बजेटमा अहिले पनि थोरै थोरै बाँड्ने प्रवृत्तिलाई रोक्न सकेका छैनौं: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभामा बोल्दै आफूहरु आउने वित्तिकै सबै कुरा राम्रो भएको नभनेको बताएका छन् ।

अर्थमन्त्री महतले बजेटमाथि उठेका विषयहरुलाई सम्बोधन गर्दै गर्दा यति छोटो समयमा सबै कुरा समाधान नहुने र आफूले आफू आउने वित्तिकै सबै कुरा राम्रो बनाएको भनेर पनि नभनेको बताएका हुन् ।

‘मैले यो भनेको छैन कि सम्पूर्ण चिज हामी आउने वित्तिकै सम्पूर्ण चिज राम्रो भयो,’ उनले भने, ‘ यति छोटो समयमा राम्रो हुने कुरा पनि छैन । र यी समस्या एक वा डेढ वर्षमा सिर्जित समस्या पनि होइनन । धेरै अगाडिदेखि थपिदैं थपिदैं गएर थुप्रो लागेका समस्याहरु हुन् । यी थुप्रो लागेका समस्याहरुलाई एक धक्काले समस्या समाधान गर्छु र अगाडि बढ्छु भनेर दाबी पनि मैले गरेको छैन ।’

उनले वर्षौदेखिको समस्या रहेका कारण बजेटमा पनि समस्या र अफ्ठ्याराहरु भएको भन्दै उल्लेख गरिउको उनले बताए । राजस्वको स्थितिदेखि आन्तरिक ऋण लिइरहनु परेको अवस्था, वैदेशिक सहायतामाथिको निर्भरतालगायत समस्याहरु यथावत रहेको उनले बताए ।

‘त्यसकारण यो बजेटमा हामीले समस्या छन्, अफ्ठ्यारा छन्, आर्थिक वृद्धि कम छ’, महतले भने, ‘राजस्वको स्थिति कम छ । आन्तरिक ऋण लिइरहनु परेको छ । वैदेशिक सहायतामा पनि निर्भरता कम गर्न सकेको छैन । यी सबै कुरालाई स्वीकार गरेर अगाडि बढेको हो । र बढ्ने क्रममा हामीले पाइला पाइलामा ती अफठ्याराहरुलाई हटाउँदै जाने हो । एकै पटक ती समस्याहरुको चाङ जुन छ त्यसलाई हटाउन सकिदैंन भनेर स्वीकार गरेका छौं । त्यो स्वीकार गरेर नै मैले बजेटमा बजेट सुधारको प्रस्ताव राखेको छु । बजेट कार्यान्वयनको बारेमा प्रस्ताव मैले प्रस्तुत गरेको छु । साधारण खर्चमा धेरै कटौती गर्न नसकेपनि कसरी यसलाई हामीले कटौती गर्न सक्छौं? त्यसको सुरुवात गर्न सक्छौं? ती कुराहरु मैले यसमा उल्लेख गरेको छु ।’

संसदमा बजेटको विषयमा विभिन्न किसिमका प्रश्नहरु उठेको उल्लेख गर्दै उनले बजेट प्रस्तुत गर्दाको दिनमा आफूले त्यसलाई सरसर्ती पढेको मात्रै बताए । महतले सोमबार प्रतिनिभिसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ गर्नुभन्दा अघि बजेटका विशेषताहरु बारे बताए ।

‘यो वास्तवमा अत्यन्त कठिन परिवेशमा मैले बजेट प्रस्तुत गरिरहेको छु भनेर मैले भनेकै हो’, उनले भने, ‘मैले यो अहिलेको अवस्थामा देखेको समस्या के के छन् ? राजस्वको स्थिति के छ ? वैदेशिक ऋण र सहायताको स्थिति के छ ? आन्तरिक ऋणको अवस्था के छ ? मौद्रिक नीतिले ल्याएका प्रभावहरु के छन् ? फिस्कल पोलिसिले ल्याएका प्रभाव के छन् ? गत सरकारहरले गरेका निर्णयहरुको प्रभाव के कस्तो परेको छ ? कोभिडको के कस्तो प्रभाव परेको छ ? त्यत्ति मात्रै नभएर युक्रेन युद्धले ल्याएको बाह्य समस्याको कारणबाट हाम्रो नेपाली अर्थतन्त्र कसरी प्रभाव भएको छ ? यी तमाम कारणहरुले गर्दा हाम्रो अर्थतन्त्रमा के कस्ता प्रभावहरु परे । त्यसले राजस्वमा के कस्तो दबाब सिर्जना गर्यो । त्यस्तै गरेर यो पुँजी प्रवाहमा, अर्थतन्त्रमा तरलता दिनेमा के कस्ता समस्याहरु आए? त्यसलाई मैले स्वीकार गरेर अघि बढेको छु ।’

सँगै जति स्रोत र साधन छन्, ती स्रोत र साधनको प्राथमिकताको आधारमा, प्रतिफलको आधारमा बजेट बिनियोजन गर्दै लाने, लक्ष्य निर्धारण गर्दै लैजाने र परिणाममुखी बनाउँदै लैजाने भनेर आफूले बताएको पनि महतले उल्लेख गरे । बजेट विभिन्न आयोजनामा छर्ने प्रवृत्ति आफूले पनि रोक्न नसकेको स्वीकार गर्दै उनले महत्वकांक्षा र मागहरु धेरै हुनु र स्रोत र साधन थोरै हुँदा यस्तो अवस्था भएको बताए ।

उनले भने, ‘यो बजेटमा अहिले पनि थोरै थोरै बाँढ्ने प्रवृत्तिलाई रोक्न सकेका छैनौं भनेर त्यसै बेला भनेको छु । रोक्ने हाम्रो तमाम कोसिसका बाबजुद हाम्रा आवश्यकताहरु धेरै छन्, महत्वआकांक्षाहरु धेरै छन्, मागहरु धेरै छन् । स्रोत र साधन थोरै छ । त्यो परिवेशमा हामीले महत्वपूर्ण आयोजनाहरुलाई खर्च कटौती नगरिकन, बिनियोजन कटौती नगरिकन बाँकी ठाउँहरुमा थोरै थोरै बजेट परेको छ । धेरै बजेट परेको छैन । र त्यो गर्दा छरिएको पनि छ । तर, ती छरिएको रकमको साइज हेर्नु भयो भने धेरै ठूलो छैन । जति पनि बिनियोजन छ, ती बिनियोजनहरु जहाँ आवश्यकता छ, त्यो आवश्यकतालाई केन्द्रित गरेर राखेका छौं भन्ने मैले भनेको छु ।’

महतले आफूले कार्यतालिका नै बनाएर पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सकिने कुरा पनि उल्लेख गरे । उनले पुँजीगत खर्च हुन नसकेको र परिणाम नै नआएका कारण यसलाई समाधान गर्नुपर्ने बताउँदै विस्तारै समाधानको बाटो पक्रदैं जानुपर्ने पनि बताए ।

‘मैले एउटा कार्यतालिका नै कसरी पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने छ’, उनले भने, ‘जुन विदेशी सहयोगी दाताहरुको चिन्ता छ, आफ्नै पनि चिन्ता छ । खर्च गर्न सकेको छैन । हामी बजेट राख्छौं, बजेट राखियो भनेर खुसी हुन्छौं । तर, बजेट त्यहाँ उपयोग हुँदैन । कार्यान्वयन हुँदैन । खर्च हुँदैन । अनि त्यसपछि परिणाम आउँदैन भन्ने कुरालाई पनि मैले स्पष्ट ढंगबाट यो यो पाइला चालेमा पुँजीगत खर्च प्रभावकारी रुपमा खर्च गर्न सक्छौं र त्यसले विदेशी सहयोग विस्तार हुन्छ र थप सहयोग आउँछ भनेर भनेको छु ।’


क्लिकमान्डु