उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुन्छ, समाधान गरियोस्ः अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङले उद्योगीहरु थप मर्माहत भएको बताए ।

उनले एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको बताए । उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गरे । उनले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताए ।

उनले महंगो दरमा आयात गरेर भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गरे । उनले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको बताए ।

अग्रवालले यसो भने

समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको छ । नियमित विद्युतको आपूर्ति उद्योगहरुको लागि लाइफलाइन हो । तर पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको छ । एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको छ, अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको छ, यो कस्तो नीति हो ? हामीले बुझ्न सकेका छैनौँ । विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको छ । केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्छ । त्यसैले महंगो दरमा आयात गरेर भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्दछु ।


क्लिकमान्डु