राष्ट्र बैंकको नीतिको प्रभावः चालु पुँजी प्रकृतिको कर्जा लगानी घट्यो, टर्म लोन लिने बढे



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको प्रभाव देखिन थालेको छ ।

राष्ट्र बैंकले गत पुसमा मार्गदर्शन संशोधन गर्दै लचिलो बनाएपछि बैंक वित्तीय संस्थाले मार्गदर्शन कार्यान्वयनमा जोड दिएका थिए।

ब्याज तिर्न व्यवसायको आकारभन्दा बढी ऋण लिने विकृतिलाई रोक्न चालु पुँजीकर्जा सम्बन्धी नीति लिनु परेको राष्ट्र बैंकका अधिकारीले बताउँदै आएका छन् ।

मार्गदर्शनले बार्षिक कारोबारको २० प्रतिशतभन्दा बढी चालु पुँजी प्रकृतिको कर्जा लिन नमिल्ने व्यवस्था गरेपछि मासिन किस्ता तिर्ने गरी टर्म लोन लिनेको संख्या बढेको छ । गत कात्तिकदेखि वैशाख मसान्तसम्म टर्म लोन लिनेको संख्या १६.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १२ खर्ब ४७ अर्ब रुपैयाँ टर्म लोन लगानी गरेको थिए ।

कात्तिकदेखि चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा आएपछि टर्म लोन लगानी २ खर्ब ३ अर्ब रुपैयाँले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, राष्ट्र बैंकको नीतिले चालु पुँजी प्रकृतिको डिमाण्ड र अन्य चालु पुँजी कर्जा लगानी घटेको छ । ६ महिनाको अवधिमा मात्रै डिमाण्ड र अन्य चालु पुँजी कर्जा लगानी ५.२ प्रतिशतले घटेको छ ।

विगतका वर्षहरुमा मासिक किस्ता तिर्ने गरी कर्जा लिनुभन्दा पनि किस्ता तिर्नु नपर्ने र ब्याज बुझाउँदा हुने प्रकृतिका कर्जा लिन ऋणहरुले जोड दिने गरेका थिए ।

त्यसरी सहजै बैंक वित्तीय क्षेत्रबाट कर्जा लिँदै शेयर बजार र घर जग्गामा लगानी गर्ने क्रम बढेपछि राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयन गर्दै कर्जा दुरुपयोग रोक्ने प्रयास गरेको छ ।

असोस मसान्तसम्ममा बैंक वित्तीय संस्थाले डिमाण्ड र अन्य चालु पुँजी कर्जा शीर्षकमा १० खर्ब ४४ अर्ब रुपैयाँ लगानी गरेकोमा वैशाख मसान्तमा उक्त लगानी घटेर ९ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको बैशाख महिनाको तथ्यांकअनुसार मार्जिन प्रकृतिको कर्जा लिनेको संख्या पनि ६.९ प्रतिशतले घटेको छ ।

असार मसान्तमा मार्जिन प्रकृतिको कर्जा लगानी ८० अर्ब ५० करोड रुपैयाँ भएकोमा हाल घटेर ७४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले चालु पुँजी प्रकृतिको कर्जा कति लगानी छ भन्ने थाहा पाउन ओभरड्राफ्टमा शिर्षकमा लगानी हुने कर्जालाई ओभर ड्राफ्ट र क्यास क्रेडिड लोन गरी दुई शिर्षकमा विभाजन गरेको छ ।

व्यक्तिगत बाहेक व्यवसायीक प्रकृतिका सबै ओभरडाफ्ट कर्जालाई क्याज क्रेडिट कर्जामा वर्गिकरण गरिएको छ ।

ओभर डाफ्ट शिर्षकमा असार मसान्तमा ७ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा बैशाख मसान्तमा २ अर्ब ३९ अर्ब रुपैयाँ मात्रै लगानी भएको छ ।

ओभरडाफ्ट र क्यास क्रेडिट कर्जा जोड्दा बैशाख मसान्तसम्ममा ७ खर्ब ६८ अर्ब रुपैयाँ लगानी गरिएको छ । व्यवसायीक संस्थाले क्यास क्रेडिट कर्जा शिर्षकमा ५ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लिएका छन् ।

बैंक वित्तीय संस्थाका अधिकारीहरु आगामी असोज मसान्तसम्ममा टर्म लोन अझै बढ्ने र चालु पुँजी प्रकृतिको कर्जा लगानी घट्दै जाने बताउँछन् ।

‘व्यसायबाट पुष्टी नहुने र टर्म लोन पनि दिन नसकिने कर्जालाई राष्ट्र बैंकले तीन वर्षको अवधीमा चुक्ता गर्न समय दिएको छ,’ एक बैंकका अधिकारीले भने,‘अहिले त्यस्तो रकमलाई पनि क्यास क्रेडिट कर्जामा देखाईएको छ । जसले गर्दा चालु पुँजी प्रकृतिको कर्जा ह्वात्तै नघटेको हो ।’


क्लिकमान्डु