पैदल यात्रामा बाधा पुर्‍याउने संरचना सार्न वा हटाउन महानगरले पत्राचार गर्ने



काठमाडौं । सडक पेटीमा पैदल यात्रीलाई बाधा पुर्‍याउने संरचना हटाउन वा सार्न काठमाडौं महानगरपालिकाले पत्राचार गर्ने भएको छ ।

शनिबारर महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराईसहित योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित सिनामंगल क्षेत्रमा सडक अनुगमनपछि उपप्रमुख डंगोलले पैदल यात्रामा बाधा पुर्‍याउने संरचना हटाउन पत्राचार गरिने बताएकी हुन् ।

‘सहरलाई हिँड्ने संस्कृतिले चलायमान बनाउँछ । सवारी साधन सबैले प्रयोग गर्न नसक्न सक्छन् तर, पैदल मार्गमा सबैले हिँड्नु पर्छ । यसका लागि पैदल मार्गलाई सहज र पहुँचयुक्त बनाउने पर्नेछ,’ उपप्रमुख डंगोलले भनिन्, ‘हामी लगानी गरिरहेका छौँ । सहरी सुविधा वितरणका लागि पूर्वाधार बनाउने अन्य निकायका संरचनाले पैदल मार्गमा बाधा सिर्जना गरेका छन् ।’ योजना अनुगमन तथा मूल्याङ्कन एकाइलाई निर्देशन दिँदै उनले भनिन्, ‘यस्ता वाधा हुने संरचना सार्न वा हटाउन सम्बन्धित कार्यालयलाई पत्राचार गर्नुहोला ।’

पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदल मार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु जस्ता कारणले यस्तो चुनौती पैदा भएको महानगरले जनाएको छ ।

सिनामंगल सडक खण्डमा पहिले षट्कोण ब्लक राखिएको थियो । ठाउँ ठाउँमा ब्लक फुटेको, भासिएको, उप्किएका कारण हिँड्न कठिन भएको अवस्था रहेकोमा यसलाई सुधार गर्दै मल्टिकलर ब्लक राखिँदै छ ।

अनुगमनका क्रममा तीनकुनेदेखि उत्तर गौशालासम्म चक्रपथ पश्चिमतर्फको २ किलोमिटर र सिनामंगल चोकदेखि पश्चिम भीमसेनगोला पुलसम्म ५ सय मिटर दुईतर्फ फुटपाथ निर्माण कार्य उपप्रमुख डंगोलसहितको टोलीले अनुगमन गरेको थियो ।

निर्माण थालनी हुँदै गरेको, निर्माण भइरहेको र सम्पन्न भएको सडक खण्डमा प्रयोग गरिएका निर्माण सामग्री, निर्माण विधि तथा तोकिएको मापदण्डको पालनालाई सूचक बनाएर अवस्था जाँच गरिएको थियो । यस क्रममा आयोगका उपाध्यक्ष डा. राजभण्डारीले भने, ‘पैदल मार्गबाट दृष्टिविहिन व्यक्ति सजिलै गन्तव्यमा पुगुन् भन्ने हो । निर्माणका क्रममा ब्रेल ब्लव राख्ने क्रममा केही त्रुटि देखिएको छ । यसलाई सुधार गर्नुपर्छ । काम गर्दा सक्नका लागि मात्र होइन, उपयोग पनि होस भन्ने सोच्नुपर्छ ।’

अनुगमन गरिएको खण्डका ४ ठाउँमा सडकको बिचमै विजुलीका पोल भेटिएको पनि महानगरले जनाएको छ । ढलको मंगाल भएका कारण १२ ठाउँमा ब्लक राख्न नमिल्ने अवस्था रहेको छ भने ब्लक राख्ने क्रममा २ ठाउँमा डट ब्लक हाल्नुपर्ने ठाउँमा लेन ब्लक हालेको अवस्था रहेको छ । त्यस्तै, ४ ठाउँमा उपयुक्त विधिबाट डट ब्लक नराखेको देखियो ।

१० ठाउँमा घरधनीले स्लोप संरचना बनाएर सडक किनारासम्मका लगेको भेटिएको महानगरले जनाएको छ । एक ठाउँमा खानेपानीको पाइप सडकमै देखिएको छ भने यस्ता संरचनाले पैदल यात्रुलाई ठेस लाग्ने, ठोकिने खतरा रहेको महानगरले जनाएको छ ।

फुटपाथको सतहभन्दा निकै तल घर संरचना रहेका ५ ठाउँमा पैदलयात्री खस्न सक्ने जोखिम देखिएको तथा रेलिङका रुपमा प्रयोग गरिएका फलामे डण्डी हल्लिएको अवस्थामा रहेको महानगरले जनाएको छ ।

महानगरकाअनुसार दुईतर्फी १ किलोमिटर सडक पेटीको ३५ ठाउँमा व्यक्तिगत घर संरचनाका कारण २ मिटर चौडाइ पुग्न सकेको छैन । अनुगमन गरिएको ठाउँमा हेर्दा करिब २० प्रतिशत ठाउँमा चौडाइ कम हुने देखिएको महानगरले जनाएको छ । महानगरले यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ ।


क्लिकमान्डु