वाइडबडी उडाउँदा निगमलाई मासिक ३३ करोड घाटा, नाफामा लैजान साझेदार भित्र्याएर आईपीओमै जानुपर्ने



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वाइडबडी जहाज उडाउँदा मासिक ३२ करोड ८० लाख (करिब ३३ करोड) रुपैयाँ घाटा व्यहोरेको छ । वाइडबडी उडाउँदा गत आर्थिक वर्ष २०७९/८० को पहिलो १० महिनामै ३ अर्ब २८ करोड ५ लाख रुपैयाँ गुमाएको वायुसेवा निगम सुधार समितिको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितको प्रतिवेदनमा उल्लेख छ ।

निगमले दुई वटा २७४ सिट क्षमताको वाइडबडी जहाज उडाउँदा आर्थिक वर्ष २०७९/८० को वैशाखसम्ममा ७ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो अम्दानीका लागि वाइडवडीको उडानमै १० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । यस्तो आम्दानी र खर्च गत आर्थिक वर्षको १० महिनाको मात्रै हो । थप दुई महिनाको तथ्यांक जोड्दा निगमको घाटा अझै मासिक बढ्ने देखिन्छ ।

निगमले वाइडबडी उडाउँदा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि ३ अर्ब ४० लाख घाटा व्यहोरेको छ । उक्त वर्ष पनि ६ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गर्न निगमले ९ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा भने निगमले एकै वर्ष ४ अर्ब १० करोड रुपैयाँ वाइडबडी उडाउँदा घाटा व्यहोरेको छ । कोरोना महामारीका कारण उक्त वर्ष निगमले जम्मा ५ अर्ब ७९ करोड रुपैयाँ कमाएको थियो । सो वर्ष भएको खर्च ९ अर्ब ८० करोड रुपैयाँ थियो ।

निगमले जहाज उडाएर नाफा कमाउन नसक्दा बार्षिक घाटा २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस्ता घाटा गत वर्ष १ अर्ब ७० करोड रुपैयाँ थियो ।

निगमले आन्तरिक उडानमा पनि बर्षेनि घाटा व्यहोदै आएको छ । निगमले गत आर्थिक वर्ष आन्तरिक उडानको जहाज उडाउँदा ५० करोड रुपैयाँ घाटा व्यहोरेको छ । यो पनि गत आर्थिक वर्ष २०७९/८० को १० महिनाको मात्रै तथ्यांक हो । निगमले अघिल्लो वर्ष २०७८/७९ मा आन्तरिक उडानका दुइ वटा जहाज उडाउँदा ५५ करोड ९४ लाख रुपैयाँ घाटा भएको तथ्यांकमा देखिएको छ ।

निगमले वाइडबडी र आन्तरिक उडानका जहाजमा वर्षेनी घाटा व्यहोर्दै आएको भएपनि न्यारोबडी र ग्राउण्ड ह्याण्डलिङबाट भने नाफा कमाइरहेको छ ।

निगमको ग्राउण्ड ह्याण्डलिङबाट बार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी कमाइरहेको छ । यसबाट निगमले खर्च कटाएर बार्षिक एक अर्ब रुपैयाँको हाराहारीमा नाफा गरिरहेको छ । यही ग्राउण्ड ह्याण्डलिङको नाफाले निगमले कर्मचारी पाल्न सहज बनाइरहेको छ।

१५६ सिट क्षमताको २ वटा न्यारोबडी उडाउँदा पनि निगमलाई ९५ करोड ७८ रुपैयाँ लाभ भएको छ । न्यारोबडीमा भने गत आर्थिक वर्षमा पनि ८७ करोड ३४ लाख रुपैयाँ नाफा भएको थियो । त्यसअघि कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा भने भने न्यारोवडीको उडान पनि घाटामा गएको थियो।

साझेदार भित्र्याएर आइपीओमा जान सुझाव

निगमको संरचनागत तथा व्यवस्थापकीय सुधारको लागि गठन भएको अध्ययन समितिको प्रतिवेदनले निगमलाई कम्पनी लिमिटेड बनाउन सुझाव दिएको छ । निगमलाई कम्पनीमा रूपान्तरण गरेर साझेदार भित्र्याउनुपर्ने सुझाव पूर्वगभर्नर दीपेन्द्रबहादु क्षेत्री संयोजकत्वको समितिले सुझाव दिएको छ ।

सुझाव अनुसार निगमलाई कम्पनीमा रूपान्तरण गरेर ५१ प्रतिशतमात्रै नेपाल सरकारको शेयर राख्ने र बाँकी रणनीनिक साझेदार, संगठित संस्था र कर्मचारीसमम्मलाई दिन सुझाव दिइएको छ । उक्त सुझावमा १५ प्रतिशत शेयरका लागि भने सार्वजनिक अव्हान गरेर जनतालाई दिनुपर्ने सुझाव दिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यसो त यसअघिको अध्ययन समितिले पनि निगमलाई कम्पनी बनाउन र आइपीओमा जान नै सुुझाव दिएका थिए । यसअघिको समितिले दिएको राम्रा र उपयुक्त सुझावलार्ई यस पटकको अध्ययन समितिले पनि दिएको उल्लेख छ ।


क्लिकमान्डु