अर्थमन्त्रीले बैंकका सीईओलाई सोधे- ‘कर्जाको माग किन बढ्न सकेन ?’



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कर्जाको माग बढ्न नसक्नुको कारण के हुनसक्छ भन्दै प्रश्न गरेका छन् ।

आइतबार साँझ सबै बैंकका सीईओहरुलाई अर्थ मन्त्रालयमा बोलाएर उनले प्रणालीमा तरलता भए पनि किन लगानी नबढेको भनेर प्रश्न गरेका हुन् ।

‘प्रणालीमा तरलता पनि छ, मानिसहरुसँग अलेलि पैसा पनि छ, रेमिट्यान्स पनि आइरहेको छ, टुरिजम पनि बढ्न थालेको छ तर आर्थिक गतिविधि बढेको छैन, लगानी बढेको छैन, किन होला ?’ उनले भने ।

घरजग्गामा विगतमा सट्टेबाज ज्यादा भएको र त्यो साइजमा आउनैपर्ने भएकाले अहिले आएको अर्थमन्त्री महतले बताए ।

निर्माण क्षेत्रमा समस्या नभएको उनको भनाइ छ । ‘जेठ र असारमा निर्माण क्षेत्रमा ६०–७० अर्ब निकासा भएको छ,’ उनले भने, ‘अब बढीमा ७–८ अर्ब होला, त्यो पनि समाधान भइहाल्छ ।’

यी सबै कुराका बाबजुद बैंकिङ क्षेत्रले पनि माग कसरी बढाउन सकिन्छ भनेर सोच्नुपर्ने उनले बताए ।

अर्थमन्त्री महतले ऋणीका चासोलाई पनि ख्याल गर्दै कर्जा उठाउनेमा केन्द्रित हुनुपर्ने बताए । ‘तिर्दिने भन्ने र अराजक गतिविधिमा उत्रिनका लागि सरकार शून्य सहनशील बन्नेछ तर वास्तविक रुपमा समस्यामा परेकालाई केही समय अझै हेर्नुहोला,’ उनले भने ।

राष्ट्र बैंकबाट नीतिगत दर घटाएर पनि सहयोग भएकाले साँच्चै समस्यामा परेका ऋणीलाई भने केही सहज बनाइदिनुपर्ने उनको भनाइ छ ।

‘हिजो कर्जा प्रवाह गर्दा तपाईंहरुले पनि ध्यान नपुर्‍याएकै हो,’ अर्थमन्त्रीले भने, ‘त्यसलाई पनि ख्याल गरेर निर्णय लिनुभए उपयुक्त हुन्छ ।’

बैंकरहरुले भने निक्षेपको ब्याजदर निर्धारणमा थप स्वतन्त्रता दिन माग गरेका थिए । बचत र मुद्दति खातामा ५ प्रतिशतको ब्याजदर अन्तर हुनैपर्ने वर्तमान व्यवस्था हटाउनुपर्ने उनीहरुको माग थियो ।

खराब कर्जा गणनाको विधि परिवर्तन गरी प्रि–कोभिडको जस्तै बनाउनु पर्ने र असल कर्जामा अहिलेको १.३ प्रतिशत प्रोभिजनलाई घटाएर १ प्रतिशत बनाउनुपर्ने उनीहरुले अर्थमन्त्रीसमक्ष बताए ।

यसअघि आजै अर्थमन्त्री महतले निजी क्षेत्रका तीनवटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल गरेका थिए ।

मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेका हुन् ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले ब्याजदर घटाउने गरी र चालु पुँजी कर्जामा लचिलो हुने गरी नीति लिन माग गरेका थिए । अर्थमन्त्री महतले अर्थतन्त्र चलालमान बनाउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले अर्थतन्त्र सुधार गर्न काम गरिरहेको छ भन्ने म्यासेज दिने गरी सक्रियता देखाउनुपर्ने बताए ।

त्यस्तै परिसंघका अध्यक्ष अग्रवालले सरकार र राष्ट्र बैंकले तत्कालै अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न नसके कयौं उद्योग व्यवसाय धराशयी हुने बताए । छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले निजी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासंघका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहभागी थिए ।


क्लिकमान्डु