वर्ष २०८०: कमजोर प्रवर्द्धनमा उत्साहजनक पर्यटक आगमनको वर्ष



काठमाडौं । नेपालमा पर्यटक आगमन प्रवर्द्धन नै नगरे पनि प्राकृतिक वृद्धिको भरमा अहिले आएकै संख्यामा पर्यटक आउँछन् भन्ने गरिन्छ । पछिल्लो एक वर्ष नेपालले पर्यटन प्रवर्द्धनमा खासै खर्च गर्न नसक्दा बढेको तथ्यांकले समेत यही पुष्टि गर्छ । पछिल्लो एक वर्षमा १० लाख पर्यटक नेपाल आएका छन् । गत वर्ष चैत १६ देखि यो वर्ष चैत १५ सम्ममा आएका पर्यटक संख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।

नेपालको प्रवर्द्धन गर्ने एकमात्रै निकाय पर्यटन बोर्डको प्रवर्द्धनात्मक गतिविधि चालु आर्थिक वर्षको साउनदेखि ठप्प छ । बोर्डले यो वर्ष पर्यटन प्रवर्द्धन नै गर्न सकेको छैन । विदेशमा गर्ने प्रवर्द्धनात्मक कार्यको लागि आवश्यक खर्च कार्यविधि नभएको भन्दै यो वर्ष प्रवर्द्धनको काम रोकेको हो । बोर्डले प्रवर्द्धन ठप्प बनाएकै वर्ष पनि पर्यटक आगमन भने गत वर्षको तुलनामा २ लाख ३६ हजारले बढ्नुलाई सकारात्मक रुपले हेरिएको छ ।

कमजोर प्रवर्द्धनको वर्षमा पनि उत्साहजनक पर्यटक आउनुलाई गत वर्षको सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछाने बताउँछन् । ‘गत वर्ष असारसम्म गरेकै प्रचारका कारण यो वर्ष पर्यटक आगमनमा उत्साह देखिएको हो,’ उनले भने ।

बोर्डले प्रवर्द्धनात्मक गतिविधि गर्न नसकेको समयमा पनि नेपालमा ठूला इभेन्ट भने भएका छन् । त्यसैको प्रभाव प्रवर्द्धन कमजोर हुँदा पनि देखिएको लामिछानेको बुझाइ छ । नेपालमा पर्यटकीय वातावरण बन्दै जाँदा ‘नेचुरल ग्रोथ’ पनि स्वभाविक हुन्छ,’ लामिछानले भने, ‘असन बजारको एक पटक ब्राण्डिङ भए पनि अब थप प्रचार नगरेपछि पुरानै नामले ग्राहक आइरहन्छ भने जस्तै सिद्धान्त पर्यटनमा पनि लागू हुन्छ ।’ यसको अर्थ एक पटक आएका पर्यटकमा मात्रै भर नपरेर बोर्डले गर्ने प्रवर्द्धनबाट नयाँ नयाँ पर्यटक आइरहुन् भन्ने हो ।

यो वर्ष पर्यटक आगमन भनेको गत सालको प्रभाव हो भने अब यसपालि भएको प्रवर्द्धनले अर्को वर्षलाई काम गर्ने बोर्डकै कर्मचारी बताउँछन् । पर्यटन बोर्ड आफैं सहभागी भएर प्रवर्द्धनको काम नगरेको भए पनि नेपालमा भएका प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को अन्तर्राष्ट्रिय सम्मेलन, हिमालन ट्राभल मार्ट, ड्रागन बोट, अमेरिकीसँग मिलेर भएको कार्यक्रम, १० जना अन्तर्राष्ट्रिय भ्लगरसहितका कार्यक्रम गत वर्ष भएको थियो । सोही कार्यक्रमले पर्यटक आगमनमा सकारात्मक वृद्धि हुन सकेको पर्यटन बोर्डका अधिकारी बताउँछन् ।

बोर्डको भौतिक रुपमा उपस्थिति नभए पनि निजी क्षेत्रको सक्रियताकै कारण पर्यटक आगमनमा अब कमी नहुने भनाइ पर्यटन बोर्डको छ । बोर्डले प्रवर्द्धन गर्दा बढ्ने पर्यटकको योगदान भनेको ५ देखि १० प्रतिशत मात्रै हो । यसलाई तथ्यांकमा हिसाव गर्दा ५० हजार देखि १ लाख पर्यटक बढाउन यसले सहयोग गर्ने बोर्डका अधिकारीको भनाइ छ ।

भैरहवा र पोखराले दिएको उड्डयन तनाव

सरकारले एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय र चीनको सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेको छ । एक वर्ष अगाडि औपचारिक उद्घाटन भएको पोखरा विमानस्थलमा अहिलेसम्म एउटा पनि व्यवसायिक उडान हुन नसक्दा र भैरहवाबाट पनि अन्तर्राष्ट्रिय उडान गर्न नसक्नुलाई उड्डयन प्राधिकरणको लागि तनावपूर्ण वर्ष रह्यो ।

युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हट्न नसक्नु, वायुसेवा निगमसँग नियामक निकायको टलस बढ्नु र नियामकको कसिलो नीतिका कारण वायुसेवा सञ्चालक संघ असन्तुष्ट हुनुले पनि वर्ष २०८० उड्डयन प्राधिकरणका लागि तनावपूर्ण रह्यो ।

प्राधिकरणले वायुसेवा कम्पनीलाई जति प्रोत्साहन गर्दापनि त्यहाँ हुनुपर्ने पूर्वाधार र अन्तर्राष्ट्रिय वायुसेवाको रुची नहुँदा पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने सकेन । नागरिक उड्डयन प्राधिकरण अन्तर सरकारी निकायको समन्वय नहुँदा दुबै विमानस्थलबाट उडान गर्न नसकिएको भन्दै पन्छने गरेको छ ।

सरकारले लगानी खन्याएका यी दुई विमानस्थलबाट हुने उडान र अवतरणको व्यवस्थापन मिलाउन नसक्नुलाई उड्डयन क्षेत्रको कमजोरीका रुपमा लिइन्छ । यद्यपी हवाई उडान सुरक्षाका हिसावले भने यो वर्ष उत्साहप्रद नै रहेको प्राधिकरणको भनाइ छ ।

उड्डयनका दृष्टिले पनि वर्ष २०८० लाई सकारात्मक रुपमा हेरिएको वायुसेवा सञ्चालक संघको भनाइ छ । वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा श्री एयरका कर्पोटर प्रवन्धक अनिल मानन्धर जहाज थप भएको दृष्टिले र सकारात्मक सन्देश दिन सकिनुले पनि वर्ष २०८० लाई सकारात्मक लिन सकिन्छ ।

यो वर्ष श्री एयरलाइन्सले २ वटा, बुद्धले २ वटा र यतीले २ वटा आन्तरिक उडानमा ठूला क्षमताका जहाज भित्र्याएका छन् । यी वायुसेवाले भित्र्याएको ६ वटा जहाजबाट मात्रै कम्तिमा ४ सय भन्दा बढी यात्रु क्षमता बढाएको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

पर्यटन पूर्वाधारमा उत्साह

सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रभावका कारण धमाधम पर्यटकीय पूर्वाधार थपिनुलाई भने उत्साहप्रद मान्न सकिन्छ ।

यो वर्ष सरकारले पर्यटन दशक घोषणा गरेको छ यसले सकारात्मक सन्देश भने दिएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । ‘कोभिड पूर्वको अवस्थामा पर्यटन पुगेको छ भने ३० लाख भन्दा बढी पर्यटक राख्न सक्ने क्षमता बनेको छ । यसलाई भने सकारात्मक रुपमा लिन सकिन्छ’ उनले भने ।

सरकारले घोषणा गरेको कार्यक्रमलाई भने सफल बनाउन गर्ने विभिन्न प्रयास र तथा यसलाई सफल पार्ने विषय भने चुनौतिपूर्ण भएको पनि हानका महासचिव शाक्यले बताए । यद्यपी पर्यटकीय पूर्वाधारको हिसावले भने सानाठूला होटल प्रयाप्त थप भएकोले पनि पर्यटन व्यवसायी आशावादी रहेका छन् ।

भएको पूर्वाधारको भरपुर उपयोग गर्न अब सरकारले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउने, विदेशी वायुसेवालाई काठमाडौं बाहिर उडान गर्न प्रोत्साहन गर्नुपर्छ । पर्यटकीय प्रडक्ट बनाएर प्रवर्द्धनको काम गर्ने हो भने अहिले थालिएको पर्यटन सुधारको प्रयासलाई सकारात्मक मान्नुपर्ने बुझाई पर्यटन व्यवसायीको छ ।


क्लिकमान्डु