छ । ईरानले स्वेज नहरलाईसमेत ब्लक गर्ने चेतावनी दिसकेको छ ।

स्वेज नहरमार्फत प्रत्येक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढि कच्चा तेलको आपूर्ति हुन्छ । सन् २०२३ मा भारतले आफ्नो लागि करिब ७० प्रतिशत कच्चा तेल स्वेज नहरमार्फत नै आपूर्ति गरेको थियो । भारतले महँगो मूल्यमा इन्धन खरिद गरे नेपालीले पनि महँगो मूल्य नै तिर्नुपर्ने अवस्था सिर्जना हुनेछ । किनभने नेपालले भारतको इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग इन्धन खरिद गर्दैआएको छ ।

स्वेज नहर र होर्मुज पासमा कुनै पनि बहानामा हुने अवरोधले इन्धन आपूर्तिको ठूलो परिमाणलाई प्रभावित गर्न सक्छ । यो तनावले गर्दा अहिले नै इन्धनको अन्तर्राष्ट्रिय बजारमा असर पुर्याउन सुरु गरिसकेको छ ।

अमेरिकाको थिंक टैंक ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्डडीज’ का अनुसार ति दुवै मुलुकबीच सुरु भएको तनाव कम भएन भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुग्न सक्छ ।

भारतीय इनर्जी पोलिसी तथा जियोपोलिटिक्स बिज्ञ नरेन्द्र तनेजाका अनुसार इन्धन विश्वभर राजनीतिक वस्तु हो । संसारभर खपत हुने करिब तीन चौथाईभन्दा बढी तेल मध्य पूर्व(मिडिल इस्ट) बाट आपूर्ति हुन्छ । यो क्षेत्रमा तेलको सबैभन्दा ठूलो उत्पादनकर्ता मुलुक साउदी अरब, कुवैत, ओमान र युएईलगायतका छन् ।

इन्धन आपूर्तिको मुख्य ८ बाटो

संसारभर इन्धन आपूर्ति हुने मुख्य ८ वटा रुट छन् । यी ८ वटा रुटमा दानिश स्ट्रेट, तुर्किस स्ट्रेट, स्ट्रेट अफ होर्मुज, स्ट्रेट अफ मलक्का, केप अफ गुड होप, स्वेज कनाल, बाब अल मानदेव र पनामा कनाल पर्छन् ।

यसमध्ये प्रतिदिन स्ट्रेट अफ होर्मुज रुटबाट १९.० मिलियन ब्यारेल, स्ट्रेट अफ मलक्काबाट १६ मिलियन ब्यारेल, केप अफ गुड होपबाट ५.८ मिलियन ब्यारेल, स्वेज कनाल र बाब अल मानदेवबाट ५.५-५.५ मिलियन ब्यारेल, दानिश स्ट्रेटबाट ३.२ मिलियन ब्यारेल र पनामा कनाल रुटमार्फत् १ मिलियन ब्यारेल तेल आपूर्ति हुन्छ ।

तेलको मूल्य दुई बस्तुमाथि निर्भर

माग र आपूर्ति : अहिले तत्कालै तेलको माग र आपूर्तिमा कुनै समस्या आएको छैन । मागभन्दा बढी परिमाणमा बजारमा तेल उपलब्ध छ । यस्तोमा तत्कालै तेलको मूल्य अस्वाभाविक रुपमा बढ्न सक्ने अवस्था सिर्जना भएको छैन ।

तर ईरानले होर्मुज पास रुटमा कुनै पनि प्रकारको अवरोध सिर्जना गर्यो भने सप्लाई चेन प्रभावित भएर कच्चा तेलको मूल्य अस्वाभाविक रुपमा बढ्न सक्ने विश्लेषकहरुले औल्याएका छन् ।

भूराजनीतिक : अहिले कच्चा तेलको मूल्यमा जिओपोलिटिक्सको भूमिका अहम रुपमा देख्न थालिएको छ । जुन दिनदेखि ईरान र इजराइलबीच तनाव बढ्न सुरु भयो, त्यो दिनदेखि कच्चा तेलको मूल्य बढ्दै गएको छ । यसको पछाडी स्पैक्युलेटर्स र परिस्थितिलाई बुझ्न सक्ने व्यक्ति पनि कारक तत्वको रुपमा देखा परेका छन्

स्पैक्युलेटर्स भनेको सानो तनाव हुँदा पनि ओभर रिएक्ट गर्नु । अर्थात् सानो समस्या पर्दा पनि बजारमा तेलको मूल्य तिव्र गतिमा बढ्दै जान्छ । अर्को हो परिस्थितिलाई बुझ्न सक्ने व्यक्ति । यस्ता व्यक्तिले एक्कासी तेलको मूल्य बढ्नसक्छ भनेर जानकारी दिँदैनन् । यस्ता व्यक्तिहरुले पहिले अवस्थाको विश्लेषण गर्छन् ।

यस्ता समूहहरुका अनुसार अहिलेको अवस्थामा ईरान ठूलो युद्ध गर्ने मुडमा छैनन् । इजराइल पहिलेदेखि नै गाजामा युद्ध लडिरहेको छ । यस्तो परिस्थितिमा ति दुवै मुलुक लामो समयसम्मको लागि युद्ध गर्ने अवस्थामा छैनन् ।

यस्तो अवस्थामा तेलको मूल्यमा केही दबाब भने बनिरहनेछ । इजराइलले प्रतिउत्तर हमला नगरेसम्म अहिले नै के हुन्छ भनेर भन्न सक्ने अवस्था भने छैन ।

भारतलाई कच्चा तेल बिक्री गर्ने प्रमुख ५ मुलुक

भारतलाई प्रमुख ५ मुलुकले कच्चा तेल बिक्री गर्दैआएको छ । रुस, इराक, साउदी अरब, युएई र अमेरिकाले भारतलाई तेल बिक्री गर्दैआएको छ । यसमध्ये सबैभन्दा बढी रुसबाट भारतले कच्चा तेल आयात गर्छ । कुल आयात परिमाणमध्ये झण्डै एक चौथाई रुसबाट भारतले कच्चा तेल किन्दै आएको छ । यसपछि इराक, साउदी अरब, युएई र अमेरिकाबाट कच्चा तेल भारतले किन्दै आएको छ ।

अमेरिकी दबाबका बीच पनि भारतले चलाखी गर्दै ईरानबाट खरिद गर्यो तेल

सन् २०११ नोभेम्बरमा अमेरिकामा निर्बाचनको माहौल बनेको थियो । त्यो वेला ओबामाले ईरानविरुद्ध आर्थिक नाकावन्दीको घोषणा गरेका थिए । यसको मुल कारण ईरानको परमाणु कार्यक्रम थियो ।

यो निर्बाचनमा ओबामाले जित हासिल गरेका थिए । यो जितपछि ओबामाले फेरी ईरानमाथि आर्थिक प्रतिवन्ध लगायो ।

यो प्रतिवन्ध निक्कै कडा थियो । अमेरिकाले संसारभरको बैंकलाई ईरानको तेलवापत हुने सम्पूर्ण भुक्तानी रोक्न निर्देशन दिएको थियो । तर ७ मुलुकलाई भने विशेष छुट दिइएको थियो । त्यो छुट पाउनेमा भारत, साउथ कोरिया, मलेसिया, साउथ अफ्रिका, श्रीलंका, ताइवान र तुर्किश थियो । छुट पाएपनि यो ७ वटै मुलुकलाई भने ईरानबाट तेल खरिद नगर्न अमेरिकाले चर्को दबाब दिएको थियो ।

त्यही वेला भारतमा इजराइली दूताबासको सबारी साधनमाथि हमला भएको थियो । जसमा इजराइली राजदूतको श्रीमति घाइते भएकी थिइन् । यो घटनाले अमेरिकाले झनै भारतमाथि दबाब सिर्जना गरेको थियो, ईरानसँग इन्धन खरिद नगर्न । यो घटनाको केहि दिनपछि ईरानबाट तेल खरिद गर्ने मुलुकहरुको तथ्यांक सार्वजनिक भएको थियो । यो तथ्यांकले अमेरिकालाई समेत आश्चर्यचकित तुल्याएको थियो ।

किनभने अमेरिकाको दबाबका बाबजुद भारत ईरानबाट सबैभन्दा ठूलो परिमाणमा कच्चा तेल खरिद गरेको थियो । दोश्रोमा चीनले खरिद गरेको थियो ।


क्लिकमान्डु