अब अर्थमन्त्रालय कठोर हुँदैन, बजारमा पैसा पठाएर आर्थिक गतिविधि बढाउने हो: अर्थमन्त्री पुनको विचार
१२ वर्षपछि खोला फर्किन्छ भन्छन् । म पनि १२ वर्षपछि फेरी अर्थ मन्त्री भएको छु । अहिले अर्थमन्त्री हुँदै गर्दा विकासे मन्त्रालयको पनि अनुभव लिएर आएको छु ।
२०६८ सालमा मलाई गुरिल्ला अर्थ मन्त्री भन्थे । त्यस बखत २/३ महिना मलाई अर्थमन्त्रीको रूपमा कसैले रेस्पोन्स गरेको थिएन।
अहिले जुन तरिकाले स्वागत गर्नु भयो त्यसले थप जिम्मेवारी थपेको छ । यस्तै, विकासे मन्त्रालयमा गरेको कामको अनुभवले समेत अर्थ मन्त्रालयलाई सही तरिकाले चलाउनु पर्ने चुनौति छ ।
म उर्जामन्त्री हुँदा गभर्नरसा’प लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । कयौं विषयमा टिममा काम गरेका थियौं । यस्तै, म पहिला अर्थमन्त्री हुँदा उहाँ डेपुटी गभर्नर हुनुहुन्थ्यो ।
१२ वर्षमा धेरै अवस्था फेरिएको छ ।
अर्थ सचिव ज्यु, त्यस बखत सहसचिव हुनु हुन्थ्यो । पर्साको सिडिओ (प्रमुख जिल्ला अधिकारी) को रूपमा हामीलाई हैरान पार्नु हुन्थ्यो ।
राजस्व अनुसन्धानले हेरेका ट्रक फेरी हेर्नु हुन्थ्यो। म सँग कुरा भएपछि केही सहजीकरण गर्न थाल्नु भएको थियो । अहिले उहाँ पनि म्याचुअर भई सक्नु भएको छ।
२०६८ सालमा अर्थमन्त्री हुँदा समेत अर्थतन्त्र दबाबमा थियो। घरजग्गा र सहकारीको समस्या थियो।
त्यस बखतको टिम उक्त समस्या समाधान गर्न सफल भएको थियो।
अहिले पनि म कयौँ पुरानै अनुहार देखिरहेको छु । अब विगतमा जस्तो काम गर्ने ऊर्जा सबैमा नहुन सक्छ । टिम स्पिरिटमा फिट नहुने कर्मचारीलाई हटाउनु पर्ने पनि हुन सक्छ। तर, म सबैलाई समान अवसर दिने र टिममा काम गर्न रुचाउने मान्छे हुँ । आफ्नो टिमलाई विश्वास नगरी काम गर्न सकिँदैन भन्ने मलाई थाहा छ ।
अहिले पनि अर्थतन्त्र समस्यामा छ । तर, अहिलेको समस्या २०६८ सालजस्तो ठुलो होइन।
हामीले बजारमा पैसा पठाएर आर्थिक गतिविधि बढाउन सक्यौ भने अहिले अर्थतन्त्रमा देखिएको मन्दी कम हुँदै जान्छ ।
हाम्रो टिम अहिले देखिएका सबै समस्या समाधान गर्न सफल हुन्छ भन्ने विश्वास छ ।
१२ वर्षको अवधिमा धेरै अवस्था फेरिएको छ । त्यस बखत बिलासी लाग्ने स्मार्ट फोनहरू अहिले अत्यावश्यक भएको छ। हामीले व्यवस्था परिवर्तन गरेर संघिय लोकतान्त्रिक गणतन्त्र ल्यायौ । तर, जनताको अवस्था परिवर्तन भएको छैन। त्यसैले हामीले जनताको अवस्था परिवर्तन गर्ने गरी नयाँ र फरक ढंगले काम गर्नु पर्ने चुनौती छ।
अहिले विश्व अवस्था राम्रो छैन। विभिन्न देशहरू युद्धमा छन् ।
मैले अहिलेको अवस्थालाई सकारात्मक चुनौतीको रूपमा लिएको छु।
भूकम्पको कारण हाम्रो अर्थतन्त्र समस्या पर्यो । यस्तै कोरोना महामारीले अर्थतन्त्रलाई थप नकारात्मक असर गर्यो । यी दुवै समस्या हाम्रा नियन्त्रणमा थिएनन् ।
हामी सबैको सामूहिक प्रयासले भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गरेका थियौँ । भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नहुँदै कोरोना महामारी सामान गर्नु पर्यो ।
अहिले २० प्रतिशत मानिसहरू गरिबीको रेखामुनि छन् । यदि भूकम्प र कोरोना महामारीको सामान गर्नु नपरेको भए गरिबीको रेखामुनि हुने सङ्ख्या १५ प्रतिशत हुने थियो ।भूकम्प र कोरोना महामारीले हाम्रो देशमा ५ प्रतिशत गरिबी बढाएको छ। हामी सबैले गरिबी घटाउने गरी काम गर्नु पर्नेछ ।
अहिले हामीले कामको गति बढाउनु पर्नेछ । सबैले जिम्मेवारीका साथ गति बढाउँदै काम गर्न सक्नु भयो भने अर्थतन्त्र लयमा फर्काउन सकिन्छ भन्ने विश्वास छ ।
अहिले राजस्व वृद्धिदर १० प्रतिशत रहेको छ । सबैले सामूहिक प्रयास गर्ने हो भने राजस्व वृद्धि दरलाई २० प्रतिशत बनाउन सकिन्छ।
राज्यले एक पटक सिर्जना गरेको दायित्व पुरा गर्दैनौ भन्न मिल्दैन । विगतका सरकारले सिर्जना गरेका सबै दायित्व राज्यले भुक्तानी गर्नै पर्छ। हामीले राजस्व पनि बढाउने र खर्च पनि बढाउने गरी काम गर्नु पर्नेछ।
आम्दानी बढाउँदै खर्च बढाउन सक्यो भने बजारमा आर्थिक गतिविधि बढ्छन् । र सुस्त भएको अर्थतन्त्र चलायमान हुन सक्छ ।
अर्थ मन्त्रालयमा लामो समय काम गरेर बाहिरिएका एक जना सहसचिवले भन्नु भएको थियो, हामीले अर्थ मन्त्रालयमा बसेर अन्य मन्त्रालयलाई ज्याजति नै गर्ने रहेछौँ ।
म पनि अर्थ मन्त्री भएर विकासे मन्त्रालय गए । अर्थ मन्त्रालय आवश्यकताभन्दा कठोर हुने रहेछ भन्ने मेरो पनि अनुभव रह्यो ।
अब हामीले त्यसमा हामीले केही परिवर्तन गर्नै पर्छ। हामीले दुःख गरेर संकलन गरेको राजस्व अनावश्यक ठाउँमा खर्च गर्नु हुन्न भन्ने अर्थ मन्त्रालयका साथीहरूको चासो जायज होला । तर, हामीले रोजगारी बढाउन सक्ने, दीर्घकालीन आर्थिक लाभ हुने जस्ता क्षेत्रमा खुल्ला दिलले खर्च गर्नु पर्छ।
म खर्च बढाउनु पर्छ मात्रै भनिरहेको छैन । हामीले आम्दानी पनि बढाउनु पर्छ । खर्च पनि गर्नै पर्छ । सबै क्षेत्रमा कठोर भएर मात्रै हुँदैन ।
अहिले नियामक निकाय हेर्दै डराउनु पर्ने अवस्था छ। तर, नियामकको मुख्य भूमिका सहजीकरण गर्ने हुनु पर्ने हो । गल्ती गर्नेलाई नछोड्न, राम्रो गर्नेलाई सहजिकरण गर्ने । नियामकले सबैलाई डराउने काम किन गर्ने ?
अर्थ मन्त्रालयलाई मन्त्रालयहरूको मन्त्रालय भन्ने गरिन्छ । त्यसैले सबै भन्दा पहिला हामीहरू पारदर्शी हुनै पर्छ । हामीले हामीले विधि बनाउन सक्यौ भने अन्य मन्त्रालयहरू पनि विधिमा बस्छन् ।
म पहिलो पटक अर्थमन्त्री बन्दा पेपर लेस र फेस लेस अडिट कसरी गर्ने भन्ने चुनौती थियो ।
अहिले त आर्टिफिसियल इन्टेलिजेन्सको युग आएको छ। संसारमा प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्नु पर्ने चुनौती हामीसँग छ ।
हामीले गर्नु पर्ने धेरै छ। सबै काम एकै पटक हुँदैनन् । तर, इमानदार प्रयास गर्दा तत्कालै नतिजा दिने गरी काम गर्न सकिन्छ भन्ने विश्वास मलाई छ ।
हामीले अन्तर मन्त्रालय समन्वय बढाउनु पर्नेछ । श्रोत छैन भनेर मात्रै भन्ने होइन, श्रोत यहाँ यति छ यस्तो गरौं भन्न सक्नु पर्छ। सरकारले खर्च नगरी आर्थिक गतिविधि कसरी बढ्छ ?
हामीले संवाद गर्नु पर्छ। संवाद नगरी चुप बसेर हुँदैन । फजुल खर्च घटाउने विषयमा पनि राज्यले संवाद गर्नु पर्नेछ।
राज्यले काम गर्छ, सरकारले काम गरेको छ भनेर आशा जोगाउनु पर्ने चुनौती छ। जनताका अपेक्षा बढेका छन् ।
व्यवस्था परिवर्तनले जनतालाई कुनै लाभ भएको छैन । त्यसैले जनताको अवस्था परिवर्तन गर्न हामीले टिममा कयौं काम गर्नु पर्नेछ ।
म सबै साथीहरूलाई काम गर्ने वातावरण बनाउँछु। तपाईंहरू डराउनु पर्दैन ।
हामीले भुक्तानी दिन बाँकी रकम छिटो बजारमा पठाउनु पर्छ । मैले पटक-पटक भने बजारमा पैसा पठाएर आर्थिक गतिविधि बढ्ने हो ।
६० लाख व्यक्ति भएको बजारमा तल माथि हुने गर्छ । शेयर बजारको नीतिगत र संरचनात्मक सुधार आवश्यक छ । त्यसमा हामी काम गर्छौं ।
घरजग्गा कारोबार चलायमान बनाउनु पर्छ । ठुला सहकारीको समस्या समाधान गर्नु पर्नेछ। सहकारीका निक्षेप कर्ता डराउनु पर्दैन । राज्यले निक्षेपकर्ताको सुरक्षा लिन्छ।
बैंक तथा वित्तीय क्षेत्र राम्रो अवस्था छ। केही व्यक्तिले हल्ला चलाउन खोजेका छन् । तर, त्यो सत्य होइन । लघुवित्त क्षेत्रमा भने केही समस्या छ। त्यो समस्या समाधान गर्न हामी तयार छौं ।
केही समय अघि निजी क्षेत्रले लगानी गर्न पैसा भएन भनेको थियो। अहिले लगानी गर्न डराएको छ। तर, म आश्वस्त भएर लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्न चाहन्छु। मन्त्रालयले लगानी सम्मेलनको पनि तयारी गरिरहेको होला । हामी लगानी कसरी भित्र्याउन सकिन्छ र के कस्ता सहजिकरण गर्दा लगानी भित्रिन सक्छ भन्ने विषयमा काम गर्न तयार छौँ ।
चीनबाट र भारतमा मध्यम वर्गको जनसंख्या ह्वात्तै बढेको छ । संसारमा सबै भन्दा धेरै पर्यटक चिन र भारतकै छन् । त्यो हाम्रो लागि ठुलो अवसर हो।
यस्तै, आइटी क्षेत्रमा पनि काम गर्नु पर्छ। नेपालबाट विदेशमा प्रविधि निर्यात गरिरहेका युवाहरूमा आशा जोगाउने गरी सहजिकरण गर्नु पर्छ ।
मेरो मुख्य काम आशा जगाउने र क्रमशः समस्या समाधान गर्ने हो। सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई विश्वास गरी जिम्मेवारी दिनु भएको हो । म उहाँको भिजन र विश्वास अनुसार काम गर्न प्रतिबद्ध छु ।
अहिले कोही उद्यमी आत्तिनु पर्दैन । म वातावरण बनाउन आएको हो। सबैलाई काम गर्ने वातावरण बनाउने र अर्थतन्त्रमा देखिएको मन्दी कम गर्न प्रतिबद्ध छु ।
(नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि दिएको मन्तव्यको सम्पादित अंश)