सरकारमा आउन अन्य दललाई एमालेको आग्रह



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए ।

एमाले २९ औं सचिवालय बैठकले पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गर्ने भएको छ । त्यसअघि वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद आयोजना गर्ने तथा वैशाख १० गते स्थापना दिवसको कार्यक्रम आयोजना गर्ने एमालेले जनाएको छ ।


क्लिकमान्डु