फेसबुक, गुगल लगायतका कम्पनीले नेपालमा गरे सवा १ अर्बको कारोबार , तिरे १५ करोड ६९ लाख भ्याट



काठमाडौं । विदेशबाट प्रविधिमार्फत नेपालमा सेवा दिने १३ कम्पनीले ७ महिनामा १ अर्ब २० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार १३ वटा बहुराष्ट्रिय प्रविधिमा आधारित कम्पनीले ७ महिनामा १ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको विवरण पेस गर्दै १५ करोड ६९ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका हुन् ।

विदेशबाट नेपालमा सेवा दिँदा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र २ प्रतिशत डिजिटल सर्भिस ट्याक्स लाग्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।

सरकारले विदेशबाट नेपालमा सेवा प्रदान गरिरहेका कम्पनीलाई करको दायरामा ल्याउनु गरी कानुनी व्यवस्था गरेपछि गुगल, फेसबुक, माइक्रोसफ्ट लगायतका ठूला कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका हुन् ।

विभागकाअनुसार हाल सिंगापुरमा प्रधानकार्यालय भएको गुगल एसिया प्यासिफिक, लिंकडिन, टिकटक, नेटफ्लिक्स, माइक्रोसफ्ट जोहो कर्पोरेसन आयरल्याण्डमा प्रधानकार्यालय भएका एडोब सिस्टम सफ्टवेयर, गुगल आयरल्याण्ड लिमिटेड, मेटा प्ल्याटफर्म लिमिटेड तथा अमेरिकामा प्रधानकार्यालय रहेका अमेजन डटकम, अमेजन वेव सर्भिस र एनसिएस पियर्सन नेपालको ठूला करदाता कार्यालयमा दर्ता भएर नियमित रुपमा प्रत्येक महिना मूल्य अभिवृद्धि कर तिरिरहेका छन् ।

यस्तै, कम्पनीले प्रत्येक वर्ष असोज मसान्तमा कुल कारोबारको २ प्रतिशत डिजिटल सर्भिस ट्याक्स तिर्ने गरेको विभागले जानकारी दिएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख जनक शर्मा नेपालमा स्थानीय साझेदार वा आधिकारिक प्रतिनिधि नियुक्त नगरेका कम्पनी आफैं आएर ठूला करदाता कार्यालयमा दर्ता भएको बताउँछन् ।

‘स्थानीय साझेदार वा आधिकारिक प्रतिनिधिमार्फत् कारोबार गर्दा मुख्य कम्पनी दर्ता हुनु पर्दैन,’ शर्माले क्लिकमान्डुसँग भने, ‘उनीहरुको स्थानीय साझेदार कारोबारका आधारमा कर तिर्ने गरेका छन् ।’

ठूला करदाता कार्यालयमा दर्ता भएका कम्पनीले कुनै जटिलता आएको अवस्थामा कार्यालयमा इमेल गर्ने गरेको शर्माले जानकारी दिए ।

‘अहिले हामी बढीभन्दा बढी कम्पनी दर्ता गराउने र नियमित विवरण बुझाउन प्रोत्साहन गर्ने क्रममा छौं,’ शर्माले भने, ‘नेपालको कर प्रणालीमा करदाता आफैंले आफ्नो कारोबारको स्वघोषणा गर्न पाउने भएकाले सबै कम्पनीले यकिन विवरण बुझाएका होलान् । कुनै कम्पनीले केही गलत गरेको भए कानुनअनुसार कार्यालयलले काम गरिहाल्छ ।’

गत आर्थिक वर्षमा विदेशबाट प्रविधिमार्फत नेपालमा सेवा दिएका कम्पनीले ८० करोड ३८ लाख रुपैयाँको कारोबार गरेको विवरण पेस गर्दै असोजमा १ करोड ६० लाख रुपैयाँ डिजिटल सर्भिस ट्याक्स तिरेका थिए ।

कानुनअनुसार प्रत्येक महिनाको २५ गते अघिल्लो महिना भएको कुल कारोबारको १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ भने अघिल्लो वर्षभरी भएको कारोबारको २ प्रतिशत डिजिटल सर्भिस ट्याक्स असोज मसान्तमा तिर्नु पर्छ ।

चालु आर्थिक वर्षको ७ महिनामा पोहर वर्षभरी भएको कारोबारभन्दा ५० प्रतिशत बढी रकमको कारोबार भइसकेको छ ।
गत वर्ष ६ वटा कम्पनी मात्रै कर प्रणालीमा दर्ता भएकोमा हाल १३ कम्पनी दर्ता भएका छन् ।

विदेशबाट नेपालमा सेवा प्रदान गर्दे नेपालको कर प्रणालीमा दर्ता कम्पनीले चालु आर्थिक वर्षको साउनमा ७ करोड ५८ लाख रुपैयाँको कारोबार गर्दै ९८ लाख ५८ हजार, भदौमा १७ करोड ६९ लाख रुपैयाँको कारोबार गर्दै २ करोड ३० लाख रुपैयाँ मूल्य अभिवृद्धि कर तिरेका छन् । त्यस्तै असोजमा १९ करोड ५३ लाख रुपैयाँको कारोबार गर्दै २ करोड ५४ लाख रुपैयाँ, कार्त्तिकमा २४ करोड ७ लाख रुपैयाँको कारोबार गर्दै ३ करोड १३ लाख रुपैयाँ, मंसिरमा १४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार गर्दै १ करोड ८९ लाख रुपैयाँ, पुसमा १८ करोड ७ लाख रुपैयाँको कारोबार गर्दै २ करोड ३५ लाख रुपैयाँ र माघमा १९ करोड ७ लाख रुपैयाँको कारोबार गर्दै २ करोड ४८ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर तिरेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार विभिन्न परीक्षाको तयारी गराउने एनसीएस पियर्सनले साउनदेखि सबैभन्दा बढी मूल्यअभिवृद्धि कर तिरेको छ ।

यस्तै, साउनदेखि नियमित मुअकर बुझाउने थप कम्पनी गुगल, लिंकडिन, अमेजन, र फेसबुकको मातृ कम्पनी मेटा रहेको छन्। अन्य कम्पनीले आफूले गर्ने कारोबारका आधारमा वित्तीय विवरण बुझाउने गरेको विभागले जानकारी दिएको छ ।


शरद ओझा